सदस्य राधाकृष्ण मैनालीमाथि कारबाही तयारी
पुस्तक प्रकाशनमार्फत केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले भ्रामक कुराहरू बाहिर ल्याएर पार्टी र नेताहरूको बदनाम गरेको भन्दै एमाले पोलिटब्युरो बैठकले उनीमाथि छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ ।
चार दिनअघि सार्वजनिक मैनालीको ‘नलेखिएको इतिहास’ पुस्तकमा अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूसँग जोडिने गरी हुँदै नभएका प्रसंगहरू राखेर पार्टी र नेताहरूको बदनाम गरेको भन्दै बैठकमा उनीमाथि कारबाही गर्नुपर्ने माग उठेको थियो ।
बैठकमा ओलीको बिफ्रिङ सकिएर एजेन्डामा प्रवेश नगर्दै नेता माधव नेपालले किताबको प्रसंग झिकेर छानबिनको माग राखेका थिए । लगत्तै अध्यक्ष ओलीले आफूलगायतका नेताहरूको बदनाम हुनेगरी उनले कुण्ठा पोखेको भन्दै कारबाही अघि बढ्ने बताएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘आरके पहिल्यैदेखि राजनीतिक नेता भएर पनि गैरराजनीतिक चरित्रका व्यक्ति हुन् । किताब लेखनमा पनि हुँदै नभएका प्रसंगहरू ल्याएर उनले आफ्नो द्वेष र कुण्ठा प्रकट गरेका हुन,’ ओलीको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य बेदुराम भुसालले भने, ‘पार्टीको बदनाम गर्न झुटा कुरा गर्दै उनले सबैमाथि हमला गरेका छन्, त्यसैले उनीमाथि छानबिन गरेर कारबाही अघि बढ्छ ।’
तर, उपाध्यक्ष वामदेव गौतमले विधानअनुसार स्पष्टीकरण सोधेर प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाब राखेका थिए । मैनालीद्वारा लिखित पुस्तकमा सबै गलत र झुटा कुराहरूको पार्टीले आधिकारिक रूपमै खण्डन गर्ने निष्कर्ष निकालिएको भुसालले बताए ।
राईको छुट्टै माग
पोलिटब्युरो सदस्य शेरधन राईले पूर्वपयर्टन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले महिला प्रयोग गरेर आपराधिक उद्देश्यसहित आफ्नो राजनीतिक भविष्य समाप्त पार्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।
‘मैले पार्टीको अनुशासन आयोगमा छानबिन गरेर दोषीमाथि कारबाहीको माग राखेर उजुरी दिएको पनि थुप्रै भइसक्यो, तर अझै किनारा नलगाउँदा मेरो राजनीतिक भविष्य समाप्त पार्ने उद्देश्यले मविरुद्ध अनेकन् झुटा प्रचारबाजी भइरहेको छ,’ राईले बैठकको ध्यानाकर्षण गराउँदै भने, ‘कृपाशुर र उनीमार्फत प्रयोग भएकी महिलामाथि छानबिन गरेर पार्टीले छिटो कारबाही गरोस् भन्ने ध्यानाकर्षण गराउँछु ।’













प्रतिक्रिया