काठमाडौं, ५ फागुन । राष्ट्रियताको ठूला कुरा गरेर कहिल्यै नथाक्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतमा ठूलो अपमान सहनु परेको खुलासा भएको छ ।
नेपाल–भारत सम्बन्ध सुधार गर्ने बहानामा नयाँदिल्ली पुगेका श्रेष्ठले विभिन्न दलका दोस्रो र तेस्रो तहका केही सीमित नेताहरूलाई भेटेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा श्रेष्ठले भारतीय नेताहरूलाई जानकारी गराएका थिए । त्यसक्रममा भारतीय नेताहरूले मधेसी मोर्चाको मागलाई जसरी हुन्छ सम्बोधन गर्न दबाब दिएका थिए । नेपालको आन्तरिक विषयलाई भारतीय नेताहरू समक्ष राखेकोमा पनि उनको आलोचना भइरहेको छ ।
अझ रोचक त के छ भने भारतीय कांग्रेस आईका नेता मणिशंकर ऐयरलाई भेट्न पुगेका माओवादी नेता श्रेष्ठलाई खासै महत्व नदिएको स्रोतको भनाइ छ । नेता श्रेष्ठले आफ्नो फेसबुक वालमा पोष्ट गरेको तस्बिरमा असजिलो गरेर बसेका छन् ।
श्रेष्ठको अपमान हुने गरेर मणिशंकर ऐयर उपरखुट्टी लगाएर बसेका छन् । यो तस्बिरले नेपालीहरूको अपमान भएको ठानिएको छ । श्रेष्ठले त्यो तस्बिरलाई सानका साथ आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् ।
यसअघि पनि बिहारमा लालुप्रसाद यादवलाई भेट्न पुगेका मधेसी मोर्चाका नेताहरूलाई यस्तै खालको अपमान भएको थियो । अपमानको सबैले आलोचना गरेका थिए । त्यसपछि मधेसी मोर्चाले आफूमा सुधार ल्याउने प्रयास गरेको थियो ।
त्यो कुराको जानकार रहेका माओवादी नेता श्रेष्ठले भारतीय कांग्रेस आईका नेता मणिशंकर ऐयरको अपमान खेप्नु परेकोमा सबै चकित परेका छन् ।
श्रेष्ठले भारतीय नेताहरूसँग भेट गरेर दुई देशबीचको असमझदारी हटाउने प्रयास गरेको दाबी गरेका छन् । उनले राष्ट्रियताको पक्षमा वकालत गरेको दाबी पनि गरेका छन् ।












प्रतिक्रिया