कपिलवस्तु, ४ फागुन । नेपाल गुडविभ फाउन्डेशनले कपिलबस्तुको वुद्धवाटीका नगरपालिका १२, गोरुसिंगेका स्थानीय महिलालाई रोजगारी सिर्जना गर्न ३ महिने निःशुल्क गलैचा बुनाई तालिम सञ्चालन सुरु गरेको छ ।
गुडविभकी अध्यक्ष तथा गलैचा उद्योगी आङ्लमी शेर्पाले बुधबार तालिमको उद्घाटन गरेकी हुन् । आयोजक संस्थाका अनुसार वुद्धवाटीकाका महिलाको क्षमता अभिवृद्धि तथा स्वरोजगार मार्फत आत्मनिर्भर बनाउँन गलैचा बुनाइ तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागीपछि सुरुमा गलैचा उद्योगमा रोजगारी दिने र पछि आफै स्वरोेजगार बन्ने अवसर प्राप्त हुने छ । तालिममा १८ देखी ४० वर्ष उमेर समूहका ५० जना महिला सहभागी छन् । तालिममा सहभागी प्रशिक्षार्थीलाई बुद्धवाटिका नगरपालिका क्षेत्रमै सञ्चालित वशन्तपुर गलैंचा उद्योगले रोजगारी प्रदान गर्नेछ ।
गलैचा बुनाइ तालिममा भाग लिएका प्रशिक्षार्थीले कम्तीमा १ वर्षसम्म उक्त गलैचा उद्योगमा काम गर्नुपर्ने छ । तालिम अवधिभर प्रशिक्षार्थीका ४ वर्ष सम्मका २२ जना वालवच्चाको रेखदेखका लागि दिवा शिशु स्याहार केन्द्रको पनि व्यवस्था गरिएको छ । आयोजक संस्थाकी अध्यक्ष शेर्पाले स्थानीय महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सके आफै उद्यमी बन्ने अवसर सिर्जना हुने लक्ष सहित गलैचा बुनाइ तालिम सञ्चालन गरिएको जानकारी दिइन् ।
उनले गलैचा उद्योगलाई वालमजदुर रहित बनाउन पनि आफूहरु सक्रिय रहेको बताइन् । गलैचा उद्योगमा दक्ष जनशक्तिको अभाव रहेकोले यस्ता किसमका तालिमबाट त्यस्तो अभाव हटाउन सकिने उनले बताइन् । देशभर करिव १ हजार गलैचा उद्योग सञ्चालनमा छन् । नेपालबाट युरोप, अमेरिका लगायत विकिसित मुलुक गलैचा निर्यातका लागि प्रमुख गन्तव्य मानिन्छ ।












प्रतिक्रिया