सुर्खेत, ४ फागुन । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने १८ गाविसका तीन सय ४ महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर वितरण गरिएको छ ।
मंगलबार बावियाचौरमा आयोजित कार्यक्रममा कांग्रेस नेता पूर्णबहादुर खड्काले क्षेत्र नं. ३ का महिला स्वास्थ्य स्वंसेविकालाई स्ट्रेचर वितरण गरेका हुन् । स्ट्रेचर वितरण गर्दै पूर्व गृहमन्त्री खड्काले स्वास्थ्य संरचनाको सबैभन्दा तल्लो निकायमा स्ट्रेचर पुगेपछि सुत्केरी महिला, सिकिस्त विरामी, र घाइते विरामीलाई समयमै स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताए । ‘अब गाम्रीण भेगमा छटपटाएर कुनै पनि विरामीहरु बस्नुपर्ने छैन्’, खड्काले भने, ‘स्ट्रेचरमार्फत त्यस्ता विरामीहरुलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सहज हुनेछ ।’
कांग्रेस सांसद तप्तबहादुर विष्टले यातायताका साधन नपुगेका ठाउँमा स्ट्रेचर महत्वपूर्ण हुने बताए । स्ट्रेचर हेर्दा सानो वस्तु भएपनि यसले मानिसको जीवन बचाउन ठूलो भूमिका खेलेको उनले बताए । आर्थिक रुपमा सस्तो र जनताको महत्वपूर्ण ठानिने पूर्वाधार गाउँगाउँसम्म पुर्याउन राज्यले नै पहल गर्नुपर्ने उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले स्ट्रेचर वितरण अभियानलाई राज्यले आफ्नो कार्यक्रममा राख्नुपर्ने उल्लेख गरे । सुर्खेतमा जस्तै हरेक जिल्लाका महिला स्वास्थ्य स्वयंसेविकाकाका हातहातमा स्ट्रेचर पु¥याउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा सांसद लालबहादुर घले, नेपाली कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावत, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष राजेश बुढालगायतको सहभागिता थियो ।
आउँदो शनिबार क्षेत्र नं. २ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्ट्रेचर वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।













प्रतिक्रिया