१ कार्तिक २०८३, शनिबार

अब गाउँ-गाउँमा सिंहदरबार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaun-gaun-ma-singhadurbar

काठमाडौं, ३ असोज । सुशासन तथा असल नेतृत्व सम्बन्धि धारावाहिक रेडियो नाटक गाउँ गाउँमा सिँहदरबार शुक्रबारदेखि शुभारम्भ भएको छ ।

काठमाडौंमा शुक्रबार आयोजीत एक कार्यक्रममा सुचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले नाटकको शुभारम्भ गर्नुभएको हो । अमेरिकी सहयोग नियोग ‌(युएसएआइडी) को आर्थिक सहयोग तथा सर्च फर कमन ग्राउण्ड र एण्टेना फाउण्डेशन नेपालको सहकार्यमा तयार पारिएको धारावाहिक रेडियो नाटक शनिबारदेखि देशभरिका ५० जिल्लाका ५० एफएम रेडियोबाट प्रसारण हुँदैछ ।

काठमाडैंको सिंहदरबारलाई गाउँ गाउँमा कसरी पुर्याउन सकिन्छ ? सरकारका सेवाहरुमा विकट गाउँका नागरिकहरुको पहुँच कसरी सुनिश्चित गर्न सकिन्छ ? नेतृत्व तहमा पुगेका व्यक्तिहरुले समाजलाई सही दिशा दिन कसरी एक अर्का बीच र नागरिक समुदायसँग सहकार्य गर्न सक्छन् ? लगायतका प्रश्नहरुको सेरोफेरोमा नाटक तयार पारिएको छ ।

अभिमन्यु निरबीद्वारा निर्देशित यस नाटकका प्रमुख लेखक तोया घिमिरे तथा निर्माता भवशागर घिमिरे हुन् । यस धारावाहिक नाटकले श्रोताहरुमा स्थानीय सरकारका काम कारवाहीका बारेमा जानकारी बढाउने र सरकार तथा नागरिक बीच सहकार्यका लागि प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पहिलो चरणमा साप्ताहिक रुपमा ५२ भाग सम्म बज्ने यो नाटक श्रृंखलाले असल नेतृत्वका उदाहरणहरु प्रस्तुत गर्ने, तथा नेता र सरकार प्रति नागरिकहरुमा आशा जगाउने अपेक्षा गरिएको छ ।

रेडियो नाटकको शुभारम्म गर्दै सुचना तथा सन्चार मन्त्री डा. मिनेन्द्र रिजालले गाउँ गाउँमा सिंहदरबारले सरकारले कसरी काम गर्छ भनेर जानकारी दिने मात्र होईन, सरकारलाई प्रभावित कसरी गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि भर्न सकोस् भन्ने अपेक्षा राख्नुभयो । मिडियामार्फत सँधै हुँदैन, सबै खराब मात्र हुन्, सबै भ्रष्टाचारी मात्र छन्, नेताहरु सबै खराब हुन् जस्ता सन्देशहरु मात्र जानु नहुने भन्दै मन्त्री रिजालले त्यस्ता किसिमका सन्देशले देश निर्माणमा सहयोग नपुग्ने धारणा राख्नु भयो । हरेक नागरिकमा मैले गर्न सक्छु भन्ने आत्मविश्वास जगाउनु आजको आवस्यकता भएको उहाँले बताउनु भयो ।

यस्तै पुर्व सचिव समेत रहेका प्रसाशनिक सुधार कार्यान्वयन तथा अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाले जनताको चाहना अनुसार प्रशाशनिक सेवाहरू सहज बनाउन सरकार पनि सयम अनुसारनै डिजिटल प्रविधिमा जान लागेको बताउनुभयो । ‘सरकारले हेटौंडामा डिजीटल नागरिक बडापत्र स्थापना गरेको छ,’ उहाँले भन्नुभयो ‘पढ्न नजान्नेहरूका लागि सरकारले अडियो नागरिक बडापत्र सेवा पनि परिक्षणको रूपमा गोरखा र पाँचथरमा सुरु गरिसकेको छ ।’ जनताबाट सुझाव आवोस भनेर सरकारले ठाउँठाउँमा उजुरी पेटिका व्यवस्था गरेपनि उजुरी हाल्ने बानी नै जनतामा नबसेका कारण त्यो प्रभावकारी हुन नसकेको उहाँले दाबी गर्नुभयो । ‘गाउँगाउँमा सिंहदरबार’ नाटकले नेपालमा रहेका विकासका धेरै सम्भावनाहरूलाई केलाउँनेछ भन्ने अपेक्षा गर्दै उहाँले आर्थिक उन्नती कसरी सुरु गर्ने बारेमा जनताहरूलाई सूसुचित र उत्साहित बनाउन नाटकले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी नेपालका लागि अमेरिकी राजदुत पिटर डब्ल्यु बोडेले प्रजातन्त्रमा कसैलाई पनि बेवास्ता गर्न नहुने भन्दै प्रजातन्त्रमा सबैको आवाज समान हुने बताउनुभयो । आफू नेपालमा राजदुत भएर आएको दुई बर्ष भएको उल्लेख गर्दै उहाँले यस अवधिमा आफूले नेपालमा स्वच्छ, स्वतन्त्र, विश्वसनिय र समावेशि संविधान सभाको निर्वाचन देखेको उल्लेख गर्नु भयो । उक्त निर्वाचनमा २० लाख नयाँ मतदाताले मतदान गरेको भन्दै राजदुत बोडेले यो रेडियो कार्यक्रमले ति नयाँ मतदातालाई उनीहरुको आवाज सुनिन्छ र उनिहरुको भुमिका रहन्छ भन्ने विश्वास दिलाउने बताउनु भयो ।

सर्च फर कमन ग्राउण्डका राष्ट्रिय निर्देशक राजेन्द्र मुल्मीले गाउँ गाउँमा सिंहदरबारले विभिन्न तह र तप्काका नेतृत्वमा सहकार्यको सस्कृति बढाउन सहयोग पुर्याउने विचार ब्यक्त गर्नुभयो । राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी, नागरिक समूदाय, युवा समूह लगायतले मिलेर काम गरे नेतृत्व र सुशासनका चुनौतीहरुलाई सम्बोधन गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो । यसका लागि एउटा अभियान स्वरुप ‘सिंहदरबार’ परियोजना शुरु गरिएको उहाँले बताउनु भयो । यसै अभियान अन्तर्गत गाउँ गाउँमा सिंहदरबार रेडियो नाटक तयार पारिएको उहाँले उल्लेख गर्नुभयो । साथै यसै अभियानमा १३ भागको टेलिभिजन श्रृंखला ‘सिंहदरबार’ पनि उत्पादन भईरहेको उहाँले जानकारी दिनुभयो ।

एण्टेना फाउण्डेसन नेपालका कार्यकारी निर्देशक सतीश जंग शाहीले एण्टेना फाउण्डेसन नेपाल र सर्च फर कमन ग्राउण्डले धेरै अनुसन्धान, परामर्ष र कठीन कार्यपछि यो रेडियो नाटक तयार पारेको बताउनु भयो । नेपालको अहिलेको सन्दर्भमा असल नेता बन्न निकै कठिन भएको प्रसंग उल्लेख गर्दै शाहीले हामीले ति अफ्ठेरोहरुविच पनि प्रजातान्त्रि मूल्य मान्यता र सुशासन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने नेताहरुको प्रशंसा गर्नुपर्ने र त्यसका लागि नेतृत्व वर्गलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा मण्डला नाटक समूहले सुशासन र अशल नेतृत्वका बारेमा नाटक प्रदर्शन गरेको थियो । एउटी महिलाले आफ्नो नामबाट सन्तानको नागरिकता बनाउन भोगेको अफ्ठेरोलाई चित्रित गरिएको उक्त नाटकमा स्थानिय स्तरमा देखिने सुशासनका चुनौतीहरुलाई प्रस्तुत गरिएको थियो ।