१९ कार्तिक २०८३, बिहिबार

डिग्री कक्षा संचालनार्थ महायज्ञ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, १ फागुन । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ शनिबारबाट श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ ।

महायज्ञको पूर्वसन्ध्यामा शनिबार १हजार २सय ४५ कलशसहित वृहत -याली तथा झाँकी निकाली विधिवत रुपमा ज्ञानमहायज्ञको समुद्घाटन भएको छ । महायज्ञस्थल क्याम्पस प्राङ्गणबाट निकालिएको कलश यात्रा बेलौती, कलौनी, बनकट्टा, उमरी गुफामन्दिर परिक्रमा गर्दै उमरीचोक, रेन्जरपोष्ट, शिवपुर गाउँ हुँदै पुनः महायज्ञ स्थलमा आई समापन भएको थियो ।

कलश यात्रामा पञ्चेबाजाको तालमा भजनकीर्तनसहित भजन मण्डली, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी, स्थानीय संघसंस्था, क्लब, महिला समूह, आमा समूह, बचत सहकारी, मानवअधिकारबादी, संचारकर्मी, सुरक्षा निकाय सहित करीब ५ हजारको सहभागिता रहेको आयोजकले जनाएको छ । धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने झाँकी समेत निकालिएको थियो ।

स्नातकतहसम्म संचालित क्याम्पसलाई डिग्री तहसम्म चलाउनका लागि महायज्ञ संचालन गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं महायज्ञ मूल आयोजक समिति संयोजक नेत्रराज अधिकारीले जानकारी दिनुभयो । क्याम्पसमा मास्टर्स डिग्री सञ्चालन गरी विद्यार्थीलाई अन्य जिल्लामा अध्ययन गर्न जाने वातावरण रोक्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको मूल आयोजक समिति संयोजक अधिकारीको दाबी छ ।

वि.सं.२०६४ सालमा स्थापना गरिएको क्याम्पस शैक्षिक आस्थाको धरोहरका रुपमा रहेको छ । जिल्लाको पश्चिमी क्षेत्रको सबैभन्दा पुरानो र जिल्लाको तेस्रो स्थानमा पर्ने यस क्याम्पसले जिल्लाका निर्वाचन क्षेत्र नं. ४ र ५ का साथै अर्घाखाँची, प्यूठान र रोल्पासम्मका विद्यार्थीलाई उच्च शिक्षा दिइरहेको छ । विद्यार्थीको माग र पश्चिमी क्षेत्रमा मास्टर्स डिग्रीको आवश्यकता महशुस गरी महायज्ञ सञ्चालन गरिएको क्याम्पस प्रमुख नवराज पाण्डेले बताउनुभयो ।

शिक्षाशास्त्र र व्यवस्थापन संकायमा वि.एड. र वि.वि.एस.अध्ययन अध्यापन गराउँदै आएको नेपाल आदर्श बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिमा मिडियाबाट प्रचारप्रसार गरी सहयोग पु-याउन महायज्ञका प्रचार प्रसार संयोजक लंकवहादुर हमालले आग्रह गर्नुभएको छ ।

श्रीमद्भागवतमा बालव्यास नारायणप्रसाद न्यौपानेबाट कथा बाचन भइरहेको छ । हरेक दिन फरक फरक प्रस्तुतिबाट हुने कार्यक्रममा उपस्थित हुन आयोजक समितिका सहसंयोजक भवनराज पौडेलले आग्रह गर्नुभयो ।

महायज्ञमा हजारौं दशनार्थी सहभागी गराई सोंचे अनुसारको आर्थिक सहयोग जुट्नेमा आयोजक समितिले अपेक्षा गरेको समितिका सदस्य हुमकान्त खनालले बताउनुभयो ।

महायज्ञको उद्घाटन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णप्रसाद ढकालले गरेका थिए । महायज्ञ फागुन ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।