काठमाडौं, २९ माघ । राप्ती समाजले राजधानीमा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको बालाजुस्थित बाईसधारा पार्कमा झण्डै पाँच सयको उपस्थितिमा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
वनभोज कार्यक्रममा सभामुख ओनसरी घर्ती, सिचाइँमन्त्री दीपक गिरी, सांसदद्वय राजु खनाल र रुक्मिणी चौधरी, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, नेपाल प्रहरीका एसएसपी ठाकुर ज्ञवाली, वैदेशिक रोजगार व्यवसायी कमल किशोर घिमिरे, गायिका कोमल ओली, संगीतकार सन्तोष श्रेष्ठ, नेपाल प्रहरीका एसपी श्याम ज्ञवाली, स्थानीय विकास मन्त्रालयका सहसचिव रमेश क्षितिज, गायक चन्द्र शर्मासहित राप्तीबाट राजधानीमा आइ विभिन्न व्यवसाय र पेशामा संलग्नहरूको सहभागिता रहेको थियो ।
वनभोज कार्यक्रममा शुभकामना दिँदै सभामुख ओनसरी घर्तीले अहिलेको संविधानले महिलाको अधिकारमा विशेष ध्यान दिएको बताइन् । उनले छिटै हुने भनिएको स्थानीय निर्वाचनले संविधानको रक्षाका साथै संविधान कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् ।
सिचाइँमन्त्री दीपक गिरीले राप्तीको विकासमा सबै मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘वनभोज जस्ता अनौपचारिक कार्यक्रमहरूले राप्तीको विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्छ ।’
सांसद राजु खनालले राप्ती समाज र राप्तीको विकासका लागि आफ्नोतर्फबाट हुन सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘हामीसबै राप्तीबासी एकजुट हुने हो भने धेरै काम गर्न सकिन्छ ।’
सांसद रुक्मिणी चौधरीले राप्ती समाजले आफूलाई पनि सम्झेर बोलाएकोमा खुसी व्यक्तगर्दै राप्तीका जनताहरूबीचको सम्बन्धलाई वनभोज कार्यक्रमले झन् सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘राप्ती समाजले गरेको काम सह्रानीय छ । यस्ता कार्यक्रम बेलाबेलामा गर्नुपर्छ ।’
वनभोज कार्यक्रममा विभिन्न सांस्कृतिक र रचनात्मक कार्यक्रमहरू भएको समाजका अध्यक्ष शशि शर्माले जानकारी दिए । ‘वनभोज कार्यक्रममा हामीले सोँचेभन्दा धेरै जनसहभागिता भयो’, उनले भने, ‘यस्ता खालका कार्यक्रमले राप्तीबासीबीचको सम्बन्धलाई अझैं प्रगाढ बनाउन मद्दत गर्छ ।’
यसैबीच, राप्ती समाजले शनिबार नै नयाँ कार्यसमिति चयन गरेको छ । शशि शर्माको नेतृत्वमा कार्यसमिति चयन भएको निर्वाचन समितिका अध्यक्ष गोपाल बस्नेतले जानकारी दिए । शर्मा यसअघिको कार्यकालमा पनि अध्यक्ष थिए । नयाँ कार्यसमितिमा अधिकांश पुरानै कार्यसमितिका पदाधिकारी र सदस्यहरू दोहोरिएका छन् ।













प्रतिक्रिया