पोखरा, २९ माघ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशमै आफ्नो भविष्य सुनिश्चित देखे धेरै युवा आफ्नै देशमा फर्केर उद्यमशील बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उद्योग मन्त्रालय, नेपाली युवा उद्यमशीलता मञ्च, स्टार्ट अफ इकोसिस्टम डेभलपमेन्ट कमिटी र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त तत्वावधानमा आज यहाँ आयोजित नेपालमा स्टार्ट अफ इकोसिस्टम विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब १० वर्षभित्र नेपाली युवा मजदुरी गर्नकै लागि विदेशमा जान नपर्ने वातावरण बनाउन सबै राजनीतिक दलको प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।
राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब नेपाली जनताको जीवन समृद्ध कसरी बनाउने भन्ने सोचाइमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सबैले राष्ट्रको उत्थान र नेपाली जनताको जीवन सुखमय बनाउनेतिर अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले युवा वर्गमा देशमा केही गरौँ भन्ने भावना जागृत हुन सक्यो र उद्योग धन्दामा स्रोत र साधन प्रयोग हुन थाल्यो भने नेपाल पनि अन्य देशभन्दा कदापि पछि नपर्ने विश्वास दिलाउनुभयो ।
उद्योग मन्त्री जोशीले औद्योगिक प्रवद्र्धन ऐनअन्तर्गत लघुउद्यम दर्ता प्रक्रिया सुरु गरिसकिएको र एक महिनाभित्र एक लाखभन्दा बढी लघु उद्यमीको दर्ता गरिने जानकारी गराउनुभयो ।
उद्योग राज्यमन्त्री कञ्चन वादेश्रेष्ठले स्थानीय श्रम र सीप परिचालन गरी उद्योगधन्दा सञ्चालन गरेर युवालाई बिदेशिनबाट रोक्नेतिर सबैको सोचाइ हुनुपर्ने धारणा राख्नुभयो ।
पुराना ऐन कानुन परिवर्तन गरेर युवालाई उद्यमशील बनाउने र उद्योग तथा कलकारखाना खोल्नुपर्छ भन्ने प्रेरणा जगाउनेतर्फ उद्योग मन्त्रालय अग्रसर रहेकोमा उहाँको जोड थियो ।
कार्यक्रममा उद्यमीहरु आसुतोष तिवारी, ओमराज भण्डारी, विश्वशङ्कर पालिखे, प्रकाशदेव पालिखे, अशोक पालिखेलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस
















प्रतिक्रिया