१३ कार्तिक २०८३, शुक्रबार

असहमतिका बीच सरकारले निर्वाचनको मिति आजै तोक्ने !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन् ।

मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘स्थानीय चुनावको अनुमानित मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र दिने तयारी भएको छ,’ कार्कीले भने । स्रोतका अनुसार वैशाख मसान्तदेखि जेठ २० सम्ममा चरणबद्ध गरिसक्ने गरी मिति तोक्न तथा त्यसका लागि आवश्यक सबै तयारी गर्न आयोगलाई पत्र दिन लागिएको हो ।

चैतभित्र स्थानीय निकायको चुनाव सकाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भन्दै साउन १९ मा प्रधानमन्त्री बनेका दाहालले ६ महिनापछि बल्ल आएर चुनाव मिति तोक्न लागेका हुन् ।

संविधान संशोधन विधेयक र चुनाव मिति घोषणा गर्न नसकेपछि चौतर्फी आक्रोश खेप्दै आएका प्रधानमन्त्रीले दलहरूको बैठक र सार्वजनिक रूपमै ‘माघ १५ भित्रमा चुनाव मिति तोक्ने’ प्रतिबद्धता जनाए पनि असफल भएका थिए ।

यसबीचमा उनी प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग आफू र दोस्रो तहका नेतामार्फत छलफलमा रहे पनि मिति तोक्न नसकेको भन्दै आलोचित भइरहेका थिए ।

तीन दिनअघि बालुवाटारमा बसेको सरकार–मोर्चा बैठकमा उनले मोर्चाका नेताहरूसामु संशोधन विधेयक र त्यसको पूरक प्रस्ताव अघि बढाउन समस्या देखिएको भन्दै अब चुनावको ढोका खोल्नैपर्ने अडान लिएका थिए ।

स्रोतका अनुसार प्रतिपक्षी एमाले पूरक प्रस्तावका लागि तयार भए पनि संशोधन विधेयकमा सहमत नभएका कारण अब दाहाल चुनावमा जाने निर्णयबाट पछि हट्ने छैनन् ।