चन्द्रौटा(कपिलवस्तु), १८ माघ । कुनैबेला पिउने पानीका लागि गाउँघरमा निर्माण गरिएका इनार (कुवा) अहिले असुरक्षित बनेका छन् । पानीको विकल्पको रुपमा मानिने इनार लोप हुनुका साथै भएका इनार पनि उचित संरक्षणको अभावमा असुरक्षित बन्दै गएका हुन् ।
अहिले गाउँघरका बासिन्दा इनारलाई छोडेर चापाकल, ट्यूबवेल, खानेपानी धारोतर्फ आकर्षित बनेका छन् । जसले गर्दा भूमिगत पानीको प्रमुख विकल्पको रुपमा रहेको इनार विस्थापन हुन लागेका हुन् । गाउँघरमा कहीँकतै इनार छन् । तर सरसफाई छैन, असुरक्षित छन् । भएका इनारको उचित संरक्षण नहुँदा गाउँघरमा बेलाबेलामा विभिन्न घटना नभएका पनि होइन । कपिलवस्तुमा इनार असुरक्षित भएकै कारण कैयौंको अकालमै ज्यान गएको छ ।
यसैबीच जिल्लाको शिवराज नगरपालिका १२, कोटवा गाउँमा रहेको इनारमा खसेर एक बालकको ज्यान गएको छ । आँगनमा खेल्ने क्रममा सोमबार साँझ ६ बजे ५ वर्षीय बालकको ज्यान गएको हो । ज्यान जानेमा खुरुहुरिया गाविस १ बस्ने बजरङ्गी चौधरीका छोरा अर्देश चौधरी रहेका छन् । आफ्नी आमासँग मावल (मामाघर) आएका बालक खेल्ने क्रममा इनारमा खसेका थिए । बालक नभेटिएपछि चारैतर्फ खोजतलास गर्दा करीब आधा घण्टापछि इनारमा डुबेको अवस्थामा फेला परेको स्थानीयको भनाई छ ।
बालकलाई संयुक्त बेसक्याम्प विसुनपुर र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट गएको प्रहरी टोलीले इनारबाट बाहिर निकालेको थियो । बालकलाई इनारबाट बाहिर निकाल्दा ज्यान गइसकेको थियो, –वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । मृत बालकको शवलाई पोष्टमार्टमका लागि राति करीब ९ बजे शिवराज अस्पताल बहादुरगञ्ज पुर्याएको बताइएको छ । बालकको शवलाई पोष्टमार्टमपछि मंगलबार परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया