
काठमाडौं, १६ माघ । थरुहट–थारुवान संयुक्त संर्घष समितिले तराईका जिल्लाहरूमा आन्दोलन चर्काउन भित्रभित्रै योजना बनाएको छ ।
सरकारसँग भएका सहमति कार्यान्वयन नभएको तथा थारु आन्दोलनकारीमाथि विभेद गरेको आरोप लगाउँदै आएको संयुक्त संर्घष समितिले आन्दोलनका कार्यक्रम तयारपार्न भेला आह्वान गरेको हो । भेला बानेश्वरको ओम पार्टी प्यालेसमा हुनेछ ।
सोही भेलाबाट सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम तयार गरिने थारु नेता एवम् थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।
‘थारु आन्दोलनलाई अब सशक्त रुपमा अगाडि बढाउँछौँ’, लेखीले भने, ‘सरकारले थारुका मागलाई हदैसम्म बेवास्ता गरेको छ ।’ थारु आन्दोलनको मर्म र भावना विपरितका गैरराजनीतिक क्रियाकलाप गर्नेहरूलाई भेलामा कुनै स्थान नरहेको उनले बताए । ‘कारबाहीमा परेर निष्काशित केही थारु नेताहरूले प्रवेश पाउने छैनन्’, उनले भने ।
सरकारले विगतका सहमति कार्यान्वयनम कुनै चासो नदिएको थारु नेता लेखीको भनाइ छ । ‘अब वारपारको आन्दोलन आवश्यक छ’, उनले भने, ‘भेलामा मुलुकभरिबाट थारु अगुवा नेताहरूको सहभागिता हुन्छ । उहाँहरूको सुझावमा आन्दोलन अगाडि बढ्छ । सोहीअनुसार संघर्षका कार्यक्रम बन्ने छन् ।’
थरुहट थारुवान संयुक्त संघर्ष समितिको भेलामा भानुराम चौधरी अध्यक्ष र गोपाल दाहित सांसद रहेको थरुहट तराई पार्टी नेपालले प्रवेश पाउने छैन ।
थारु आन्दोलनकारीको भावना र आचार संहिताविपरित मधेसी मोर्चाको पिछलग्गु भएको भन्दै थरुहट–थारुवान संयुक्त संर्घष समितिले थरुहट तराई पार्टी नेपाललाई कारबाही गरेर निष्काशन गरेको थियो ।












प्रतिक्रिया