१९ कार्तिक २०८३, बिहिबार

इलाका प्रशासनको सेवा ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १५ माघ । इलाका प्रशासन कार्यालय सोताङमा कार्यालय प्रमुख नहुँदा सेवा ठप्प भएको छ । विसं २०७३ वैशाख २३ गते जिल्लाको विकट क्षेत्रका गाविसलाई लक्ष्य गरी स्थापना गरिएको यस कार्यालयमा प्रमुख नहुँदा करिब महिना दिनदेखि सेवा ठप्प छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नेपाली नागरिकता, नाबालक परिचयपत्रलगायतको सेवा इलाका प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था भए पनि गाविस सचिव समेत गाविसको कार्यालयमा नबस्दा सेवा ठप्प भएको हो ।

एक अधिकृत, दुई नासु, एक लेखापाल, एक कार्यालय सहयोगीको दरबन्दी रहेको उक्त इलाका प्रशासन कार्यालयमा एक नासु र एक कार्यालय सहयोगी रहेका छन् । कोसीपारिका आठ गाविस बुङ, छेस्काम, सोताङ, पावै, वाकु, गुदेल, लोखीम र जुबु गाविसलाई लक्ष्य गरी स्थापना गरिएको भए पनि यतिबेला ती गाविसका स्थानीय बासिन्दा सम्पूर्ण सेवा लिन जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको छ ।

कार्यालय खुल्ला भए पनि त्यो कार्यालय नाममा सीमित रहँदा यस क्षेत्रका नागरिकले दुई दिनको यात्रापछि इलाका प्रशासनले प्रदान गर्ने सेवा लिन सदरमुकाम जानुपर्ने बाध्यता हुँदा स्थानीयवासीलाई निक्कै समस्या भएको सोताङ सोलुखुम्बुका जीवन कोइलाराले बताउनुभयो ।

कार्यालयले सेवा प्रारम्भ गर्दा निक्कै हर्षित बन्नुभएका सोताङकै ओमबहादुर कटुवाल पनि यतिबेला निरास हुनुहुन्छ । उहाँलाई छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सल्लेरी जानुप¥यो । कटुवाल भन्नुहुन्छ – “सम्बधित निकायले प्रभावकारी र सहज सेवामा ध्यान नदिँदा हामी जस्ता सोझा सिधा जनताले दुःख पाइरहेको छौँ ।”

यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार दुई जना सहायक प्रमुख जिल्ला अधिकारी बिदामा बस्नुपर्दा इलाका प्रशासन कार्यालयका कायममुकायम अधिकृत खेमबहादुर भट्टराईलाई जिल्ला प्रशासन ल्याइएको हो । प्रजिअ पाण्डेले भन्नुभयो – “केही दिनमै कर्मचारीको व्यवस्थापन गरी सेवा सुरु गरिने छ ।” रासस