१९ कार्तिक २०८३, बिहिबार

राप्तीको विकासमा मन्त्री, सांसद र व्यवसायीहरूले एकसाथ जनाए ‘ठूलो’ प्रतिवद्धता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– विमल योगी

काठमाडौं, ८ माघ । राप्ती अञ्चलबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद, सरकारका मन्त्री, उच्च प्रशासक, व्यापारी र बुद्धिजीवीहरूले राप्तीका पाँच जिल्लाको विकासका लागि एकजुट भइ पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंको अनामनगरमा रापती समाजको संयोजनमा शुक्रबार साँझ भएको भेलामा सहभागीहरूले राप्ती अञ्चलको विकासका लागि अबका दिनमा एक भएर अगाडि बढ्ने सहमति जनाएका हुन् । उनीहरूले व्यक्तिगत र राजनीतिक स्वार्थभन्दामाथि उठेर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनीहरूले रापती समाजले निकट भविष्यमा गर्न लागेको राष्ट्रियस्तरको पुरस्कार वितरण कार्यक्रममा सहयोग गर्ने आश्वासन दिए । पुरस्कार वितरणको कार्यक्रमलाई आ–आफ्नोतर्फबाट सहयोग गर्नेभन्दै प्रस्ताव समेत माग गरेको रापती समाजका अध्यक्ष शशि शर्माले बताए ।

कार्यक्रममा सहभागी सिचाइँमन्त्री दीपक गिरीले राप्तीको पाँच जिल्लामा विशेष कार्यक्रम आश्यक रहेको बताए । ‘मुलुकमा अब आर्थिक क्रान्ति आवश्यक छ’, उनले भने, ‘संविधान कार्यान्वयनको दायित्व पनि हामी सबैको काँधमा आइपुगेको छ । विकासको जिम्मेवारी पनि हाम्रै हो । जनता अब विकास चाहन्छन् ।’ उनले रापती समाजले गर्ने कुनै पनि रचनात्मक कार्यक्रममा आफ्नो पूर्ण समर्थन रहने भन्दै प्रस्तावहरू ल्याउन आग्रह गरे ।

माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री रेखा शर्माले आफू सरकारमा रहेका बेला राप्तीको विकासमा सानो भए पनि केही प्रयासहरूको गरेको बताइन् । ‘मन्त्री भएका बेला मेरो आफ्नो पहलबाट हुन सक्ने कामहरू गरेकी छु’, उनले भनिन्, ‘ती कामहरूलाई पनि निरन्तरता दिने हो भने राप्तीको विकासमा धेरै गर्न सकिन्छ । राजधानीमा रहेका सबैले आ–आफ्नो पहलमा जिल्लाहरूको विकासमा ध्यान दिनुपर्छ ।’

कांग्रेसका सांसद राजु खनालले सशस्त्रद्वन्द्वका विकासका हिसावले पछाडि परेको राप्तीलाई सबै मिलेर माथि उठाउनु पर्ने बताए । ‘निर्वाचनका कुराहरू पनि भइरहेका छन्’, उनले भने, ‘विशेष गरेर राप्तीको विकास, त्यहाँको प्राकृतिक स्रोत साधनको उपयुक्त रुपमा प्रयोग अहिलेको दायित्व हो । दलीय राजनीतिभन्दा माथि उठेर विकासमा लाग्छु पर्छ ।’

थरुहत तराई पार्टी (लोकतान्त्रिक) कि सांसद एवम् व्यवस्थापिका संसदको विधायन समितिकी सभापति गंगा चौधरीले दलीय स्वार्थभन्दा माथि उठ्न सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गरिन् । उनले भनिन्, ‘राप्तीको विकासका लागि राजनीतिक रंग कसैले नदिने हो भने विकास धेरै टाढा छैन ।’ उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा.गोविन्द पोखरेल उपाध्यक्ष भएका बेला राप्तीले ‘पी वान’ कार्यक्रमहरू थुप्रै पाएको बताइन् ।

कपिलवस्तु जिल्लाकी सांसद सीमा विश्वकर्माले आफू राप्तीवासी नभए पनि राप्तीका जिल्लाहरूसँग आफ्नो भावनात्मक सम्बन्ध जोडिएको बताइन् । ‘राप्तीका जिल्ला र नवलपरासीको आफ्नै सम्बन्ध छ’, उनले भनिन्, ‘मुलुकको विकासका लागि भेदभावको अन्त्य हुनुपर्छ ।’ उनले पनि राप्तीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले राप्ती अञ्चलमा मेडिकल कलेज स्थापना अनिर्वाय रहेको बताए । ‘राप्तीले अब एउटा मेडिकल कलेज पाउनु पर्छ’, उनले भने, ‘हामी आफैले ध्यान दिन नसक्दा राप्तीले पाएको मेडिकल कलेज रुपन्देहीमा आइपुगेको छ । यस्तै खालका विकास योजनाहरू राप्तीबाट खोसिने हुन् कि ? हामी अलिक सचेत हुन जरुरी छ ।’ अहिले आफू सरकारी जिम्मेवारी रहेकाले राप्तीलाई मात्रै ध्यान दिन नसक्ने भन्दै डा.पोखरेलले भने, ‘मैले आफ्नो कार्यक्षेत्र हेर्नुपर्छ । तर, राप्तीलाई चटक्कै भुल्दैन ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले सुरुवाती समयमा भन्दा अहिले राजनीतिक दलका नेताहरूले राप्तीको विकासमा धेरै ध्यान दिएको आफूले पाएको बताए । ‘पहिलाभन्दा राप्तीको विकासमा नेताहरू, उच्च कर्मचारी प्रशासकहरूले ध्यान दिनु भएको छ’, उनले भने, ‘यतिले मात्रै पुग्दैन अरु केही गर्नुपर्छ । तपाईहामीले नै उहाँहरूलाई मार्गदर्शन पनि गर्नुपर्छ ।’

अधिवक्ता डा.भीमार्जुन आचार्यले सामाजिक काम होस् वा राप्तीको विकासमा अहिले त्यस जिल्लाका सर्वसाधारणहरूमा धेरै चेतना बढेर आएको बताए । उनले भने, ‘हामी केन्द्रमा बसेर सानो कुरामा अलिक जोड दिने हो भने विकासलाई अगाडि बढाउन धेरै समय लाग्छैन ।’
वैदेशिक रोजगार व्यवसायी किरण किशोर घिमिरेले राजधानीमा रहेका राप्तीका अगुवाहरूले आफ्नो क्षेत्रबाट गर्ने सानो पहलले धेरै विकास गर्न सकिने बताए ।

अर्का वैदेशिक रोजगार व्यवसायी प्रज्ञान न्यौपानेले राजनीतिक दलका नेताहरूलाई मात्रै विकास भएन भनेर गाली गर्ने प्ररम्पराको अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘अब नेतालाई गाली गर्ने होइन । उनीहरूलाई काम गर्न सहयोगका साथै दबाब दिनुपर्छ ।’

नेपाल प्रहरीका एसपी श्यामकुमार ज्ञवालीले आफ्नोतर्फबाट हुने सबै सहयोग राप्तीलाई गर्न तयार रहेको बताए । उनले भने, ‘म राज्यको जिम्मेवार र सम्वेदनशील निकायमा छु । तर, राप्तीको विकासमा मेरोतर्फबाट हुने सहयोग गर्न तयार छु ।’

वरिष्ठ गायिका कोमल ओलीले गायिका राप्तीले धेरै नेताहरू उत्पादन गरेको स्मरण गर्दै विकासमा पनि सबैले अलिक धेरै ध्यान दिनुपर्ने बताइन् । उनले पहाडी जिल्लाहरूको विकासमा ध्यान दिनुपर्ने बताइन् ।

रापती समाजका संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष सन्तोष श्रेष्ठले समाजले अहिलेसम्म गरेको कामको सह्राना गर्दै भावि दिनमा अझै चुनौती थपिने बताए । ‘रापती समाजले अहिलेसम्म गरेको कामको उच्च मूल्यांकन गरिनुपर्छ’, उनले भने, ‘रापती समाजबाट धेरैले अपेक्षा गरेका हुन सक्छन् । बरु त्यसलाई कसरी सम्बोधन गर्ने ध्यान दिनुपर्छ ।’

व्यस्तताका कारण कार्यक्रममा आउन नसकेपछि उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेका उपाध्यक्ष एवम् सांसद युवराज ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रमुख एवम् डिआइजी प्रकाश अर्याल, फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरी, सांसद रुक्मिणी चौधरीलगायतले रापती समाजले आयोजना गरेको राप्तीको विकास र भावी कार्यक्रमहरूसम्बन्धी छलफलमा आउन नपाएकोमा चिन्ता जनाएका थिए । यद्यपि उनीहरूले भेलाबाट हुने कुनै पनि निर्णयलाई आफूहरूले समर्थन गर्ने प्रतिवद्धता जनाएको रापती समाजका अध्यक्ष शशि शर्माले जानकारी दिए ।