काठमाडौं । चलचित्र ‘बेबी’को छायाँकनका लागि काठमाडौं आइपुगेका चर्चित बलिउड स्टार अक्षय कुमारले नेपालीसँग माफी मागेका छन् ।
आफूले अभिनय गरेको फिल्म ‘चाँदनी चोक टू चाइना’मा बुद्ध भारतमा जन्मिएको गलत सन्देश गएकोप्रति उनले आफ्नो फेसबुक पेजमार्फत माफी मागेका हुन् । अक्षय कुमारले बुद्ध नेपालमै जन्मिएको पनि स्वीकारेका छन् । ‘मेरो चलचित्र चाँदनी चोक टू चाइनाले नेपाललाई पुर्याएको चोटप्रति म क्षमा माग्न चाहन्छु । वास्तवमा नेपाली नेताले यो कुरा नबिर्सेकोप्रति म खुसी छु । अन्त्यमा म गौतम बुद्ध नेपालमा जन्मेका हुन्, भारतमा होइन भन्न चाहन्छु ।’– अक्षय कुमारले आफ्नो फेसबुकमा लेखेका छन् ।
अक्षयले अर्कोपटक नेपाल आउँदा लुम्बिनी जाने पनि बताएका छन् । उनले आफ्ना फ्यानहरुलाई एकपटक हात उठाएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्न पनि आग्रह गरेका छन् ।
अक्षयले आफू नेपालमा फर्किएर आउन २० बर्ष लागेकोमा दुःख समेत व्यक्त गरेका छन् । ‘हरेक कलाकारले यति धेरै फ्यानहरुको माया चाहन्छन् । मलाई थाहा छैन, यस्तो गजबको देशमा फर्कन मलाई किन विष बर्ष लाग्यो ? सबैको सहयोगका लागि धन्यवाद ।,’ उनले लेखेका छन्, ‘धन्यवाद नेपाल र नेपाली । म अर्कोपटक फेरि नेपाल आउन चाहन्छु ।’
अक्षयले अभिनय गरेको ‘चाँदनी चोक टू चाइना’ मा बुद्ध भारतमा जन्मिएको गलत प्रचार गरिएपछि नेपालमा प्रदर्शनमा रोक लगाइएको थियो ।
अक्षय कुमारले नेपालमा छायाँकन गर्न लागेको पछिल्लो चलचित्र ‘बेबी’ पनि विवादमा फसेको थियो । त्रिभुवन बिमानस्थलका बारेमा गलत प्रचार गर्न लागेको तथ्य सार्वजनिक भएपछि उनले रातारात आफ्नो स्क्रिप्ट परिवर्तन गरी छायाँकन गरेका थिए । अक्षय बुधबार नै टर्की पुगे पनि उनको सुटिङ युनिटले पैसा नदिएको भन्दै उनको टिमलाई नेपालस्थित सहयोगी समूहले बिहीबार प्रहरीसम्म पुर्याइएको थियो ।
















प्रतिक्रिया