– किशोर पन्थी /न्युयोर्क
अन्तर्राष्ट्रिय जासुसी संस्थाहरुका लागि नजिकका एकअर्का देशविरुद्ध जासुसी गर्न र नेपालमा केन्द्र बनाएर त्यस क्षेत्रमा जासुसीको जालो फैलाउनका लागि नेपाल उपयुक्त भूमी बन्दै आएको तथ्य त सबैका सामु स्पष्ट नै छ । त्यो बाहेक नेपाल विश्वका कुख्यात अपराधीहरुको क्रिडास्थल र आश्रय स्थल बन्ने गरेको छ । इन्टरपोलमा मष्ट वाण्टेड अपराधीहरु पनि नेपालमा खुलेआम घुम्ने गर्छन् । यसको पुष्टी बेलाबेलाका घटनाले गर्दै आएको छ ।
सन् २००३ को सेप्टेम्बर १७ मा इन्टरपोलको मष्ट वाण्टेड सुचीमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराज काठमाडौंको सडकमा घुम्दै थिए । एकजना पत्रकारले देखेर प्रहरीलाई सुचना दिएपछि शोभराज याक एण्ड यति होटेलको क्यासिनोमा पक्राउ परेका थिए । विभिन्न व्यक्तिका झण्डै दर्जन पासपोर्ट प्रयोग गरेका शोभराज अर्कै नाममा नेपालमा छिरेर बस्ने योजनामा थिए । उनले सोंचेका थिए कि नेपालमा उनलाई कसैले पनि चिन्ने छैनन् । कुख्यात डनहरु छोटा राजन र दाउद इब्राहिमका मान्छेहरु पनि नेपालमा खुलेआम घुम्दै र आपराधिक कृयाकलाप गर्दै आएका छन् । ति मध्ये केही बेलाबेलामा पक्राउ पर्दै आएपनि अधिकांश भने पहिचान लुकाएर निस्फिक्री बस्दै आएका छन् ।
अर्कै व्यक्तिको पासपोर्टमा नेपालमा बसेर उच्च स्तरको जीवन विताइरहेका अमेरिकाको मष्ट वाण्टेड सुचीमा रहेका अपराधी केही दिन अगाडि पुन काठमाडौंबाट पक्राउ परेका छन् । नेपालमा झण्डै ‘सेलिब्रेटी’ जीवन विताइरहेका अमेरिकी एफबीआईको मष्ट वाण्टेड सुचीमा रहेका निल स्ट्यामर काठमाडौंको भोटेबहालबाट पक्राउ परेका हुन् । १४ वर्ष अगाडिसम्म स्ट्यामर अन्तर्राष्ट्रिय रुपमा नै चर्चित जादुगर थिए । उनले अमेरिकाको न्यु मेक्सिकोमा मेजिक सप समेत खोलेर बसेका थिए । अमेरिकामा अपराध गरेर १४ वर्ष अगाडि फरार भएका ति अपराधी सन् २००६ देखि अर्थात् ८ वर्षदेखि नेपालमा निष्फिक्री बस्दै र रमाइलो गर्दै आएका थिए । केभिन हुजको नाममा पासपोर्ट बनाएर नेपालमा बस्दै आएका उनले भविश्यमा अमेरिकाको युनिभर्सिटीमा आउने योजनाका साथ अंग्रेजी र अन्य भाषा पढाउदै आएका थिए ।
अमेरिकी नयाँ प्रविधिका लागि सफलताको कथा
नेपालका अध्यागमन विभागका अधिकारीहरुले स्ट्यामरको श्रीमतिसँग कुरा नमिलेपछि उनैले नक्कली पासपोर्टबारे अमेरिकालाई जानकारी दिएको अनुमान गरेका थिए । तर कुरा सही होइन । कुनै व्यक्तिले गरेको सुराकीको आधारमा उनी पक्राउ परेका होइनन् । बरु अमेरिकाको नयाँ प्रविधिको प्रयोगका क्रममा उनीबारे पत्ता लागेको हो । अमेरिकाले अहिले फोटोबाट अपराधी चिन्ने आधुनिक प्रविधिको परिक्षण गरिरहेको छ । यही परिक्षणका क्रममा अमेरिकी प्रविधिलाई सफलता मिलेको हो । अमेरिकी पासपोर्टमा प्रयोग भएका तस्विरहरुलाई अपराधीहरुको सुचीमा रहेका व्यक्तिको तस्विरसँग भिडाउने क्रममा स्ट्यामर नेपालमा लुकेको पत्ता लागेको हो ।
१४ वर्ष अगाडि यौन दुराचारको आरोपमा अमेरिकाका पक्राउ परेका स्ट्यामरलाई तारिखमा रिहा गरिएपनि अर्कैको नाममा पासपोर्ट बनाएर उनी अमेरिकाबाट फरार भए । त्यसपछि एफबीआईले उनलाई मष्ट वाण्टेडको सुचीमा राखेर खोजी गरिरहेको थियो । तर अहिलेसम्म अमेरिकासँग उनलाई पत्ता लगाउने प्रविधि बनेको थिएन । अहिले अमेरिकाले अनुहार पहिचान गर्ने प्रविधिको परिक्षण गरिरहेको छ । युएस डिप्लोमेटिक सेक्युरिटी सर्भिस डीएसएस नामको अमेरिकी एजेन्सीले अमेरिकी पासपोर्ट र दूतावासहरु नियन्त्रणको जिम्मा लिएको छ । यसले अमेरिकी दुतावासहरुको संरक्षण र अमेरिका भिसा, पासपोर्ट र ट्राभल डकुमेन्टमा हुनसक्ने फ्रड पत्ता लगाउने जिम्मा लिएको छ । अहिले फ्रड पत्ता लगाउनका निर्माण गरिएको अनुहार पहिचान गर्ने सफ्टवेयरमा अहिले तस्विरहरु स्क्यानको काम भइरहेको छ ।
यसै क्रममा डीएसएसका अधिकारीहरुले एफबीआईले मष्ट वाण्टेडको सुचीमा राखेका अपराधीहरुको फोटो सफ्टवेयरमा स्क्यान गर्दै थिए । यसै क्रममा मष्ट वाण्टेडको सुचीमा रहेका स्ट्यामरको फोटो केभिन हुजको नाममा निकालिएको पासपोर्टको फोटोसँग मिल्यो । किनभने स्ट्यामरले केभिनको नाममा पासपोर्ट निकालेपनि फोटो भने आफ्नै राखेका थिए । अरुकै फोटो राखेर यात्रा गर्न सम्भव पनि थिएन । मष्ट वाण्टेड सुचीमा रहेका स्ट्यामरको फोटो केभिन नामका व्यक्तिको पासपोर्टको फोटोसँग मिलेपछि अनुसन्धान प्रकृया अगाडि बढाइएको थियो । अनुसन्धानका क्रममा स्ट्यामरले नै केभिनको नाममा पासपोर्ट बनाएर नेपालमा बसिरहेको पत्ता लागेको थियो । एफबीआईका विशेष एजेन्ट रस विल्सन भन्छन् – ‘स्ट्यामर नेपालमा निकै आनन्दसँग बसिरहेका थिए । शायद उनी आफू स्ट्यामर रहेको कुरा कहिले पनि पत्तो नलाग्नेमा ढुक्क थिए । ’ स्ट्यामर नेपालमा रहेको पत्ता लागेपछि एफबीआईले उनलाई पत्ता लगाउन र पक्राउ गर्नका लागि नेपालको सरकारसँग काम गरेको थियो ।
यसरी अमेरिकामा प्रयोग भइरहेको फोटोबाट मान्छेको पहिचान गर्ने प्रणाली औंठाछापबाट आँखाको स्क्यानबाट मान्छेको पहिचान गर्ने प्रविधि भन्दा सहज र उन्नत रहेको छ । किनभने फोटोबाट मान्छेको पहिचान गर्दा व्यक्ति जहाँसुकै भएपनि सीसी क्यामेरा वा अन्यत्र कैद भएको फोटोको आधारमा समेत व्यक्तिको पहिचान हुन सम्भव छ । यसो गर्दा कुनै पनि अपराधीलाई आफ्नो बारेमा पत्ता लागिसकेको छ भन्ने कुराको जानकारी पनि हुँदैन । कुनै पनि अपराधीलाई यो प्रविधिबाट बच्न सहज नहुने अनुमान गरिएको छ । ल्याम्प पोष्ट, मान्छेविनाका गाडि वा कसैको चस्मामा फिट गरिएका क्यामेरामा खिचिएका अपराधीका तस्विरलाई स्क्यान गर्दा उनीहरुको बारेमा पत्तो लाग्ने बताइएको छ ।
अहिले स्ट्यामरको पक्राउले अमेरिकाले प्रयोग गर्न खोजेको नयाँ प्रविधिका लागि सफलताको कथा बनाएको छ । फेसबुकमा फोटो पोष्ट गर्दा फेसबुकले अटामेटिक रुपमा फोटोमा रहेका व्यक्तिको पहिचान गरेर ट्याग माग्ने गरेजस्तै यो प्रविधिले पनि कुनै पनि व्यक्तिको फोटो स्क्यान गर्नासाथ रेकर्डमा रहेको फोटोसँग म्याच गराउँछ । जस्ले गर्दा व्यक्तिको पहिचान गर्न सहज हुन्छ । फोटो पहिचानको प्रविधि अहिले फेसबुकले समेत परिक्षण गरिरहेको छ । तर यसको प्रयोजन भने फरक रहेको छ । फेसबुकले फोटो पहिचान गर्ने डिपफेस सिस्टम एउटा रिसर्च प्रोजेक्ट मात्र भएको बताइएको छ । फेसबुकको यो प्रविधिले ९७ दशमलव २५ प्रतिशत व्यक्तिको पहिचान गर्दै आएको छ ।
स्ट्यामरको पक्राउबारे एफबीआई
स्ट्यामरको पक्राउलाई अमेरिकाका विशेष एजेन्ट रस विल्सनको कला मिहिनेत र संयोगका रुपमा समेत हेरिएको छ । जतिबेला बच्चाको अपहरण र बलात्कारपछि स्ट्यामर फरार भएका थिए, त्यतीबेला उनी ३२ वर्षका थिए । १९९९ मा पक्राउ पर्नु अगाडि उनी युरोपमा जाधु देखाउदै हिड्थे । विदेश यात्राको अनुभव र दर्जन भन्दा धेरै भाषामा दख्खल भएका कारण उनी संसारको जुनसुकै ठाउमा पनि सहजै लुकेर बस्न सक्थे । त्यसैले उनी भेटिने कुरा प्राय असम्भव जस्तै बनेको थियो । यत्तिकैमा विशेष एजेन्ट रस विल्सनलाई गत जनवरीमा फरार अभियुक्तहरु पत्ता लगाउने विभागमा नियुक्त गरियो । त्यसपछि विल्सनले अहिलेका मात्र होइन, निकै पहिले फरार भएका अभियुक्तहरुबारे पनि अनुसन्धान थाले । उनले स्ट्यामरको नयाँ वान्टेड पोष्टर पनि एफबीआईको वेवसाइटमा प्रकाशन गरे ।
ठीक त्यही समयमा युएस डिपार्टमेन्ट अफ स्टेटको शाखाका रुपमा रहेको डिप्लोमेटिक सेक्युरिटी सर्भिस डीएसएसका विशेष एजेन्टले पासपोर्ट फ्रड पत्ता लगाउन अनुहारको पहिचान गर्ने सफ्टवेयरको परिक्षण गरिरहेका थिए । यसैक्रममा उनलाई एफबीआईले जारी गरेका वान्टेड पोष्टरमा सफ्टवेयर परिक्षण गर्ने सोंच आयो । जब उनले स्ट्यामरको पोष्टर स्क्यान गरे तब स्ट्यामरको अनुहार अर्कै व्यक्तिका नाममा पासपोर्ट बोकेका व्यक्तिसँग मिल्यो । त्यसपछि उनले एफबीआईलाई खबर गरे । त्यसपछि स्ट्यामर नेपाल प्रहरीको सहयोगमा पक्राउ परे । यद्यपी नेपाल र अमेरिकाबीच कुनै औपचारिक सुपुदर्गी सन्धी भने भएको छैन । तर पनि नेपाल सरकारले स्ट्यामरलाई कानुनी कठघरामा उभ्यानका लागि सहयोग गरेको एफबीआईले जनाएको छ । एफबीआई एजेन्ट विल्सन भन्छन् –‘हामीलाई डीएसएस, स्टेट डिपार्टमेन्ट र नेपाल सरकारबाट स्ट्यामरलाई पक्रनका लागि ठूलो सहयोग मिल्यो । यो सकारात्मक परिणामसहितको ठूलो सामुहिक प्रयास हो । ’
डोमेस्टिक अपरेशनका डेपुटी एसिस्टेन्ट सेक्रेटरी बेरी मोर भन्छन् –‘हामीले अहिले स्ट्यामर जस्ता अपराधीहरुको पहिचानका लागि ६५ वटा भन्दा धेरै देशमा १ सय जनाभन्दा धेरै पासपोर्ट र भिसा फ्रडबारे अनुसन्धान गर्ने तालिमप्राप्त अनुुन्धानकर्ताहरुका साथमा काम गरिरहेका छौं । कुटनीतिक सुरक्षा विभागले अपराधीहरुलाई कठघरामा ल्याउन हाम्रा अन्तर्राष्ट्रिय र संघीय कानुन कार्यान्वयन ईकाइहरुसँग सहकार्यका साथ काम गरिरहेको छ । ’
डाटावेसमा सन् २०१३ सम्म १ करोड ६० लाख व्यक्तिको तस्विरहरु राखिसकिएको र सन् २०१५ सम्ममा ५ करोड २० लाख व्यक्तिका तस्विरहरु राखिने बताइएको छ । यो डाटाबेसले अपराध र आतंकवाद नियन्त्रणमा सघाउ पुग्ने एफबीआईले विश्वास लिएको छ ।
(पन्थी न्यूयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् ।)
















प्रतिक्रिया