काठमाडौं, १ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संविधानमा थारुहरुको माग सम्बोधन हुनुपर्ने बताएका छन् ।
शनिबार थारु राष्ट्रिय माघी महोत्सव २०७३ मुल आयोजक समितिले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको महोत्सवको उद्धघाटन् समारोहलाई सम्बोधन गर्दै धमलाले थारुहरुको हकअधिकारको लागि संविधानमा उनीहरुले भनेजस्तै मागहरु सुनिश्चित गरिनुपर्ने बताए ।
चन्द्र चौधरीको सभापतित्वमा आयोजित उद्धघाट्न समारोहमा बोल्दै धमलाले मुलुकलाई सामाजिक, आर्थिक रुपमा रुपान्तरण गर्नको लागि थारुहरु अघि बढ्नुपर्ने बताए । उनले मुलुकको विकास र विद्यमान सबै खाले भेदभावलाई अन्त्य गर्दै परिवर्तन गर्न थारुहरु अब मुख्यमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्नुपर्ने बताउँदै भने, ‘अब तपाईहरु मुलुको नेतृत्व गर्न तयार हुनुहोस्, म आफ्नो तर्फबाट सकेको सहयोग गर्छु ।’
उनले थारुहरुको पहिचानलाई संरक्षण एवम् प्रर्वद्धन गर्नुपर्ने भन्दै आगामी दिनमा यस्ता खाले महोत्सव लगायतका सामाजिक–साँस्कृति कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
धमलाले अघि भने, ‘अब माघी पर्व देशभरिका सबै नेपालीहरुले मनाउन थालेका छन्, यो तपाईहरुको मात्रै पर्व नभएर हामी सबैको पर्व हो, यसलाई प्रत्येक नेपालीहरुको घरघरमा मनाउने गरिएको छ ।’
त्यस्तै उनले दलहरुवीच अहिले देखिएको असमझदारी पनि तत्काल हटाउनको लागि शीर्ष नेताहरुले वार्ता तथा सम्वादलाई निरन्तरता दिनुपर्ने सुझाव दिए । धमलाले भने, ‘यो माघीको अवसरमा म यही मञ्चबाट दलहरुवीच सहमति, सहकार्य, एकताबाटै सहमति हुन्छ भन्ने कुरा दोहोर्याउन चाहन्छु, अहिलेको अवस्थामा दलहरु मिल्नुको विकल्प छैन, त्यसैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’
उक्त महोत्वसको उद्धघाटन् व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरले गरेकी थिईन । त्यस्तै कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसदहरु जनकराज चौधरी, गोपाल दहित, छेदुलाल चौधरी र नयाँ शक्ति पार्टी नेपालीकी सदस्य करिश्मा मानन्धर लगायतको उपस्थिति थियो ।












प्रतिक्रिया