१९ कार्तिक २०८३, बिहिबार

छाउँगोठ मुक्त हुन सकेन कलेना गाबिस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भूमिराज जोशी

डोटी, २९ पुस । कलेना गाबिस –१ की धना साउँद महिनाबारी हुँदा देउताको डरले पाँच दिनसम्म छाउगोठ मै बस्छिन् । उनको छाउगोठ घरभन्दा करिब सय मिटर जति टाढा छ । छाउगोठको वरिपरी फोहोरै फोहोरको डङ्गुर देखिन्छ । पछाडीतिर पुरै सिस्नाको जंगल छ ।

महिनाबारी हुँदा प्रायः छाउगोठमा उनले एक्लै बस्नु पर्छ । गोठको ढोका छैन । पानी परेको बेला पानी पनि भित्रै आउँछ । गोठ जीर्ण अवस्थाको छ, कतिखेर भत्कीने हो थाहा छैन । महिनाबारी भएको बेला कसरी पाँच दिन काट्ने ? भनेर धनाको मनमा चिसो पसी रहन्छ । धना भन्छिन, ‘त्यो समयमा त प्रायः निन्द्रा नै लाग्दैन । निन्द्रा लागिहालेमा अनेक किसिममा नराम्रा सपनाहरुले तर्साइरहन्छ ।’

महिनाबारी भएको पाँच दिनसम्म त घरको दैलो पनि छुनुहुदैन । केही गरी छोइहालेमा करिब ३–४ दिनसम्म ब्रत बसेर पुजाआजा गरी पाप काट्नुपर्छ । त्यसो नगरे देवता रिसाउँछन र कहिल्यै राम्रो हुँदैन ।

‘पाँच दिनसम्म ज्यूँत्यु गरेर रातहरु काट्नु पर्छ । त्यसपछि मात्र घरभित्र पस्ने अनुमति दिन्छन् हाम्रा परिवार र देवताहरुले ।’ धनाले भनिन, ‘बर्षायाममा त झनै कठिन हुन्छ । भगवानले पनि किन हामीलाई यस्तो पीडा दिएको भनेर भगवानलाई नै गाली गर्छु ।’ मिडियाकर्मीसंग पीडै पीडाको मुस्कान छोड्दै भनिन ।

यो ठाउँमा कुनै निकायले छाउगडीबारे जनचेतना फैलाएका छैनन् भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘सल्लाह सुझाब त धेरैले दिएका छन । महिलालाई बोलाएर बैठक बस्छ । त्यो बैठकमा हाम्रा समस्या र उहाँका सुझाबहरु साँटासाँट हुन्छन । फेरी घरमा आएर परिवारले मान्दैनन् । देवताकै कुरा गर्छन ।’

कलेना गाबिस–३ की नर्मा बिकको पनि त्यस्तै समस्या छ । महिनाबारी भएको बेला जंगलमा बसे जस्तै हुन्छ । उनले भनिन, ‘हामी त्यो बेला सबै कुराबाट ठगिन्छौं । खाना पनि मिठो कुराहरु खानुहुन्न । प्रायः खाली नुनसंग आहारा निल्नुपर्छ । बस्नेबेलामा अँध्यारा गोठहरुमा बस्नुपर्छ । धन्ने ज्यान जोगिन्छ ।’

नर्माले भनिन्, आजभोली भन्दा बर्खायाममा त सबैबाट टाढा भएर जोगिनु पर्छ, गाइभैसीको गोठ पनि छुनु हुँदैन । तरकारीका लहराहरु छोइएपनि आफन्तहरुले गाली गर्छन कुहिन्छन भनेर ।’ नुहाइधुवाइ गर्दा पनि अरुले नुहाइधुवाइ गर्ने धारोबाट बगेको फोहोर पानीले नुहाउनु पर्ने वा खोलाको फोहोर पानीले नुहाउनु पर्ने बाध्यता हुन्छ ।

महिनाबारी हुँदाको समस्या धना र नर्माको मात्र होइन कलेना गाबिसका बढीजसो महिलाहरुको नै छ । यसमा सबै सरोकारवाला निकायहरुले ध्यान दिनु जरुरी छ ।

‘आ–आफ्नो काम जिम्मेवारका साथ पुरा गरे अवश्य नै सुध्रिन्थ्यो, सरोकारवाला निकायहरु गाउँमा गएर टाढैबाट भाषण ठोकेर आउछन् अनि कताबाट छाउगोठहरु मुक्त हुनु ।’ अनेरास्वबियुका सदस्य दिपेन्द्र बोगटीले भने, ‘कलेना गाबिसमा धेरै संघ संस्थाहरुले काम गरे, सरकारी निकायको पनि ध्यान त्यतै छ तर कलेनाका स्थानीयहरुमा चेतना नै फैलिएको छैन ।’ अब घरदैलो अभियान गरेर भएपनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बोगटीले बताए ।