१९ कार्तिक २०८३, बिहिबार

चन्द्रौटामा पृथ्वी जयन्ती भव्य रुपमा मनाइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, २८ पुस । राष्ट्रपिता नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९५औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा कपिलवस्तुको चन्द्रौटामा विशाल र्‍याली तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मुक्तिमञ्चको आयोजना रहेका कार्यक्रममा बाजागाजा सहित निकालिएको विशाल र्‍याली चन्द्रौटा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य युवा नेता अजय थापाले जिल्लाको केन्द्रविन्दु मानिने चन्द्रौटाचोकलाई पृथ्वीचोक बनाउनुपर्नेमा जोड दिए ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सरकारले विदा नदिएको भन्दै थापाले आक्रोस पोखे । नेपालका लाखौं युवाहरु विदेशमा पसिना बगाइरहेको अवस्थामा सरकारले युवाहरुलाई स्वरोजगार गराउन कुनै कसरत नगरेको समेत उनले बताए । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका महानायक भएकाले उनको योगदानहरु भुल्न नहुने थापाले उल्लेख गरे ।

कार्यक्रममा नेपाल मुक्ति मञ्चका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष श्याम कुमार मिश्रले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जोडदार माग गरे । नेपाल हिन्दू राष्ट्र नहुँदाको परिणाम कैलालीमा गौ हत्याका घटना हुन पुगेको उनले बताए । आफ्नो संगठन हिन्दू राष्ट्रको पक्षमा रहेकाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सरकारसँग उनले जिकिर गरे ।

कार्यक्रमका सहभागीले पृथ्वीनारायण शाहका योगदानलाई स्मरण तस्बीरमा अबिर मालाले सम्मान प्रकट गरेका थिए । हिमाल पहाड तराईका सबै बासिन्दा मिलेर बसेको बेला सरकारले जातजाति धर्मवीच लडाउने खेल खेलिरहेको समेत कार्यक्रमका सहभागीले आरोप लगाएका थिए ।

कार्यक्रममा छमछमी कला केन्द्रको नृत्य र साहित्यकार अर्जुन शरले नेपालको इतिहासलाई कविता मार्फत वाचन गरेका थिए । अन्य साहित्य अनुरागीहरुले पृथ्वीनारायण शाहका योगदानको वारेमा रचना मार्फत प्रस्तुत गरेको थिए । त्यस्तै जिल्लाको कृष्णनगरमा पनि भव्यताका साथ पृथ्वी जन्मजयन्ती मनाइएको छ ।