१९ कार्तिक २०८३, बिहिबार

अनुमति बिना नै चितवनमा सिसी क्यामेरा जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आनन्द पोखरेल

चितवन, २६ पुस । सुरक्षाको कारण देखाउँदै चितवन जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका सबै सिसी क्यामेराहरु अनुमति विना नै जडान गरिएको पाइएको छ ।

सिसी क्यामेरा जडान गर्दा गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर जडान गर्नुपर्ने व्यवस्था गरिएको भएपनि चितवनमा कुनै पनि व्यक्ति तथा संघसंस्थाले स्थानीय प्रशासनबाट अनुमति नलिई सिसि क्यामेरा जडान गरेका छन् ।

सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ जारी भएपछि अनिवार्य रुपमा सिसि क्यामेरा जडान गर्नको लागि स्थानीय प्रशासन वा गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । सूचनाको हक सम्बन्धी काम गर्दै आएका शर्मिला पण्डितलगायतका व्यक्तिले चितवनमा जडान गरिएका सिसि क्यामेराको बारेमा सूचना माग गरेपछि स्थानीय प्रशासनले चितवनमा सिसि क्यामेरा जडान गरेका व्यक्ति तथा संघसंस्थाले हालसम्म अनुमति नलिएको जानकारी दिएको हो । सिसि क्यामेरा जडानको लागि स्वीकृति पाउ भनि पुसको २४ गतेसम्म जिल्ला प्रशासन कार्यालय चितवनमा कुनै पनि व्यक्ति तथा संस्थाले निवेदन नदिएको सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले जानकारी दिए ।

वर्तमान अवस्थामा धेरै स्थानमा सिसि क्यामेरा प्रयोग भइरहेकोले उक्त कार्यलाई व्यवस्थित गर्न भन्दै २०७२ साल कात्तिक २५ गतेको मन्त्रीस्तरको निर्णयबाट सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७२ स्वीकृत भएको थियो । उक्त कार्यविधि स्वीकृत भएकै दिनदेखि लागू हुने समेत कार्यविधिमा उल्लेख गरिएको छ ।