
काठमाडौँ, २४ पुस । नेपाली काँग्रेसका सांसद तथा युवा नेता रामहरि खतिवडा यतिबेला हैरानीमा परेका छन् । १४ लाख रुपैंया पर्ने एउटा घडी ‘चोरी’ गरेको भन्ने आरोप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि उनी तनावमा परेका हुन् ।
घटना हो, लाजिम्पाटस्थित र्याडिसन होटलको । र्याडिसन होटलको हेल्थ क्लवका उनी नियमित ग्राहक हुन् । गत बुधबार हेल्थ क्लवमा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँ मूल्य पर्ने घडी हरायो । जुन दिन क्लवमा रामहरि, प्रबल, सिमान्त गुरुङ र सुनिल शर्मासहित ५ जनामात्र थिए । प्रबलको लाखौँ मूल्यको घडी हराएपछि र्याडिसनमा निकै ठूलो हल्लाखल्ला भयो, जतिबेला रामहरि त्यहाँबाट हिँडिसकेका थिए । त्यही दिन उनी गृहजिल्ला ओखलढुंगा गए, क्लवमा जान पाएनन् ।
यही बीचमा प्रबलले प्रहरीमा उजुरी दिए । प्रहरीले खतिवडालाई पनि फोन गरेर बोलायो । ‘म ओखलढुंगामा छु, मसँग घडी छैन् । कसैगरी मेरो कपडामा परेको रहेछ भने खबर गरुँला ।’– खतिवडाले प्रहरीलाई भनेका थिए ।
तर उनी त्यतिबेला झसंग भए जतिबेला उनको ट्राउजरको खल्तीमा घडी भेटियो । उनले लगत्तै सिमान्त गुरुङलाई एसएमएस गरे ‘प्लीज कल मी !’ भन्दै । तर, सिमान्तको फोन आएन । मोबाइल नम्बर अर्कै रहेछ ।
त्यसपछि रामहरि आफैले सुनिल शर्मालाई फोन गरेर घटनाको जानकारी गराए अनि सिमान्तको फोन नम्बर पनि लिए । सिमान्तमार्फत प्रबलसँग कुरा भयो । उनले घडी आफ्नो खल्तीमा भेटिएको भन्दै दरबारमार्ग प्रहरीलाई पनि जानकारी गराए ।
चार दिनपछि शनिबार खतिवडा आफै होटल र्याडिसनमा पुगेर प्रबललाई घडी फिर्ता फिर्ता गरेका छन् । तर, आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा यो विषय छ्याप्छ्याप्ती भएपछि उनलाई तारान्तार कार्यकर्ता र शुभेच्छुकहरुको फोन आउन थालेको छ ।
‘खै कसरी घडी मेरो खल्तीमा पर्यो, थाहा नै पाइन् । ओखलढुंगा जानुपर्ने भएकाले त्यो दिन हतारहतार क्लबबाट निस्केको थिएँ । हेल्थ क्लबमा जाँदा लगाउने कपडा फुकालेर घरमै छाडेको थिएँ । तर, त्यो घडी मेरो खल्तीमा कसरी पर्यो, म आफै अचम्ममा परेको छु ।’, खतिवडाले दैनिक नेपालसँग भने – ‘मलाई जबर्जस्ती चोरीको आरोप लगाइएको छ । यो सुनियोजित रुपमा मेरो चरित्रहत्या गर्ने प्रयास मात्र हो । कसैले नियतवश रुपमा मेरो खल्तीमा घडी राखिएको हुनुपर्छ ।’
उनको दाबी छ- ‘पार्टीभित्रकै केही कुरामा चित्त नबुझेका कारण वा संसदमा कतिपय विषयमा कठोर रुपमा प्रस्तुत भएका कारण मलाई फसाउन षडयन्त्र भएको हो ।’
घडी काण्डले निकै तनाव दिएपछि खतिवडाले अहिले दिउँसो दुई बजे उनले काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।















प्रतिक्रिया