काठमाडौं, २४ पुस । न्यायपरिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा पुर्याएको छ ।
परिषद्ले एक–दुई दिनभित्रै योग्यतम उम्मेदवार छनोटको सिफारिस गर्ने भएको छ। शुक्रबार बसेको बैठकले आइतबारदेखि सोमबारसम्म नियुक्ति सिफारिस टुंगो लगाउने गरी काम अन्तिम चरणमा पुर्याएको स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
परिषद्का प्रवक्ता देवेन्द्र ढकालले योग्यमध्ये पनि योग्यतम उम्मेदवार सिफारिस गर्नेगरी छलफल भइरहेको बताए । ‘शुक्रबार पनि छलफल भएको थियो, तर टुंगो लागिसकेको छैन,’ ढकालले भने, ‘आज पनि छलफलकै लागि बैठक डाकिएको छ ।’
ठूलो विवाद नभए एक–दुई दिनभित्रै सबै नाम टुंगो लाग्ने स्रोतले जनायो । परिषद्ले नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो ।
गत मंसिर पहिलो सातासम्म आठ सय योग्य उम्मेदवारले परिषद्मा व्यक्तिगत विवरण बुझाएका थिए ।
अधिवक्ताहरूबाट नियुक्ति गर्दा ठूलो संख्यामा प्रतिस्पर्धी देखिएकाले न्यायपरिषद् बैठकले उच्च अदालतका लागि योग्यता पुगेकामध्ये पनि योग्यतम न्यायाधीश सिफारिसका लागि छुट्टै मापदण्डसमेत बनाएको छ ।
उच्च स्रोतका अनुसार परिषद् बैठकले अधिवक्ताहरूमध्येबाट नियुक्त गर्दा धेरैजसो वरिष्ठ अधिवक्ताहरू पर्नेगरी पुरुषतर्फ कम्तीमा १८ वर्ष वकालतमा संलग्न तथा महिलातर्फ १५ वर्ष वकालतमा लागेकाहरूलाई नियुक्ति सिफारिस गर्नेगरी मापदण्ड बनाएको छ ।















प्रतिक्रिया