काठमाडौं, २३ पुस । विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ ।
भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्बन गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
विभागले एकजना उपमहानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
हवाई तथा स्थल मार्ग भएर नेपाल भित्रने अवैध सुनमा भन्सार, सुरक्षा निकाय र तस्करको गोप्य सेटिङमा हुने गरेको तथ्य विहिबार पुष्टि भएको थियो ।
प्रहरीले विमानस्थल भन्सार जाँच पास भएर आएको एक यात्रुको लगेजबाट ३४ किलो सुन बरामद गरेपछि लामो समयदेखि चल्दै आएको सेटिङ छताछुल्ल भएको हो ।
उच्च स्रोतका अनुसार सुन तस्करीमा भन्सार विभाग, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय देखि अर्थ र गृहमन्त्रालयका उच्च अधिकारीको संलग्नता देखिएको छ ।
सुन ल्याउने ब्यक्तीलाई तस्कर समूहले ‘चेकजाँच भए बनिबनाउ सुन दिनु हामी छुटाउँछौं’ भन्ने आश्वासन दिएको र लगेजमा आएको सुन बिनाकुनै चेकजाँच पास हुनुले उच्च तहको तस्करीमा सक्रियता रहेको देखिएको छ ।
विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा कुलराज ज्ञवाली, टंक पाण्डे, मन्त्रालयको कानुन शाखाका प्रतिनिधी र पुण्यविक्रम खड्का सम्मिलित छानबनि समिति बनाएको हो ।
विभागका महानिर्देशक शिशिरकुमार ढुङगानाले घटनाका बिषयमा तत्काल अनुसन्धान समिति बनाएर छानबिन सुरु भएको जानकारी दिए ।
यस्तै विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले उपसचिवदेखि कार्यालय सहयोगीसम्म २९ जनालाई कामबाट हटाएर अनुसन्धान भै रहेको जानकारी दिए ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थ सचिव शान्ताराज सुवेदीको निर्देशनमा तत्काल घटना थामथुम बनाउन छानविन समिति बनाईएको हो ।
घटनाको बिस्तृत अनुसन्धान र दोषी उपर कारवाही भन्दा छानविन समिति घटनाको तत्काल प्रभाव घटाउन विगतमा जस्तै सक्रिय हुनेछ ।
‘केही समयअघि मात्रै सरुवा भएर गएका भन्सार प्रमुख र लामो समयदेखि विभागमा रहेका महानिर्देशकलाई सुन तस्करीको नालिबेली थाह छ, अहिले पत्रपत्रिका मार्फत दवाब बढेपछि छानविन समिति बनेको हो’, स्रोतले भन्यो ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका एक यात्रुको लगेजमा दुईसय ८२ थान सुनका बिस्कुट विहीबार बरामद गरेको थियो ।
ब्युरोको टोलीले एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगञ्जका गोपालबहादुर शाहीको लगेजमा उक्त सुन बरामद गरेको थियो ।
ब्युरोले सुन लिन जाने दुई जनालाई समेत पक्राउ गरेको छ । शाहीलाई विमानस्थल क्षेत्रभन्दा बाहिर पिङगलास्थानबाट नियन्त्रणमा लिईएको थियो ।
दुबईबाट अवैध रुपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको टेरियस गाडी सहित पक्राउ परेका थिए ।














प्रतिक्रिया