काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेलाई मधेस मुक्त बनाउँछौं’ भन्ने मधेसवादी दलका नेताहरुलाई कडा जवाफ फर्काउनुभएको छ ।
संविधान संशोधन विधेयकको विरोधमा विपक्षी ९ दलद्धारा राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो- ‘केहीले तराईबाट एमालेलाई विदा गर्छाै भनिरहेका छन् । म स्मरण गराउन चाहन्छु । उहाँहरुले जितेको जम्मा ११ सीट हो त्यो पनि तीन वर्ष अगाडि । एमालेले जितेको ४० सीट यो कुरालाई हेक्का राखुन् ।’
केही दिनअगाडि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब एमालेलाई मधेसबाट विदा गर्नुपर्ने र एमाले मधेसमुक्त बनाउने सुत्र आफूसँग रहेको टिप्पणी गर्नुभएको थियो ।
अध्यक्ष ओलीले फागुनको दोस्रो साताबाट आफूहरु तराई अभियानमा जान लागेको जानकारी गराउनुहुँदै अभियान मेचीदेखि महाकालीसम्म पुग्ने बताउनुभयो । ‘अब तराईका जनतालाई अल्मल्याउछु भन्ने नठाने हुन्छ,’ उहाँले भन्नुभयो- ‘हामी आउँदैछौं । जनता अब सचेत भइसकेका छन् ।’ एमालेलाई तराईमा जान कसैले रोक्न नसक्ने ओलीको दाबी छ ।
उहाँले काठमाडौंको शक्ति प्रर्दशनमा धरै सहभागिता रहेकोतर्फ संकेत गर्दै यसको तस्वीर ड्रोन क्यामराले लिएको र अब तराई–मधेसमा चल्ने अभियानको तस्वीर ड्रोनले नभ्याउने भएकाले स्याटेलाइटबाट लिनुपर्ने बताउनुभएको थियो ।
उहाँले राष्ट्रियता रक्षार्थ भइरहेको यो आन्दोलनको अगाडि एमाले छ भन्नुहुँदै अगाडि भन्नुभयो- ‘तपाईहरु ठुक्क हुनुस् एमालेले राष्ट्रियतालाई केही हुन दिन्न् । राष्ट्रहित विपरितका प्रस्ताव पास गराउन दिन्नौं ।’
















प्रतिक्रिया