३१ आश्विन २०८३, शनिबार

झापा गोल्डकपको दोस्रो संस्करण माघ १५ देखि

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– लक्ष्मी काफ्ले

बिर्तामोड, १४ पुस । झापामा फुटबल प्रतियोगिता आयोजना हुने क्रम बढ्दो छ । एक वर्षयता जिल्लामा दर्जनौँ फुटबल प्रतियोगिता आयोजना भइसके । तीमध्ये सर्वाधिक चर्चा कमायो, मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘झापा गोल्डकप’ले ।

झापा गोल्डकपपछि जिल्लाका अन्य स्थानमा पनि फुटबल प्रतियोगिता आयोजना हुन थालेका हुन् । मुलुकमै सर्वाधिक फुटबल गतिविधि हुने जिल्लाका रुपमा चिनिन थालेको छ, झापा । झापालाई फुटबल सहरका रुपमा विकसित गर्न यहाँका अगुवाहरु जुटेका छन् ।

झापा गोल्डकपको दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म आयोजना हुँदैछ । केही दिनअघि बिर्तामोडमा गठित मूल आयोजक समितिले यतिबेला गोल्डकपको तयारी तीव्र पारेको छ । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजक समितिले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको हो ।

गत वर्ष चैतमा आयोजित झापा गोल्डकपले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको थियो । त्यसैको हौसलाका कारण दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङले बताए । गतवर्ष आयोजित झापा गोल्डकपको विजेतालाई ६ लाख तथा उपविजेतालाई ३ लाख रुपैयाँ प्रदान गरिएको थियो । यसपटक पुरस्कार राशिसमेत बृद्धि गरिएको मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए । दोस्रो संस्करणको झापा गोल्डकपको विजेताले नगद ७ लाख तथा उपविजेताले ३ लाख ५० हजार पाउनेछ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत गिरीको अध्यक्षतामा १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । सल्लाहकार समिति ५१ सदस्यीय छ । समितिमा बिर्तामोडका मात्र नभएर झापाका सबै क्षेत्रका व्यक्तिलाई समेटिएको मूल आयोजक समितिका अध्यक्ष गिरीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताए । ‘तर, सोचेजस्तै सहयोग पायौँ भने हामी १ करोडभन्दा बढी उठाउन सक्छौँ,’ गिरीले भने, ‘गोल्डकपबाट बचेको पैसाले झापा–११ फुटबल क्लव र डोमालाल रङ्गशालालाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो ।’ प्रायोजकका लागि प्रस्ताव पठाइसकिएको आयोजक समितिले जनाएको छ । गत वर्षको प्रतियोगितामा भन्दा यसपटक बढी प्रायोजक हुने समितिको दाबी छ ।

झापा–११ फुटबल क्लवका अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य गुरुङ भन्छन्, ‘यस्तो प्रतियोगिताका लागि अरुले ६ महिनासम्म तयारी गर्छन् । तर, हामी एक महिनामै सबै कुरा गरेर देखाइदिन्छौँ ।’ नकआउटका आधारमा खेलाइने प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाउने छन् । आयोजक झापा–११, राजधानीभित्रका ५ टिम र रुपन्देही–११ गरी मुलुकभित्रका ७ वटा प्रतिष्ठित टिम तथा मुलुक बाहिरका ३ वटा टिमलाई सहभागी गराउने प्रयास भइरहेको आयोजक समितिका महासचिव केशवराज दाहालले बताए ।

‘भारत र भुटानका टोलीसँग कुराकानी भइरहेको छ,’ दाहालले भने, ‘कोरियाको एउटा टोली पनि पोखरा आउँदै रहेछ, अमेरिकामा बस्ने नेपालीहरुको टोलीले पनि इच्छा देखाएको छ, तीमध्ये कुनै ३ वटालाई समावेश गराइन्छ ।’

प्रतियोगितामा दर्शकका लागि बाँसको व्यवस्थित प्याराफिट बनाइने समितिका उपाध्यक्ष बलराम कार्कीले बताए । ‘पोहोरको भन्दा व्यवस्थित हुन्छ प्याराफिट,’ उपाध्यक्ष कार्कीले भने, ‘टिकट दर एकसय र दुईसय रुपैयाँकै हुनेछ ।’ खेल सुरु हुनुभन्दा अगाडि सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ । प्रतियोगिताको मुख्य आयस्रोतका रुपमा जिल्लाका उद्यमी, व्यवसायी तथा फुटबलप्रमेमीहरुलाई लिइएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरी झापा गोल्डकपलाई मुलुककै नमुना गोल्डकपका रुपमा स्थापित गराउने आयोजक समितिको लक्ष्य छ ।

अनुमानित आम्दानी

मुख्य प्रायोजकबाट १५ लाख रुपैयाँ लिने समितिको योजना छ । सह–प्रयोजकबाट ७ लाख ५० हजार, अन्य प्रायोजकहरुबाट जम्मा १५ लाख, व्यानर विज्ञापनबाट ३ लाख, सिजनल टिकट बिक्रीबाट ५ लाख, गेटमा बिक्री हुने टिकटबाट २२ लाख ५० हजार र सदस्यहरुबाट ७ लाख रुपैयाँ गरी ७५ लाख रुपैयाँ सङ्कलन गर्ने आयोजकको लक्ष्य छ ।

अनुमानित खर्च विवरण

प्रचारप्रसारका लागि ५ लाख रुपैयाँ छुट्याइने समितिले जनाएको छ । मैदान व्यवस्थापनमा ७ लाख, मेडिकल खर्च १ लाख, सहभागिता जनाउने टोलीहरुका लागि खर्च २२ लाख, यातायात खर्च १० लाख ५० हजार, रेफ्रीहरुका लागि खर्च ४ लाख, म्याच मनी शीर्षकमा ३ लाख, विजेतालाई ७ लाख, उपविजेतालाई ३ लाख ५० हजार, अन्य पुरस्कारहरुका लागि ४ लाख, अपरेटिङ खर्चका लागि २ लाख र विविध खर्चमा ६ लाख गरी ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको छ ।