लन्डन । ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा सूर्य सुवेदीको चिनियाँ भाषामा अनुवाद गरिएको पुस्तक बेइजिङमा लोकार्पण गरिएको छ ।
प्रा. सुवेदीद्वारा लिखित तथा बेलायतको हार्ट प्रकाशनद्वारा प्रकाशित ‘अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्बन्धी कानून र त्यसको अन्तर्राष्ट्रिय कानूनका अन्य विधाहरुसँगको अन्तरसम्बन्ध र समन्वय’ नामक उक्त ग्रन्थको चीनका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक झाङ लीले दुई वर्षको मेहनत लगाएर उक्त ग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए र चीनको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रकाशकले उक्त ग्रन्थ चिनियाँ भाषामा प्रकाशन गरेको थियो ।
उक्त संस्थाको आयोजनामा बेइजिङमा आयोजित समारोहमा विभिन्न चिनियाँ प्राज्ञिक व्यक्तित्वहरुले आफ्ना मन्तव्य राखेका थिए भने प्रा। सुवेदीले अन्तर्राष्ट्रिय वैदेशिक लगानी कानून र त्यसमा आएका परिवर्तनबारे आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
उक्त ग्रन्थको विमोचन गर्दै दि हेगस्थित अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुएले प्रा। सुवेदीको ग्रन्थले अन्तर्राष्ट्रिय कानूनको अध्ययन र अध्यापनमा एक मौलिक आयाम थपेको र यसबाट चीनको आर्थिक विकासमा मद्दत पुग्ने आफुले अपेक्षा गरेको बताइन् ।
प्रकाशकको तर्फबाट अध्यक्ष हुआङ मिनले प्रा। सुवेदीको ग्रन्थ अन्तर्राष्ट्रिय कानूनको एक उत्तम ग्रन्थ भएकोले आफ्नो संस्थाले प्रकाशन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका थिए ।
उक्त पुस्तकका अनुवादक प्रा। झाङ ली ले प्रा। सुवेदीका विचारहरुद्वारा आफू प्रभावित भई धेरै मेहनत गरी उक्त ग्रन्थ अनुवाद गरेको बताए । उक्त समारोहमा चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, कानून व्यवसायीहरु र अनुसन्धानकर्ताहरु सहभागी थिए ।
आफ्नी धर्मपत्नी श्रीमती कोकिला सुवेदीसहित चीन भ्रमणमा रहेका प्रा। सुवेदीले चीन सरकार, चीनका विश्वविद्यालयहरु र चीनका प्राज्ञिक मित्रहरुलाई आतिथ्य, स्वागत र सौहार्द्रताका लागि धन्यवाद दिएका थिए ।















प्रतिक्रिया