काठमाडौं, १४ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत भारोत्तोलनको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । राजविराजमा चार दिन चलेको भारोत्तोलनको प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बने ।
अन्तिम दिन पुरुष १०५ केजीमाथि नेपाल आर्मी क्लबका पुकार गुरुङले स्न्याचमा १२४ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२३ केजीको कीर्तिमानमा सुधार गरे । उनले गत वर्ष थाइल्यान्डमा भएको एसियाली च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए । पुकारले स्न्याचमा १२४ केजीसहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कूल २५९ केजी भार उचाल्दै स्वर्ण जिते । मध्यमाञ्चलका राजिव महर्जन दोश्रो भए । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११३ गरी जम्मा २०३ केजी वजन उठाए । तेश्रो भएका सुदूरपश्चिमाञ्चलका सुवास उपाध्यायले स्न्याचमा ९१ र क्लिन एन्ड जर्कमा ११० गरी जम्मा २०१ केजी भार वहन गरे ।
पहिलो दिन नेपाल प्रहरीकी देवी चौधरीले महिला ५३ केजीको स्न्याचमा कीर्तिमान रचेकी थिइन् । दोश्रो दिन आर्मीकी कमला श्रेष्ठले महिला ५८ केजीको स्न्याच, क्लिन एन्ड जर्क र जम्मामा राष्ट्रिय कीर्तिमान स्थापित गरिन् भने त्यसै दिन आर्मीका कमलबहादुर अधिकारीले पुरुष ८५ केजीको क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । तेश्रो दिन प्रहरीका दिनेश श्रेष्ठले पुरुष ९४ केजीको स्न्याच, क्लिन एन्ड जर्क र जम्मामा कीर्तिमान बनाउन सफल भएका थिए ।
पुरुषको १०५ केजीमुनि प्रहरीका गगन चन्दले स्वर्ण जिते । उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११८ गरी जम्मा २१४ केजी भार उठाए । स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २१३ केजी वजन उठाएका प्रहरीकै विपेन्द्र महर्जन दोश्रो भए । मध्यमाञ्चलका आशिक हुसैन तेश्रो बने । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा १०८ गरी जम्मा १९८ केजी भार वहन गरे ।
प्रतियोगितामा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोली आर्मी, प्रहरी र एपीएफका गरी जम्मा १०३ खेलाडीले १५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ८ र महिलामा ७ स्पर्धा समावेश थियो ।
बास्केटबल : आर्मीलाई पुरुष बास्केटबल उपाधि
पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ । धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित ग-यो ।
पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि प¥यो । आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग-यो ।
तेश्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ ले हरायो । पुरुषमा पाँच विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए ।
यसअघि पाँचदिन सञ्चालन भएको बास्केटबलको महिलातर्फ मध्यमाञ्चल च्याम्पियन बनेको थियो । महिलामा ४ क्षेत्र र आर्मी गरी ५ टिमले भाग लिएका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कबड्डी : आर्मीलाई दुई स्वर्ण
कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित ग¥यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते ।
पुस ९ गतेदेखि सुरु कबड्डीको पुरुषमा ५ क्षेत्र, आर्मी र एपीएफ गरी ७ टिम सहभागी थिए । महिलामा पाँच क्षेत्र, आर्मी, प्रहरी र एपीएफ गरी ८ टिमले सहभागिता जनाएका थिए ।
हक्की : आर्मी र सुपलाई उपाधि
पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो ।
निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे ।
मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । पुरुष हक्कीमा पाँच क्षेत्र र आर्मीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
महिलामा सुदूरपश्चिमाञ्चलले स्वर्ण हात पा¥यो । मध्यपश्चिमाञ्चल बाहेक चार क्षेत्र र आर्मी सहभागी महिलाको राउन्ड रोविन लिगमा सुदूरपश्चिमाञ्चलले सबै प्रतिद्वन्द्वीलाई हराउदै ८ अंक जोड्यो । दोश्रो भएको आर्मीले ६ अंक जोड्यो भने तेश्रो स्थानमा रहेको मध्यमाञ्चलले ४ अंक बटुल्यो ।
पुस ९ गतेदेखि सुरु हक्कीको अन्तिम दिन महिलातर्फ सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–० तथा आर्मीले पूर्वाञ्चललाई ४–० गोलअन्तरले निराश पारे ।
सुटिङ
वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए ।
सोही स्पर्धाको महिलामा प्रहरीकी अस्मिता राई च्याम्पियन बनिन् । २ सय पूर्णाङकको खेलमा अस्मिता र ओलम्पियन प्रहरीकै फुलमाया क्याप्छाकीले समान १८९ अंक जोडेपछि खेल टाइ भएको थियो । अर्को चरणमा पनि दुवैले समान १०–१० अंक जोडेका थिए । त्यसपछिको प्रतिस्पर्धामा भने अस्मिताले १८ अंक जोड्दै फुलमायालाई दोश्रो स्थानमा चित्त बुझाउन बाध्य पारिन् । त्यसमा फुलमायाले १७ अंक मात्र जोड्न सफल भइन् । मध्यपश्चिमाञ्चलकी रुसी सोमईं मगर तेश्रो भइन् । रुसीले १६४ अंक ल्याइन् ।

सफ्ट टेनिस : निर्मल र चन्द्रको जोडी पहिलो
सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् ।
वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे ।
पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मगर तथा मध्यमाञ्चलका कृपा शर्मा र धर्मराज घलेको जोडी संयुक्त रुपमा तेश्रो बने ।
प्रतियोगितामा पश्चिमाञ्चल बाहेक ४ क्षेत्रका समान २४ पुरुष र महिला गरी ४८ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
लनटेनिस : संरक्षक र मायांकालाई उपाधि
पोखरामा भएको लनटेनिसमा प्रहरीका संरक्षकभूषण वज्राचार्य र प्रहरीकै मायांका राणाले सिंगल्स उपाधि बुधबार जितेका छन् ।
पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका कमल भण्डारीलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी प्रहरीकै माहिका राणालाई ५–७, ६–४ र ६–४ को सेटमा हराइन् ।
महिला डबल्समा मायांका र माहिकाको जोडीले स्वर्ण चुमे । उक्त जोडीले आर्मीका इरा रावत र अभिलाषा विष्टको विष्टको जोडीलाई ६–३ र ६–३ को सीधा सेटमा निराश पारे । सो स्पर्धाको पुरुषमा पश्चिमाञ्चलका कुमार अधिकारी र अनिल शाहीको जोडी च्याम्पियन बने । उक्त जोडीले एपीएफका श्रीराम मगर र सन्तोष खत्रीको जोडीलाई ७–५ र ७–५ ले पाखा लगाए । पुस ९ गतेदेखि सुरु प्रतियोगितामा ४० पुरुष र २२ महिला गरी ६२ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
पुरुष फुटबल : एपिएफ उपाधिनजिक
पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब बुधबार फाइनल पुगेको छ ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमीफाइनलमा अतिरिक्त समयमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । तर, लगत्तै नेपाल आर्मी र मध्यमाञ्चलबीच भएको दोस्रो सेमीफाइनल खेल भने निर्धारित समय र थप समयमा पनि गोलरहित बराबरी भएपछि अनिर्णित अवस्थामा नै स्थगित भएको छ । ट्राइब्रेकर गर्न समय अभाव भएपछि उक्त खेलको छिनोफानो बिहिबार बिहान ९ बजे सिधै टाइब्रेकरबाट हुने आयोजकले जनाएको छ ।
पहिलो खेलमा पनि एपिएफ र पुलिसबीच निर्धारित समयमा निर्णायक गोल हुन नसकेपछि थप ३० मिनेट खेलाइएको थियो । अतिरिक्त समयको १० औं मिनेटमा रामकुमार कुमालको पासमा युवराज खड्काले एपिएफका लागि पहिलो गोल गरे भने २९ औं मिनेटमा रामकुमारले दिएको पासमा नविन लामाले दोस्रो गोल गरे । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोल गर्ने मौका खेर फालेका थिए ।
पहिलो हाफको १७ औं मिनेटमा हरि कार्की हेड गर्न चुक्दा एपिएफले अग्रता लिनबाट बञ्चित भयो भने २१ औं मिनेटमा श्याम नेपालीले डि बक्स भित्रबाटै गोल गर्न सकेनन् । उता, पुलिसले पनि पहिलो हाफको ५ मिनेटमा बुद्ध लामा गोल गर्न चुक्दा अग्रता लिन सकेन । निक्कै आक्रामक खेलेको पुलिसले लगत्तै ७ मिनेटमा जुमानु राईको प्रहार पनि गोलकिपरले समात्यो भने १२ औं मिनटेमा भरत साहको प्रहार सीधै एपिएफका किपरले समाते । अतिरिक्त समयमा निरकुमार राईले वान भर्सेस वानमा पनि गोल गर्नबाट चुक्नु पुलिसको दुर्भाग्य भयो । उक्त खेलको म्यान अफ दि म्याच घोषित हुदै एफिएफका रामकुमार कुमालले एन्फा उपाध्यक्ष किसोर राईबाट नगद ५ हजार हात पारे ।
दोस्रो सेमीफाइनल खेलमा भने नेपाल आर्मी र मध्यमाञ्चलबीच निर्धारित र अतिरिक्त समयमा निर्णायक गोल हुन सकेन । अध्यारो भइसकेकोले टाइब्रेकर हुन नसकेपछि बिहिबार पुनः दुवै टोलीबिच सिधै टाइब्रेकर हुन भएको छ । बिहिबार टाइब्रेकरबाट फाइनल जाने टोली छानिए पछि हार्ने टिमले दिउसो तेस्रो स्थानको लागि नेपाल पुलिससँग खेल्नुपर्नेछ । विजेताले भने एपिएफसँग शुक्रबार फाइनल खेल्नेछ ।
तेक्वान्दो : आर्मीको वर्चस्व
तेक्वान्दोमा आर्मीले बुधबार वर्चस्व कायम गरेको छ । प्रतियोगितामा समावेश १६ स्वर्ण मध्ये आर्मीले सर्वाधिक ११ स्वर्णमाथि कब्जा जमाउदै शीर्ष स्थान हात पा-यो । ४ स्वर्ण, ५ रजत र १ कांस्य जितेको प्रहरी दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको एपीएफले १ स्वर्ण र ८ कांस्य हात पा-यो ।
सुनसरीको इटहरी रंगशालमा भएको प्रतियोगिताको अन्तिम दिन विभिन्न ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
पुरुषको ८० केजीमुनि आर्मीका रामदत्त भट्टले स्वर्ण जिते । उनले फाइनलमा मध्यमाञ्चलका विवेक श्रेष्ठलाई पराजित गरे । महिलाको ७३ केजीमुनि आर्मीकै मिरा काफ्लेले फाइनलमा पूर्वाञ्चलकी मौसम कार्कीलाई हराउदै पहिलो स्थान हात पारिन् ।
पुरुषको ७४ केजीमुनि प्रहरीका निश्चलमान श्रेष्ठ पहिलो भए । उनले फाइनलमा आर्मीका ज्ञानेन्द्र हमाललाई पाखा लगाए । पश्चिमाञ्चलका किरणबहादुर आलेको चुनौती फाइनलमा पन्छ्याउदै प्रहरीका वीरबहादुर महरा पुरुष ६३ केजीमुनि च्याम्पियन बने । पुरुष ६८ केजीमुनि आर्मीका मोहम्मद वेशले स्वर्ण हासिल गरे । उनले फाइनलमा प्रहरीका जेम्स प्रधानको चुनौती समाप्त पारे । प्रतियोगितामा पाँच क्षेत्र र तीन विभागीय टोलीका १२८ खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
स्क्वास : भावना र विपना फाइनलमा
ललितपुरको सातदोबाटोमा जारी स्क्वासको महिला सिंगल्समा मध्यमाञ्चलकी भावना सुनवार र आर्मीकी विपना ब्लोन बुधबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा भावनाले आर्मीकी स्वस्थानी श्रेष्ठ तथा विपनाले आर्मीकै कृष्णा थापालाई समान ३–० को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा आर्मीका अरहान्तकेशर सिंहले प्रहरीका काशीराम भण्डारीलाई ३–०, आर्मीका अमृत थापा मगरले मध्यमाञ्चलका सुगम तुल्सानलाई ३–० तथा मध्यमाञ्चलका विनोदरत्न शाक्यले मध्यमाञ्चलका प्रज्ज्वलप्रकाश प्रधानलाई ३–१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । मध्यपश्चिमाञ्चलकी ज्ञानु चौधरीले मध्यमाञ्चलका सुदीपबहादुर सिंहबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भए ।
फेन्सिङ : आर्मीकी इन्द्रिरालाई स्वर्ण
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबारबाट काठमाडौंमा शुरु भएको दोस्रो फेन्सिङ च्याम्पियनसिपको महिला इपी व्यक्तिगत प्रतिस्पर्धामा आर्मीकी इन्द्रिरा पौडेल स्वर्ण जितेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको प्रतियोगितामा आर्मीकै अन्जना श्रेष्ठले रजत पदक जितिन् भने पश्चिमाञ्चलकी राखी शर्मा र आर्मीकी रविना धिमालले काश्य पदक जिते ।
त्यसैगरी बुधबार नै पुरुष इपी व्यक्तिगत प्रतिस्पर्धामा एपीएफका जंग गिरीले स्वर्ण पदक जिते । त्यसैगरि एपिएफकै राजेन्द्र श्रेष्ठले रजत पदक जिते भने मध्यमाञ्चलका सुधिराज याखा र ओमकार सिंहले काश्इ पदक जिते । विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । यस अघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।
ब्याडमिन्टन : आर्मीको बाहुल्यता
नेपाल आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनमा आफ्नो बाहुल्यता देखाएको छ ।
नेपाल आर्मीका रत्नजित तामाङ्गले पुरुष एकल तर्फको खेलमा आफ्नै क्लबका दिपेश धामीलाई २१–१९, २१–११ सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे । सुदूरपश्चिमका संजीव खड्का र नेपाल प्रहरीका बिष्णु कटुवालले कास्य पदक पाए ।
काकरभिट्टास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठमाथी १७–२१, २१–१२, २१–१० को जित निकाल्दै स्वर्ण प्राप्त गरिन् । आर्मीका अनुमाया राई र अमिता गिरीले कास्य पाए ।
पुरुष डबलमा पनि आर्मीकोनै जित रह्यो । आर्मीका रन्तजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आर्मीकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ को तीन सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र दीपक बोहराको जोडी तथा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडी रहे ।
महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५, २१–८ को सोझे सेटमा पाखा लगाउंदै स्वर्ण हात पार्दा चन्द र राईको जोडीले रजत पाए । सेनाका जेसिका गुरुङ्ग र सुनैना मुखिया तथा नङ्गशल तामाङ्ग र अमिता गिरीको जोडीले कास्य पदक पाए ।
मिक्स डबल तर्फको खेलमा पनि आर्मीका दीदी भाईको जोडीलेनै स्वर्ण पाए । दीदी भाई नङ्गशल र रत्नजितको जोडीले एपिएफका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडी माथी २१–११, २१–१० को जित हात पार्दै श्रेष्ठ र सेंढाईको जाडीलाई रजतमा खुम्चन बाध्य पारे । एपिएफका शोभा गोचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडी कास्यमा खुम्चिए ।
जिम्नास्टिक
धुलाबारीमा जारी जिम्न्यास्टिक खेलमा महिला फ्लोरको ब्यक्तिगत तर्फ एपिएफकी पिंकी झाँग ९.६० अंक हात पार्दै स्वर्ण पदक प्राप्त गरिन् । एपिएफकै रेशिका श्रेष्ठले ९.४ अंकका साथ रजत र एपिएफकै सुनिता निरौलाले ८.८० अंकका साथ कास्य पाईन् ।
भल्ट टेबल तर्फ एपिएफकै रेशिका श्रेष्ठले ८.४५ अंकका साथ स्वर्ण हात पारिन् । पिंकी झाँगले ८.१० अंकका साथ रजत पाईन भने सुनिता निरौलाले ८.० अंकका साथ कास्य पाईन् ।
अलराउन्ड तर्फ पनि एपिएफकै बाहुल्यता रह्यो । एपिएफकै तिनै खेलाडीले जित निकालेको खेलमा रेशिकाले १७.८५अंकका साथ स्वर्ण, पिंकी झागले १७.७ अंकका साथ रजत र सुनिता निरौलाले १६.८ अंक ल्याउंदै कास्य पाईन् । पुरुषका खेलहरु बिहिबार सम्पन्न हुने आयोजकले जनाएका छन् ।
पौडी खेलाडी शिरिषद्वारा खेलाडीलाई सहयोग
पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् ।
उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट लगायतका सामाग्री बुधबार र बिहिबार खेलाडीहरुलाई हस्तान्तरण गरे । सहयोग पाउने खेलाडीहरुमा सुदूरपश्चिम कैलाली टिकापुर राजीपुरकी शिमा चौधरी, पश्चिमाञ्चल गुल्मीकी सिता शेन र नवलपरासी गुठी पर्सौनीकी गुडिया गुप्ता रहेका छन् ।
सातौ राष्ट्रिय खेलकुद अन्तरगत ५ राष्ट्रिय किर्तिमान सहित १६ स्वर्ण पदक प्राप्त गर्दै सातौंमा अर्को किर्तिमान राखेका थिए । यस अघि करिष्मा कार्कीले १२ स्वर्ण पदक प्राप्त गर्दै एकै व्यक्तिले सर्वाधिक स्वर्ण पदक प्राप्त गरेको किर्तिमान थियो ।
पुरुष क्रिकेट
मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको समुह ख को लिगको अन्तिम खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबलाई ९ रनले पराजित गरी समुह उपविजेताको हैसतले सेमिफाइलमा प्रवेश गरेको छ ।
पराजित भए पनि नेट रन रेटमा पुलिस समुह विजेता हुदै सेमिफानमा प्रवेश गरेको छ पुलिस, मध्यमाञ्चल र पश्चिमाञ्चल सवैको समान ४ अंक रहेकोमा पुलिसले ३ खेलमा २ मा विजय र १ मा पराजयले ४ अंक , मध्यमाञ्चलले ३ खेलमा २ मा विजय र १ मा पराजयले ४ अंक र पश्चिमाञ्चलले पनि ३ खेलमा २ मा विजय र १ मा पराजयले ४ अंक रहेको थियो । रन रेटमा पुलिसको ं०दशमलव ९६७, मध्यमाञ्चलको ं०दशमलव ११६ र पश्चिमाञ्चलको –०दशमलव १ रहेको छ । रन रेटमा पछि परेको पश्चिमाञ्चल प्रतियागिताबाट बाहिरीएको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सवै विकेट गमाई १ सय २० रनको योगफल तयार पारेको थियो । जस्मा प्रकाश विष्टले २५ रन, हरीशंकर साहले २२ रन र हसिम अन्सारीले १४ रनको योगदान गरेका थिए ।
पुलिसका ललितसिंह भन्डारीले ३ ओभरमा २० रन दिए ३ विकेट तथा कुशल भुर्तेल र मन्जित श्रेष्ठले २–२ विकेट लिएका थिए ।
जवाफमा १ सय २१ रनको लक्ष्य पछ्याएको पुलिसले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ११ रन बनायोे । जस्मा सुनिल धमलाले ४५ बलमा १ छक्का र ४ चौका गरी ४४ रन र योगेन्द्र कार्कीले २० रनको योगदान दिएका थिए । मध्यमाञ्चलका हरीशंकर साहले ४ ओभरमा १५ रन दिएर २ विकेट तथा शुसील कडेल, रुपेश श्रीवास्तव र हसिम अन्सारीले १–१ विकेट लिएका थिए ।
दोस्रो खेलमा यस अघिनै सेमीफाइनलमा प्रवेश गरीसकेको शसत्र प्रहरी बलको एपिएफिले आर्मीआई २८ रनले पराजित गरी समुह विजेता हुदै सेमीफाइनलमा प्रवेश गरेको छ यता पराजित भएपनि आर्मी उप विजेताका रुपमा सिेमीफाइनलमा पुगे छ । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गमाई १ सय ६५ रन बनाएको छ । जस्मा प्रदिप ऐरीले ४७ बलमा ६ चौका प्रहार गरी ४७ रन, करण केसीले २५ बलमा २ छक्का र ४ चौका प्रहार गरी ४६ रन र कप्तान पारस खडकाले २० रनको योगदान गरेका थिए । आर्मीका सागर पुन र सोमपाल कामीले १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय ६६ रनको लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ५ बलमा सवै विकेट गमाई १ सय ३७ रनमात्र जोड्न सक्यो । जस्मा सागर पुनले २७ बलमा २ छक्का र २ चौका प्रहार गरी ४६ रन र नरेश बढाऐरले ३७ बलमा २ छक्का र ३ चौका प्रहार गरी ४६ रन बनाएका थिए । एपिएफका भुवन कार्कीले ४ ओभरमा २१ रन २० दिएर ३ विकेट र वसन्त रेग्मीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिएका थिए ।
ननिता सम्मानित
आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको महिला मोडल फिजिकको १६५ सेन्टीमिटर उचाइमा नेपाललाई कांस्य दिलाएकी ननिता महर्जन बुधबार नगदसहित सम्मानित भएकी छन् ।
थाइल्यान्डको पटायामा गत नोभेम्बरमा भएको च्याम्पियनसिपमा कांस्य जितेकी ननितालाई नेपाल शारीरिक सुगठत तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, उपाध्यक्षद्वय राजेश उपाध्याय र डिकेश मल्होत्रा तथा कोषाध्यक्ष सागर वगालेले मिलेर १ लाख ५० हजार नगदसहित सम्मान गरेका हुन् ।















प्रतिक्रिया