चितवन, १४ पुस । चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने गिरोह धमाधम प्रहरी फन्दामा पर्न थालेका छन् ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले आफू आउनासाथ शुरुमै चोरी गाडीको कारोबार गर्ने गिरोहको कनेक्सन खोतल्न लागि परेपछि चितवनमा गिरोहरु धमाधम प्रहरी फन्दामा परेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
चितवन, नवलपरासी र हेटौंडामा दैनिक पाँचवटा भन्दा बढि मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले सक्रियता देखाउँदा चोरीकै कारोबार गर्ने गिरोसम्म प्रहरी पुग्न सफल भएको छ ।
तर, कतिपय प्रहरी अधिकारीहरुको चोरी गाडी र मोटरसाइकलको कारोबार देखि तस्करी गर्ने गिरोहसँग कनेक्सन देखेपछि एसपी थापाले हैरानी बेहोर्नु परेको छ । चोरीका सवारी साधनहरु माथि विशेष अप्रेशन चलाएको चितवन प्रहरीले एक महिना अवधिमा मात्र दर्जनौं चोरीका सवारी साधनहरु माथि कारवाही गरेको छ ।
प्रहरीले चोरीका गाडीको इन्जिन र पाटपुर्जा बरामद गर्नुको साथै चोरीका मोटरसाईकलहरु बरामद गरेको छ । प्रहरीको विशेष टोलीले भरतपुरको लोकोमोटिभ मोटर्स वर्कशपमा खानतलासी गर्दा कागज पत्र विनाका गैरकानुनी ढंगले लुकाई राखेको अवस्थामा गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको हो । प्रहरीले सो वर्कसपबाट तीन वटा सेन्ट्रो कार, टाटासुमो र टाटा सफारी गाडीको इन्जिन समेत बरामद गरेको छ ।
प्रहरीले फणिन्द्र भण्डारीको उक्त वर्कशपमा काम गर्ने मुसे भन्ने बच्चन कार्की, देवनारायण श्रेष्ठ, गंगाबहादुर गुरुङलगायतलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, उनीहरु धरौटीमा छुटिसकेका छन् ।
एसपी थापाले भण्डारी र अर्का नाइके दिपु भन्ने दिपेन्द्र श्रेष्ठको गिरोहलाई खोजी भइरहेको यूनाइटेड पोष्टसँग बताए । त्यस्तै, चितवन खैरहनी नगरपालिका–२ बस्ने वर्ष २५ का कपुर विक र रत्ननगर नगरपालिका–८ बकुलहरमा रहेको मनकामना वर्कशप एण्ड रिकण्डीशन पसलबाट दुई थान मोटरसाईकलसहित संचालक नारायणी नगरपालिका १० बस्ने वर्ष २५ का आश्विन श्रेष्ठलाई पक्राउ गरि मुद्दा चलाइएको छ ।
यस्तै, प्रहरीले पुस २ गते भरतपुर–४ स्थित रातो रङको सुजुकी मारुती कारसमेत बरामद गरेको छ । इन्जिन नम्बर FL00N 4427530, Rofl gDa/ MA3EED 81500603379 भएको भारतिय नम्बर प्लेट लगाएको गाडी बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । उक्त गाडीको सम्बन्धमा भन्सार कार्यालयमा पठाइएको पनि प्रहरीले जनाएको छ । चितवन प्रहरीले बा ४० प ६९५६, ना ५ प ४५९५, ग १ प९३०, ना १७ प २८४९, बा ३ प ७९५०, लु ४ प ९८७३ लगायतका २४ वटा चोरीका मोटरसाईकल बरामद गरेको छ ।
अर्कोतिर एसपी थापाले चोरी गाडीको काम गर्ने गिरोहको कनेक्सन को–को सँग छ भनेर पत्ता लगाउन लागिपरेको बेला उनै मातहतका इन्सपेक्टरले भने बरामद गरेको चोरीको मोटरसाइकल नै तस्करीमा आरोप लागेका व्यक्तिलाई चढ्न दिएका छन् ।
उक्त कुरा मिडियामा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयमा इन्सपेक्टर राजेन्द्र थापाले सुटुक्क मोटरसाईकल बुझाएका छन् । दुई महिना अघि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी हवल्दार उपेन्द्र यादब र जवान खगेन्द्र पाण्डेले देबघाटमा वेवारीसे अवस्थामा रहेको दुई सय ५० सिसीको होन्डा कम्पनीको सिबीआर मोटरसाइकल बरामद गरेका थिए ।
तर,चोरीको उक्त बाइक भन्सारमा बुझाउनु पर्नेमा नारायणगढका इन्सपेक्टर थापाले भने प्रहरीमा दलाली गर्ने विवादास्पद व्यक्ति रोमेल गुप्तालाई चढ्न दिएका थिए् । गुप्ताले बा ७९ प ८२७९ नम्वरको नक्कली प्लेट हालेर उक्त बाइक चढ्दै आएका थिए । चितवनमा जो एसपी आए पनि तुरुन्तै प्रभावमा पारी हाल्ने खुबी भएका गुप्ताले लु १ च ५७५८ नम्वरको टाटा सफारी गाडी नारायणगढका इन्सपेक्टर थापा र चितवन जिल्लाका घुमुवालाई चढ्न दिएर प्रहरी संरक्षणमा तस्करीको काम गर्दै आएका छन् ।
नक्कली भारुको कारोबार देखि वियर फ्याक्ट्रीमा केमिकल सप्लाई गर्ने गुप्ताले शुरुमा बद्नाम घुमुवा सिकेन्दर साहको समूहलाई हातमा लिएर चोरीका इलेक्ट्रोनिक्स सामानदेखि कपडासम्म तस्करी गर्दै आएका थिए । तर, साह चितवनबाट हटेपछि पनि गुप्ताको उक्त धन्दा अझै रोकिएको छैन ।
इन्सपेक्टर थापाको संरक्षणमा गुप्ताले नारायणगढमा अवैध रुपमा कपडा र इलेक्ट्रोनिक्स सामानको पसल सञ्चाल गर्दै आएका छन् । उनले भन्सार छली गरेर ल्याएका सामानहरु विक्री गरी इन्सपेक्टर थापालाई कमिसन बुझाउँदै आएका छन् । गैंडाकोटका वियर फ्याट्रीमा गुप्ताले भन्सार छली गरेर ल्याएका केमिकलहरु पनि गुप्ताले सप्लाई गर्छन् ।
त्यसैगरी प्रहरीको ध्यान चोरीका सवारी साधानमा परेका बेला जिल्लाका घुमुवा प्रहरीहरुले भने नयाँ तरिकाबाट असुली गर्न थालेका छन् । केहि दिन अघि भारतबाट आएको डब्लु ४३–०५५७ नम्बरको पर्यटकको गाडी चितवनबाट काठमाडौं जाने क्रममा नारायणगढमा रोकेर हवल्दार रामविलास यादवले पैसा असुलेको घटना पनि सेलाएको छैन ।
कमल नगर गल्लीमा रहेका मासु पसलेबाटसमेत यादवको समूहले एसपी दिपक थापाको नाममा बाख्रीको मासु बेचेको भन्दै २५ हजार उठाएको एक पीडितले बताए । भाञ्जा भन्ने समुला नाम गरेका व्यक्तिबाट यादवले उक्त पैसा उठाएका हुन् । एसपी बसन्त कुँवर चितवनमा छँदा कारबाहीमा परेका यादवले अहिले भने दिउसै नारायणगढमा रहेका ट्रान्सपोर्टबाट पैसा उठाउन थालेका छन् ।














प्रतिक्रिया