१३ कार्तिक २०८३, शुक्रबार

मेडिकल कलेजको हड्तालले सर्वसाधरण मर्कामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ पुस । पटक–पटक विवादमा पर्दै आएको पोखराको गण्डकी मेडिकल कलेज पछिल्लो समयमा चिकित्सकहरुको हड्तालको सामना गरिरहेको छ ।

‘नाम होस् वद्नाम होस् तर गुमनाम नहोस्’ भन्ने उखान जस्तै गण्डकी मेडिकल कलेजले असामान्य ढंगले आफ्नो नामलाई फैलाउने काम गर्दै आएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कहिले चिकित्सक कर्मचारीहरुको संचय कोष काटेर पनि कोषको खातामा दाखिला नै नगरी आफै खर्च गरेर विवादमा तानिने काम गरेको थियो भने कहिले आइ ओएम परिक्षा पास नै नगरिएका विद्यार्थीलाई मोटो रकम लिएर भर्ना गराउने जिम्मा लिएर ३ हप्ता पढाएर निस्कासन गरेका कारण विद्यार्थीहरुलाई पीडा दिने गरे पनि विद्यार्थी सँग लिएको पैसा फिर्ता नगर्ने हर्कत गरेको गण्डकी मेडिकल कलेज व्यवस्थापन कलेज संचालन गर्न असक्षम देखिएको छ ।

पछिल्लो समय करिव २ हप्ता देखि गण्डकी मेडिकल कलेजका चिकित्सक कर्मचारीहरु विभिन्न मागहरु राखेर व्यवस्थापन विरुद्ध आन्दोलित छन् । वर्षौ देखि करारमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले । नियम कानुन अनुसार अवधि पुरा गरेका कर्मचारीहरुलाई स्थायी गरिनुपर्ने, समय सापेक्ष तलव वृद्धि गर्नुपर्ने, समयमै तलव भत्ता पाउनु पर्ने, व्यवस्थापन सुधार गरिनु पर्ने जस्ता माग राखेर हस्पिटलमा आन्दोलन जारी राखेका छन् ।

चिकित्सक र कर्मचारीको हड्तालका कारण गण्डकी मेडिकल कलेजको ओपीडी सेवा ठप्प छ । ओपीडी सेवा नै बन्द गरेर आन्दोलित चिकित्सकहरुको मागको विषयमा कलेज व्यवस्थापन मौनता सांधेर बसेको छ । कलेज व्यवस्थापनको उदासिनता र आन्दोलनकारी चिकित्सकहरुको अडानको सिकार सर्वसाधारण विरामी परेका छन् । उपचारमा आएका विरामीहरुको समस्याका वारेमा सेवा क्षेत्र संचालन गरेका शिक्षण हस्पिटल व्यवस्थापन र चिकित्सक कर्मचारीको गैह्र जिम्मेवारीपनले पराकाष्ठा नाघेको छ । राज्यको निति नियम भित्र छिरेर सेवा संचालन गर्ने प्रतिवद्धता जनाएर संचालित मेडिकल कलेज र करारमा कार्यरत कर्मचारी र चिकित्सकहरुका वारेमा ऐन मौकामै निकास दिन नसक्ने राज्यका नियमक निकाय पनि उत्तिकै जिम्मेवार छन् ।

व्यवस्थापन पक्ष पेलेर जाने मनस्थितिमा रहेको छ । यता चिकित्सक कर्मचारीहरु करार सकिएकाहरुको करार म्याद थप गर्नु पर्ने मुख्य अडानमा देखिन्छन् । गण्डकी मेडिकल कलेजले केहि समय अगाडि करारमा कार्यरत डा. विनम्र वस्नेत र डा. विवेक रञ्जितकारको करार थप नगरेका कारण निस्कासनमा परेको विषयलाई मुख्य मुद्धा वनाएका छन् । निष्कासित दुई चिकित्सकको पुर्नवाहाली गर्नु पर्ने र यसरी करारमा नियुक्ती पाएका हरुलाई जागि वाट निकाल्न रोक लगाउन स्थायी नियुक्तीको माग गरेका छन् ।

यस विषयमा राज्यको निकायले ठोस निकास दिन वार्ताको पहल गरेपनि सफल हुन सकेको छैन । श्रम कार्यालय पोखराका प्रमूख भरतराज काफ्ले करार ऐन अनुसार सेवा प्रवेश गरेकाहरुका वारेमा करार ऐन नै आकिर्षत हुने वताउंछन् । व्यवस्थापनले करार अवधि तोकेर सेवा लिने संझौता गरेको हकमा सोही अनुसार हुने काफ्लेले वताए । आन्दोलनकारीले माग गरेको २४० दिन सेवा गरेपछि स्वतः स्थायी हुन पाउने कानूनी व्यवस्था करार सेवा ऐनमा नहुने प्रष्ट पार्दै उनले भने–‘कलेज व्यवस्थापनले त्रिविविको सेवा सर्त पालना गर्नु र कर्मचारी कामदार पक्षले पनि ऐन वमोजिम सेवा सर्त मान्नु पर्छ ।’

गण्डकी मेडिकल कलेज त्रिविविको सम्वन्धन प्राप्त आंगिक कलेज हो । उसले त्रिविविको निति नियमानुसार सबै प्रकारको सेवा सर्त पालना र संचालन गर्नु पर्छ । विद्यार्थीसँग मोटो शिक्षण शुल्क लिने तर, योग्य प्राध्यापकलाई रिझाउन सक्ने सेवा सुविधा नदिने वरु कागजी प्रकृया मिलाउन ‘खडे वावा’ तोकेर सेवा दिएको दावी गर्ने प्रवृत्तिका वारेमा सुक्ष्म छानविन जरुरी छ ।