२९ आश्विन २०८३, बिहिबार

बागलुङमा कुन-कुन जलविद्युत आयोजना बन्दैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIJULI_electricity

बागलुङ, २५ भदौ । पश्चिमाञ्चलका सात जिल्लामा निर्माण गरिने १३ नयाँ लघुजलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भएको छ ।

बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, पाल्पा, गुल्मी र कास्की जिल्लामा ती आयोजना बनाउने तयारी अघि बढेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत ती आयोजना निर्माण हुने जनाइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सम्बन्धित जिविस, गाविस र स्थानीयको समेत लगानी र जनश्रमदानमा आयोजना निर्माण गरिने कार्यक्रमको क्षेत्रीय सेवा केन्द्र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले जनाएको छ ।

सेवा केन्द्रअन्तर्गत पर्ने पाँचवटै जिल्लामा आवश्यक स्रोतसाधन जुटाएर आयोजनाको काम अघि बढाइने डिसिआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारीले बताउनुभयो । अनुदान स्वीकृतिपछि निर्माण तथा जडान कम्पनीको लागि बोलपत्र आह्वान गरेको वर्षदिनभित्रै आयोजना सम्पन्न हुने उहाँको भनाइ छ ।

पूर्व सम्भाव्यता अध्ययनले आयोजना स्थलको भौगोलिक र वातावरणीय अवस्थिति किटान गरेपछि विस्तृत सम्भाव्यता अध्ययन भएको हो ।

आयोजनाको लागत निकाल्ने, प्रभावित क्षेत्र पत्ता लगाउने, स्थान छनोट गर्ने, घरधुरी तोक्ने, संरचना निर्माणको ढाँचा र अवस्थिति तयार गर्नेलगायतका प्राविधिक, आर्थिक र सामाजिक अध्ययन भइसकेको मिनिग्रिड इन्जिनियर कृष्णप्रसाद निरौलाले बताउनुभयो । आयोजना व्यवस्थापन र उपभोक्ताले कुल लागतको ७५ प्रतिशत स्रोत देखाएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदानको प्रक्रिया अघि बढाउने गरेको छ ।

“तेह्र वटै आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ, स्थानीय स्रोत साधन र लगानीको प्रत्याभूति हुनेबित्तिकै काम सुरु हुन्छ” इन्जिनियर निरौलाले भन्नुभयो ।

सम्भाव्यता अध्ययन भएका आयोजनामा बागलुङमा १६५ किलोवाटको दरमखोला तेस्रो, ३३ किलोवाटको नेपाने देउराली, ६९ किलोवाटको भीमघाटखोला, ३६० किलोवाटको तमानखोला त्यस्तै पर्वतमा १५ दशमलव ३ किलोवाटको लुङ्दीखोला, म्याग्दीमा ३० किलोवाटको धोस्तेखोर खोला, मुस्ताङमा ५०० किलोवाटको छोसेर खोला, गुल्मीमा १४ किलोवाटको निस्तीखोला पहिलो र १० दशमलव ०५ को निस्तीखोला दोस्रोको विस्तृत सम्भाव्यता अध्ययन गरिएको हो ।

त्यस्तै पाल्पामा १२ किलोवाटको कुन्दरखोला, २६ किलोवाटको बाउदीखोला र कास्कीमा ६३ दशमलव १ किलोवाटको मोदीखोला लघुजलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भएको हो । यी सबै आयोजनाबाट कुल एक हजार २७२ दशमलव १९ किलोवाट विद्युत् उत्पादन हुनेछ भने तीन हजार २५४ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

आगामी तीनवर्षभित्र दुई हजार ५०० किलोवाट विद्युत् उत्पादन गर्ने केन्द्रको लक्ष्यअनुसार नै यी आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन भएको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

आयोजनाको सम्भाव्यता अध्ययन भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै गर्ने गरेको छ । आयोजना जडानको लागि सर्वेक्षण, डिजाइन र इस्टिमेट पनि केन्द्रबाटै हुने गरेको छ । सम्भाव्यता अध्ययन भएकाबाहेक चालु आवभित्र ३६५ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ११ वटा आयोजना निर्माणको चरणमा छन् । रासस