काठमाडौं, १४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई विश्वास गरेर आफू ठूलो धोकामा परेको आभास हुन थालेको बताउने गरेका छन् ।
निधिले भारतको इशारामा आफूमाथि ठूलो विश्वासघात गरेको थाहा पाएपछि निधि र देउवावीच आजकाल अलिक ठाकठुक हुने गरेको स्रोतको भनाई छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
निधिले आफूलाई कांग्रेसको सभापति र प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने गरेका छन् । यो कुराको चाल पाएपछि देउवा सशंकित भएका हुन् ।
निधिले आफू निकटका नेताहरूलाई पुल्चोकस्थित आफ्नै सरकारी निवासमा बोलाएर सहयोग गर्न दबाब दिने गरेका हुन् । स्रोतका अनुसार निधिले ‘कांग्रेसको तर्फबाट अबको प्रधानमन्त्री म हुँ, सभापतिको बलियो उम्मेदवार पनि हुँ’ भन्दै दम्भ देखाउन थालेका छन् ।
निधिको यो कुरा चाल पाएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूह देउवा गुटमा आफ्नो स्थान बनाउन सक्रिय भएको छ । सिटौला समूहले हरेक ठाउँमा आफ्नो भाग देउवासँग खोज्ने गरेको छ । देउवाको कमजोरी थाहा पाएको सिटौला समूह निधिकै कारण बलियो हुँदै आएको हो ।
केन्द्रीय कार्यसमितिमा कमजोर रहेका सभापति देउवाले निधिकै कारण केन्द्रिय सदस्य खुमबहादुर खड्कालाई पनि रुष्ट बनाएका छन् ।
उपसभापतिमा मनोनीत गर्ने आश्वासन दिएर निधिको दबाबमा ब्याक भएका देउवालाई खड्काले ठाउँ–ठाउँमा असहयोग गर्ने पक्का भइसकेको छ ।
हिन्दू राष्ट्रको नारा लिएर आएका खड्काले महामन्त्री डा.शशांक कोइरालालाई सहयोग गर्ने संकेत गरिसकेका छन् । खड्काले औपचारिक रुपमा देउवालाई असहयोग गर्न छाडे भने बुढानिलकण्ठ समूह ठूलो संकटमा पर्नेछ ।
खड्काले कुपण्डोलमा सम्पर्क कार्यालय खोलेर आफ्नो हिन्दू अभियानलाई जोडतोडले अगाडि बढाइरहेका छन् । उनले देउवालाई पनि आफ्नो एजेण्डामा ल्याएर कांग्रेसलाई मुलधारको राजनीतिमा ल्याउन कस्सिएको स्रोतको भनाइ छ ।
मधेसमा पनि निधिको खासै प्रभाव छैन । कमजोर निधिलाई मधेसी नेताहरू कसैले पनि मन पराउँदैनन् । ‘विमलेन्द्र निधिको एकलकाटे प्रवृत्तिले धेरै मधेसी नेताहरू रुष्ट छन्’, स्रोतले भन्यो–‘गृहमन्त्रालयमा पनि आफ्ना पकेटका व्यक्तिहरूलाई मात्रै इन्ट्री दिने गरिएको छ ।’














प्रतिक्रिया