लमजुङ, १२ पुस । रोजगारीको सिलसिलामा हङकङमा बसोबास गर्दै आएका लमजुङेले बेंसीसहरको सहजी खेल मैदान निर्माणका लागि ८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङमार्फत सहजी खेल मैदान बिस्तार तथा ब्यवस्थापन समितिलाई उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको छ ।
लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज गुरुङ, उपाध्यक्ष श्याम गुरुङ लगायतका पदाधिकारीले सहजी खेल मैदान बिस्तार तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेत र त्रिवेणी युवा क्लवका अध्यक्ष छविन्द्र गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै, लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङद्वारा स्थापित अक्षयकोषका लागि १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
सेवा समितिका पदाधिकारीले सम्पर्क समिति लमजुङका संरक्षक एवं सांसद जमीन्द्रमान घले, सम्पर्क समितिका सदस्य एवं जिल्ला विकास समितिका कार्यक्रम संयोजक मेघेन्द्र पोखरेल, सदस्य एवं रेडियो मर्स्याङ्दीकी स्टेशन म्यानेजर मिना गुरुङलाई १५ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।
सेवा समितिको सहयोगमा सम्पर्क समितिले स्थापना गरेको अक्षयकोषमा यसअघि २५ लाख रुपैयाँ रहेकोमा अब ४० लाख पुगेको सम्पर्क समितिका सदस्य गुरुङले बताइन् । संरक्षक एवं सांसद घलेले अक्षयकोषको रकम १ करोड रुपैयाँ पुर्याइने बताए ।
सेवा समितिका अध्यक्ष सरोजले मर्स्याङ्दी साँझ कार्यक्रमबाट उठाइएको रकम सम्पर्क समितिले स्थापना गरेको कोषका लागि दिइएको र गणेश पाण्डेद्वारा निर्देशित भाग्यले बाँचेकाहरु बृत्तचित्रको प्रदर्शनको क्रममा उठाइएको रकम सहजी खेल मैदान बिस्तार तथा ब्यवस्थापनको लागि प्रदान गरिएको बताए ।
सम्पर्क समितिका सदस्य मिनाका अनुसार अक्षयकोषको ब्याजबाट शिक्षा, स्वास्थ्य, खेलकुद र विपद्को क्षेत्रमा काम गर्दै आइएको छ ।
















प्रतिक्रिया