काठमाडौं, १२ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडको पुरुषमा मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलामा नेपाल आर्मीकी कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् । यसअघि दुवैले १ सय मिटर दौडमा पनि पहिलो स्थान हात पारेका थिए ।
सुनसरीको इटहरी रंगशालामा निर्धारित दूरी तय गर्न यामले २१.७० सेकेन्ड समय खर्चे । कृष्णाले २६.९० सेकेन्ड समय लगाइन् ।
महिलाको ८ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराई पहिलो भइन् । सरस्वतीले २ मिनेट १९.४२ सेकेन्ड समय लगाइन् । सोही स्पर्धाको पुरुषमा २ मिनेट ०२.४७ सेकेन्ड समयसाथ आर्मीका सोमबहादुर कुमाल शीर्ष स्थानमा रहे ।
महिला ४ सय मिटर हर्डल्समा आर्मीकी दुर्गा देवकोटा पहिलो भइन् । दुर्गाले १ मिनेट १०.०२ सेकेन्ड समय खर्चिन् । महिलाको ट्रिपलजम्पमा प्रहरीकी केशरी चौधरी ११.६७ मिटर जम्प गर्दै पहिलो भइन् । उक्त स्पर्धाको पुरुषमा आर्मीका डिल्ली खत्री १४.०४ मिटर जम्प लगाउदै पहिलो भए ।
डिस्कस थ्रोको पुरुषमा आर्मीका विनोद राई पहिलो भए । उनले ३५.४० मिटर टाढा फाले । त्यसै स्पर्धाको महिलामा आर्मीकी अमृता महतो ३४.७३ मिटर साथ पहिलो भइन् ।
टेबल टेनिस
टेबल टेनिस तर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्ण कब्जा गरे ।
एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापा मगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए । टेबल टेनिस तर्फका पुरुष एकल र महिला एकलका लिगका खेलहरु जारी रहेका छन् ।
सुनसरीको इनरुवामा भएको खोखोको पुरुष र महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ ।
पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई १०–६ ले पराजित ग-यो । सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ११–१० ले हराउदै तेश्रो भयो ।
महिलाको उपाधि भिडन्तमा आर्मीले मध्यपश्चिमाञ्चलको चुनौती ५–३ ले समाप्त पा¥यो । महिलामा पनि तेश्रो स्थानमा सीमित भएको सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १४–१२ ले पाखा लगायो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
बृहत खेलकुदमा खोखो दोश्रो पटक समावेश भएको हो । त्यसअघि काठमाडौंमा भएको पाँचौं राष्ट्रियमा खोखोले पहिलो पटक पैवेश पाएको थियो । भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा खोखोको पुरुष र महिला दुवै टिमले कांस्य जितेको थियो ।
बास्केटबल : मध्यमाञ्चल पहिलो
बास्केटबलको महिलातर्फ मध्यमाञ्चल च्याम्पियन बनेको छ । धरानमा भएको फाइनलमा राष्ट्रिय टिमकी कप्तान सदीना श्रेष्ठको नेतृत्वमा रहेको मध्यमाञ्चलले विभागीय टोली आर्मीलाई ४०–२७ ले पराजित ग-यो । मध्यमाञ्चलको जितमा एलिना गुरुङले १३ अंक योगदान गरिन् । मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ ले सहजै हराउदै तेश्रो भयो ।
पुरुषमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई १०६–५४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
कराते : मुकुन्द्रद्वारा राष्ट्रिय खेलकुदमा ह्याट्रिक
सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन् । उनले शहिद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोला संग आफुलाई बराबरीमा उभ्याएका छन् । मुकुन्द्रले पाँचौ, छैटौं र सातौंमा लगातार स्वर्ण पदक जित्न सफल भएका छन् ।
यस स्पर्धामा सुदूरपश्चिमका मो.शेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक पाए ।
पुरुषको ५० केजी तौलमा सशस्त्रका विजय लामाले स्वर्ण जिते । लामाले मध्यमाञ्चलका नवराज श्रेष्ठलाई रजतमा खुम्च्याए ।
प्रहरीका सोनाम लामा र सुदूरपश्चिमका आकास पालले कास्य पाए । ५५ केजी तौलमा नेपाल प्रहरीका सोनाम लामाले मध्यमाञ्चलका राजीव पुडासैनीलाई पछि पार्दै स्वर्णमा नाम लेखाए । तेश्रो स्थानमा सूपका गणेश बि.क. र सशस्त्रका लक्ष्मण तामाङ्ग रहे ।
पुरुषकै ६० केजी तौलमा नेपाल प्रहरीका रविन्द्र कार्कीले स्वर्ण पाए । एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्तिमगरले कास्य पाए । ७५ केजीमा आर्मीका सुभाष घतानेले पुलिसका गंगाराम कसुवारलाई पाखा लगाउंर्द स्वर्ण प्राप्त गरे । एपिएफका विरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक पाए ।
यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल प्रहरीका दिवश श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते । तेश्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङ्ग रहे ।
महिलाको ५० केजीमा एपिएफकी अनु अधिकारीले आर्मीकी मिस्ली श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जित्न सफल भईन् । पूर्वाञ्चलकी जिना सुब्बा र मध्यपश्चिमकी मुस्कान शाहीले कास्य पाए । महिलाको ५५ केजी तौलमा एपिएफकी मनिषा चौधरीले स्वर्ण हात पारिन् ।
उनले फाइनलमा पूर्वाञ्चलकी रमिता थापालाई रजतमा खुम्चिन बाध्य पारिन् । पश्चिमाञ्चलकी पुजा दर्नाल र पुलिसकी मलिका थापाले कास्य पाए ।
६१केजी तौलमा एपिएफकी सपना लामाले पुलिसकी सुनिता महर्जनलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरिन् । पश्चिमाञ्चलकी अनु गुरुङ्ग र मध्यपश्चिमकी प्रतिक्षा वि.सी.ले कास्यमा चित्त बुझाए । महिलाकै ६८ केजी मुनिको तौलमा पुलिसकी विभुषा थापाले आफ्नै क्लबकी अनुपमा थापालाई हराउंदै स्वर्ण जितिन् ।
तेश्रो स्थानमा पूर्वाञ्चलकी मिसदोना राई र मध्यमाञ्चलकी पुजा खनाल भए । महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले बाजी मारिन् । उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् । मध्यमाञ्चलकी रोजिता रंजित र पुलिसकी मनिता मोक्तानले कास्य पाए ।
विभागिय टोलीको बाहुल्यता रहेको करातेका सम्पूर्ण खेल सम्पन्न भएका छन् । १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्रको एपिएफले ८, आर्मीले ५ र नेपाल प्रहरीले ४ स्वर्ण पदक प्राप्त गरेका छन् ।
सेपाकताक्रोे : पश्चिमाञ्चललाई स्वर्ण
सेपाकताक्रोमा अघिल्लो दिन आइतबार महिला डबल्स इभेन्टमा स्वर्ण जितेको पश्चिमाञ्चलले सोमबार सोही स्पर्धाको पुरुषमा पनि स्वर्ण जित्न सफल भएको छ ।
धरानमा भएको फाइनलमा पश्चिमाञ्चलले आर्मीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । मध्यमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।
पुरुष टिम इभेन्टमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चल तथा आर्मीले सुदूरपश्चिमाञ्चलसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सेपाकताक्रो मंगलबार सम्पन्न हुँदैछ ।
पुरुष फुटबल : पुलिस र मध्यमाञ्चल सेमीफाइनलमा
पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सेमीफाइनल यात्रा तय गरेका छन् ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा समुह ‘ख’बाट पुलिस समुह विजेता र मध्यमाञ्चल उपविजेता बन्दै सेमीफाइनल पुगेको हो ।
सोमबारको पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–१ गोलअन्तरले हराए पछि दुवैको समान ६ अंक भए पनि हेड टु हेडको आधारमा दुवै टोली सेमीफाइनल पुगेको हो ।
लिग चरणको ३ खेलमध्ये दुवै टोली २ खेलमा जित र एक खेल हार व्यहोरेको थियो । सोमबार मध्यमाञ्चललाई हराएर पुलिसले ६ अंक बटुले पनि सेमीफाइनल पुग्न पुर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रबीच सोमबार भएको दोस्रो खेलको नजितासम्म पर्खनु परेको थियो ।
दोस्रो खेलमा पुर्वाञ्चल क्षेत्रले पश्चिमाञ्चललाई ३–१ ले हराए पछि मात्र पुलिस हेड टु हेडको आधारमा समुह विजेता हुदै सेमीफाइनल पुग्न सफल भयो ।
पहिलो खेलमा पुलिसका कप्तान जुमानु राईले पहिलो हाफको २१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पुलिसका रवि पासवानलाई डिबक्सभित्र लडाएपछि पुलिसले पेनाल्टी मौका पाउदा जुमानुले गोल गरे ।
यस्तै, दोस्रो हाफको २९ औं मिनेटमा मध्यमाञ्चलका सञ्जीव कार्कीले आत्मघाती गोल गरे भने दोस्रो हाफको ४३ औं मिनेटमा राम वाग्लेले तेस्रो गोल गर्दै पुलिसको जित सुनिश्चित गरे । मध्यमाञ्चलको लागि दोस्रो हाफको २३ औं मिनेटमा दिनेश हेन्जनले एक मात्र गोल गरे ।
दोस्रो खेलमा पुर्वाञ्चलले पश्चिमाञ्चल क्षेत्रलाई ३–१ ले हरायो । पुर्वाञ्चलको लागि निसान लिम्बुले २ र सुशिल कुमार यादवले एक गोल गरेका थिए । पहिलो हाफको ५ मिनेटमा निसानले पुर्वको लागि पहिलो गोल गरे भने २६ औं मिनेटमा सुसिलले दोस्रो गोल गरेका थिए ।
पहिलो हाफको ४१ औं मिनेटमा निसानले तेस्रो गोल गरे । पश्चिमाञ्चलका कप्तान अनिल गुरुङले पहिलो हाफको २० मिनेट एक मात्र सान्त्वना गोल गरे । लिग चरणको ३ खेलमध्ये एकमा मात्र जित पाएको पुर्वाञ्चल र पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा मंगलबार सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्मीबीच पहिलो खेल हुदैछ भने दोस्रो खेल सुदुरपश्चिमाञ्चल क्षेत्र र मध्यपश्चिम क्षेत्रबीच हुनेछ ।
बुद्धिचाल : भुपेन्द्र र मदनकृष्णको संयुक्त अग्रता
सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी २० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा मध्यमाञ्चलका मदनकृष्ण कायस्थले संयुक्त अग्रता बनाएका छन् ।
प्रतियोगिता अन्र्तगत सोमबार चौथो तथा पाचौं चरणका खेल सम्पन्न भए । वर्तमान राष्ट्रिय विजेता भुपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुँयाललाई हराए भने पाचौंमा पूर्वाञ्चलका अनरेटेड परशुराम राईमाथि जीत हात पारे । त्यसैगरी चौथो चरणको खेलमा मध्माञ्चलमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै हौसिएका मदनले पाँचौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई समेत हार चखाए । पाँचौ चरणको समाप्तिमा भुपेन्द्र र मदनको समान ४ दशमलब ५ अंक भएको छ ।
सोमबारका दुबै खेल जितेका नेपाल आर्मीका हिमाल लामाको चार अंक भएको छ । हिमालले चौथो तथा पाचौं चरणमा क्रमशः पूर्वाञ्चलका प्रकाश नेपाल तथा सिंगेश्वर दासमाथि जीत हात पारे ।
नेपाल आर्मीका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितीज भण्डारी, रिजेन्द्र राजभण्डारी तथा नविन तण्डुकार र पूर्वाञ्चलका परशुराम राई समान ३ दशमलब ५ अंकमा रहेका छन् ।
एपिएफ क्लबका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित तथा राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिंगेश्वर दास तथा सुमन श्रेष्ठ, सुदुरपश्चिमाञ्चलका प्रकाश ओझा तथा मोहन प्रसाद भट्ट समान तीन–तीन अंकमा रहेका छन् ।
महिलातर्फ नेपाल आर्मीका सिन्दिरा जोशी तथा मोनालिसा खम्बुको संयुक्त अग्रता रहेको छ । सिन्दिरा र मोनालिसा बिच पाचौं चरणमा भएको खेल बराबरीमा टुंगिएपछि दुबैको ४ दशमलब ५ अंक भएको छ । यसअघि चौथो चरणमा सिन्दिराले आफ्नै क्लबकी वुमन फिडेमास्टर सुजना लोहनी तथा मोनालीसाले मध्यमाञ्चलकी सविना श्रेष्ठलाई पराजीत गरेका हुन् ।
एपीएफ क्लबकी शान्ता थापा, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, पूर्वाञ्चलकी खुस्बु थापा समान चार–चार अंकमा रहेका छन् । शान्ताले चौथो चरणमा आर्मीकी वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ तथा पाचौं चरणमा मध्यमाञ्चलकी सविना श्रेष्ठमाथि जीत हात पारिन ।
त्यसैगरी पूर्णिमाले चौथो तथा पाचौं चरणमा क्रमशः पूर्वाञ्चलकी कृपा अधिकारी तथा आश्मा थापालाई हराईन । खुस्बु थापाले चौथोमा मध्यमाञ्चलकी संगीता जयसवाल र पाचौंमा पश्चिमाञ्चलकी नमन सेढाईंलाई पराजीत गरिन ।
नेपाल आर्मीका सुजना लोहनी तथा सुरुची थिङ, मध्यमाञ्चलका सबिना श्रेष्ठ तथा बीना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी तथा आश्मा थापा, पश्चिमाञ्चलका अञ्जु शर्मा समान तीन–तीन अंकमा रहेका छन् ।
त्यसैगरी पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलब ५ अंक रहेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार छैठौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको क्रिकेट प्रतियोगिताको आज भएको खेलमा आर्मी र पुलिस विजयी भएका छन । बैजनाथपुरको खेल मैदानमा जारी पहिलो खेलमा आर्मीले मध्यपश्मिाञ्चललाई ३० रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ६ विकेट गमाई १ सय ५७ रनको योगफल तयार पारेको थियो । आर्मिका लागि विनोद भण्डारीले २३ बलमा ८ छक्का र ३ चौका प्रहार गरी ६७ रन बनाएका थिए ।
खोलमा अनिल मण्डलले ४९ बलमा ४ चौका प्रहार गरी ४१ रनको योगदान गरेका थिए । त्यस्तै राजेश पुलामिले ४७ रनको योगदान गरे । मध्यपश्मिाञ्चलका सिद्धान्तराज सहनी र ललित प्याकुरेलले समान २–२ विकेट लिएका थिए ।
सहनीले ४ ओभरमा १ मेडन राखदै ९ रन दिएका थिए भने प्याकुरेलले त्यतीनै ओभरमा १६ रन दिएका थिए । १ सय ५८ रनको विजय लक्ष्य सहित मैदानमा उत्रिएको मध्यपश्मिाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २७ रनमात्र जोड्न सक्यो ।
उसका लागि प्रज्वल शाहिले २९,राजविर सिंह, १९ र प्रनित थापाले १५ रनको योगदान गरेपनि अन्य व्याटस्म्यानले दोहोरो अंंक बटुल्न सकेनन् ।
एपिएफका विक्रम सोवले ४ ओभरमा २८ रन दिएर ३, सागर पुन र अविनाश कर्णले समान २/२ विकेट लिएका थिए । दोस्रो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई ५० रनकोे अन्तरले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गमाई १ सय ४४ रन बनाएको छ । पुलिसका लागि आरीफ शेखले ३० बलमा १ छक्का र ४ चौका प्रहार गरि ४० रन र सुनिल धमलाले १८ बलमा ३ चौका प्रहार गर्दै २२ बनाए ।
पूर्वाञ्चलका फिरदोस अन्सारीले ४ ओभरमा १७ रन दिएर ४ विकेट र मुकुन्द यादवले ३ ओभरमा १२ रन दिएर २ विकेट लिएका थिए । जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पूर्वाञ्चलले निर्धारित ओभरमा सवै विकेट गमाई ९४ रनमात्र जोड्न सक्यो ।
पुर्वाञ्चलका लागि सन्दिप ढुंगानाले २९,मुकुन्द यादबले २८ र सुन्नी पुनले १३ रन बनाएका थिए । पुलिसका लागि रामनरेश गिरी र ललितसिंह भण्डारीले ३-३ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत भोलि हुने दुइ खेलमा मध्य पश्चिमाञ्चल तथा सुदुर पश्चिमाञ्चल र पश्चिमाञ्चल तथा पुर्वाञ्चल विकासक्षेत्र विच प्रतिस्पर्धा हुनेछ ।
फुल कन्ट्राक्ट कराते
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको फुल कन्ट्राक्ट कराते प्रतियोगितामा आज भएको फाइनल खेलमा सशस्त्र प्रहरीले ३ स्वर्ण हात पार्दै अग्रणी स्थान ओगटेको छ ।
धरान १६ स्थित सेमी कबर्डहलमा सम्पन्न भएको प्रतियोगितामा विभागिय टिम सशस्त्र प्रहरी तर्फबाट पुरुष खुल्ला तर्फ रुपक नेपाली ५५ केजी तौल समुह मुनि विकेश महर्जन र ५० केजी तौल मुनि समुहका संजय राईले स्वर्ण पदक हात पारेका छन् भने ५० केजी तौल मुनिको महिला समुह र ४० केजी मुनि समुहको पुरुष तर्फ गरि २ कास्य पदक प्राप्त गरेको छ ।
त्यसै गरि मध्यमाञ्चल १ स्वर्ण सहित १ रजत र ३ कास्य, पश्चिमाञ्चल १ स्वर्ण सहित २ रजत र १ कास्य, सुदुरपश्चिमाञ्चल २ रजत र १ कास्य, मध्यपश्चिमाञ्चल १ रजत र ४ कास्य, विभागिय टोलि नेपाल प्रहरी १ स्वर्ण सहित १ रजत र २ कास्य, नेपाली सेनाले १ स्वर्ण सहित १ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।
भारोत्तोलन : कमला र कमलको राष्ट्रिय कीर्तिमान
सप्तरीको राजविराजमा जारी भारोत्तोलनको महिला ५८ केजीमा आर्मीकी कमला श्रेष्ठ र पुरुषको ८५ केजीमा आर्मीकै कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १४५ केजी भार वहन गर्दै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् ।
स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोश्रो राष्ट्रिय महिला भारोत्तोलनमा बनाएको ६५ केजीको कीर्तिमान भंग गरिन् ।
त्यस्तै कुलमा पनि कमलाले दोश्रो राष्ट्रियमै झन्टले नै बनाएको १४२ केजीको कीर्तिमान तोडिन् । क्लिन एन्ड जर्कमा भने कमलाले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा भएको प्रथम शालिमार भारोत्तोलनमा बनाएको ७८ केजीको कीर्तिमान भंग गरेकी हुन् ।
१० औं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ केजी भार वहन गर्दै श्रीलंकामा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) मा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ केजीको कीर्तिमान भंग गरे । उनले स्न्याचमा १०५ केजीसहित कुल २६० केजी भार उचाले ।
पुरुषको ६९ केजीमा मध्यपश्चिमाञ्चलका प्रकाश केसी पहिलो भए । उनले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ गरी जम्मा २२१ केजी भार वहन गरे । पुरुष ७७ केजीको स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १२० गरी जम्मा २०५ केजी तौल उठाउदै आर्मीका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते ।
महिलाको ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्यालले शीर्ष स्थान कब्जा गरिन् । जुनुले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० गरी जम्मा १४० केजी भार उठाइन् ।
कबड्डी
सातौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको कबड्डी प्रतियोगितामा नेपाल पुलिस, मध्यमाञ्चल, आर्मी र पश्चिमाञ्चल महिला तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यस्तै पुरुष तर्फ सेना र सशस्त्रले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् भने पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलको सामना गर्ने भएका छन् ।
लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा महिला तर्फ ८ र पुरुष तर्फ ७ टिमको सहभागित रहेको थियो । प्रतियोगिताको सेमिफाइनलका खेल मंगलबार हुने छ ।
स्क्वास
सातौं राष्ट्यि खेलकुद २०७३ को स्क्वास खेल आज २०७३ पौष १२ गते भएको स्क्वास खेलमा त्रिभुवन आर्मी क्लब पहिलो भएको छ । अरहान्त केशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दिपक थापा मगरको टोलीले प्रथम मध्यमाञ्चलका सुदिप वहादर सिंह, प्रज्वल प्रकाश प्रधान, विनोद रत्न शाक्य र बिक्रम मगरलाई पराजित गरे ।
नेपाल प्रहरीका रत्न काजी शाक्य, काशिराम भण्डारी, अनिल शाक्य र उमिद शाक्य तथा पुर्वाञ्चल बिर बहादुर नेपाल, निशान्त अग्रवाल, अश्विनी कुमार तोदी र जितेन्द्र बैद तेस्रो स्थानमा रहे ।
सफ्ट टेनिस : प्रदीप र मेघालाई स्वर्ण
सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका प्रदीप खत्रीले मध्यपश्चिमाञ्चलका अभिषेक झालाई ४–० ले पराजित गर्दै स्वर्ण जिते । महिलाको सिंगल्सको फाइनलमा मध्यपश्चिमाञ्चलकी मेघा श्रेष्ठले मध्यमाञ्चलकी एलिजा रन्जितलाई ४–२ ले हराउदै पहिलो भइन् । महिला डबल्सको उपाधि मध्यमाञ्चलका चन्द्रमाया राई र एलिजा रन्जितको जोडीले जिते ।
तेक्वान्दो : आर्मीलाई ४ स्वर्ण
तेक्वान्दोको तेश्रो दिन सोमबार ४ स्वर्णको छिनोफानो हुँदा चारै स्वर्ण आर्मीले कब्जा गरेको छ । पुरुष ५८ केजीमुनि सागर गुबाजुले प्रहरीका रञ्जन श्रेष्ठ, पुरुष ८७ केजीमुनि सक्षम कार्कीले प्रहरीका अनुज पुजारी, महिला ६७ केजीमुनि प्रतिज्ञा भण्डारीले पश्चिमाञ्चलकी ममता गर्बुजा तथा महिला ७३ केजीमाथि निशा रावलले प्रहरीकी राधिका श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पारे ।
उसु
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धरानमा सञ्चालन भएको उस्सु अन्र्ततको सोमबारे थाउलो विधाको पुरुष छाङ्गछवान मा ९.२० अंक ल्याउदै विभागीय टिम नेपाली सेनाका विजय थापा सिंजालीले स्वर्ण जितेका छन् । आइबारै भएको सोमबारे थाउलो विधाको महिला छाङ्गछावानमा ८.२५ अंक जोड्दै शशस्त्रकी सुस्मिता तामाङले स्वर्ण जितेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरुष छाङ्गछ्वान मा ९ अंक ल्याउदै मध्यमाञ्चलका कुमार सिंजाली मगर रजत र ७.८० अंक जोडदै कृजो आलेमगर कास्य पदक हात पारेका छन् । महिलातर्फ भने मध्याञ्चलकी जुना स्याङ्बो लामाले ७ अंक जोड्दै रजत तथा सुदुरपश्चिमाञ्चलकी आलिसा खातीले ६.८० अंक जोड्दै कास्य पदक हात पारेकी छन् ।
उसु अन्र्तगतको सोमबार भएको पुरुष थायची छ्वान अलराउण्डमा नेपाली सेनाका हरी प्रसाद गोले ले स्वर्ण जितेका छन् भने पुर्वाञ्चलका पासाङ शेर्पाले रजत र शसस्त्र प्रहरीका विवेक श्रेष्ठले कास्य पदक हात पारेका छन् ।
त्यस्तै महिला थायची छ्वान अलराउण्डमा पनि नेपाली सेनाकी सविता राइ ले स्वर्ण जितिन् भने सेनाकै करण मर्हजनले रजत हात पर्दा सुदुर पश्चिमकी सम्झना चौधरीले कास्य पाइन् ।
सोमबारै भएको पुरुष ताव सु कुन्सु अलराण्डमा मध्यामाञ्चलका राजु लामाले स्वर्ण हात पारेका छन् भने नेपाल प्रहरीका राजिब तामाङले रजत जितेका छन् । कास्य भने नेपाली सेनाका विश्व बुढा मगरले जितेका छन् ।
यस्तै उस्सुतफकै सेन्सो विद्याको खेलमा पुरुषतर्फका सम्पूर्ण सेमी फाइनल खेलहरु समाप्त भएका छन् । पुरुष तर्फ को फाइनलमा ४८ केजी पुरुषतर्फ सशस्त्र प्रहरीका अशोक राई र गणेश लिम्बु फाइनलमा भिड्ने भएका छन् ।
यसैगरी ५२ केजी तौल समूहमा मध्य पश्चिमा ञ्चलका अरुण बस्नेत र मध्याञ्चलका कान्ति लामा भिड्ने भएका छन् भने ५६ केजी तौल समूहमा नेपाली सेनाका राजेश चौधरी र सशस्त्र प्रहरीका अमर सुनार, ६० केजी तौल समूहमा सशस्त्रका मंगलसिंह थारु र नेपाली सेनाका पदम राई फाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
यस्तै ६५ केजी तौल समूहमा सशस्त्रका सञ्जिव महर्जन र पूर्वाञ्चलका उपेन्द्र मारिकबीच प्रतिष्पर्धा हुने भएका छ । यसैगरी ७० केजी तौल समूहमा नेपाली सेनाका चित्रसिंह ठकुरी र सशस्त्रका वीरेन्द्रसिंह कोतारी, ७५ केजी तौल समूहमा प्रहरीका प्रेमचन्द्र दर्लामी र सुदुरपश्चिमका कालुसिंह कार्की, ८० केजी तौल समूहमा पश्चिमाञ्चलका अनुप खड्का र नेपाली सेनाका र रामचन्द्र बराल र ८५ केजी तौल समूहमा नेपाली सेनाका किरण साउत र शसस्त्रका तेजबहादुर पल्लीले फाइनलमा भिड्ने पक्का भएको छ ।
त्यसै गरि अहिलाहरुको फाइनल खेलका ४८ केजी तौल समुहमा सुदुर पश्चिमाञ्चलकी एलिना चौधरी र मध्यमाञ्चलकी शोभा लामा विच भिडन्त हुदैछ भने ५२ केजी तौल समुहमा सुदुर पश्चिमाञ्चलकी निशा विक र मध्यामाञ्चलकी अञ्जली श्रेष्ठ भिड्दै छन् ।
४६ केजी तौल समुहमा सुदुर पश्चिमाञ्चकी रिता ठकुल्ला र नेपाल प्रहरीकी जुनी राई भिड्दै छन् भने ६० कजे तौल समुहमा सुदुर पश्चिमाञ्चलकी मनिष रावत र नेपाली सेनाकी लुमन्ती श्रेष्ठ बिच प्रतिष्पर्धा हुदा ६५ केजी तौल समुहमा नेपाली सेनाकी अरुण राई र पुर्वाञ्चलकी प्रिजिण्टा तामाङ आमने समाने हुदैछन् भने ७० केजी तौल समहुममा पुर्वाञ्चलकी तनुजा दर्जी र नेपाली सेनाकी विन्दु पुन भिड्दै छन् ।
भलिबल
सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रँगशालामा सोमवार भएका महिला तथा पुरुष भलिवलका ४ , ४ ओटा खेल सम्पन्न भएका छन् ।
महिला भलिवल प्रतियोगीता अन्तर्गत पश्चिमाञ्चललाई र एपीएफले पराजीत गरेको छ । एपीएफले २५–१८, २५–२१ र २९–२७ को सेटमा पश्चिमाञ्चललाई पछि पारेको हो ।
त्यस्तै दोस्रो खेल तर्फ आर्मीले मध्य पश्चिमलाई पारजीत गरेको छ । आर्मीले २५–१२, २५–१६, १७ –२५ र २५–१४ को अन्तरमा मध्यपश्चिमाञ्चललाई पारजीत गरेको हो । त्यस्तै तेस्रो खेल अन्तगत मध्यमाञ्चलले नेपाल प्रहरीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा पराजीत गरेको हो ।
त्यस्तै महिला तर्फको आजको अन्तिम खेलमा पुर्वाञ्चलले सुदुर पश्चिमाञ्चललाई २५–२१, २५–२१ र २५–१३ को अन्तरमा पराजीत गरेको हो ।
त्यस्तै पुरुष तर्फको पहिलो भलिबल खेलमा प्रहरीविजयी बनेको छ । प्रहरीले पश्चिमाञ्चललाई २५–१७, २५–२१ र २५–२३ को अन्तरले पछि पारेको हो ।
त्यस्तै दोस्रो खेल अन्तर्गत मध्यमाञ्चलले सदुुरपश्चिमलाई २०–२५, २५–१९, २५–१८, १९ –२५ र २५–१२ को अन्तरले पराजीत गर्यो । त्यस्तै तेस्रो खेलमा आर्मीले शसस्त्रलाई २५–१५, २५–२३ र २७–२५ को अन्तरले पराजीत गर्यो । त्यस्तै पुरुष तर्फको अन्तिम खेलमा पुर्वाञ्चल विजयी भएको छ । पुर्वाञ्चलले २५–१८, २५–१६, २६–२८, २३–२५ र २५–२२ को अन्तरले पारजीत गरेको छ ।
आर्चरी
नेपाली सेनाको पुरुष तथा महिला तर्फको रिकर्भ ओपन ईन्डिभिजुअलमा नेपाली सेनाले स्वर्ण हात पारेको छ । पुरुष तर्फ सेनाका मुकेश तामाङ्गले स्वर्ण प्राप्त गरे । हिमालय आर्चरी क्लब ललितपुरका प्रेम प्रसाद पुनले रजत र कास्की जिल्ला आर्चरी संघका रोशन थापामगरले कास्य पाए ।
सोही स्पर्धाको महिला तर्फ सेनाकी ज्ञानु अवालेले स्वर्ण र कृष्णमाया स्याङ्गतानले रजत पाए । तेश्रो स्थानमा मकवानपुर आर्चरीकी सुनिता मोक्तानले कास्य पाईन् ।
पुरुषको रिकर्भ टिममा कास्की जिल्ला आर्चरी संघले स्वर्ण, हिमालयन आर्चरी क्लब ललितपुरले रजत र नेपाली सेनाको टिमले कास्य पायो ।
स्टान्डर्ड रिकर्भ ईन्डिभिजुअल तर्फ कास्कीका प्रेम थापाले स्वर्ण प्राप्त गर्दा आकाश थापा मगरले रजत पाए । तेश्रो स्थानमा स्वयंभु आर्चरीका कर्मा वाङ्गचुक गुरुङ्गले कास्यमा चित्त बुझाए ।
सोहि स्पर्धाको महिला तर्फ कास्कीकी रोजिना थापामगरले स्वर्ण हात पारिन् । सेनाकी पुजा थापाले रजत र कंचनपुर आर्चरीकी लक्ष्मी थापाले कास्य पाईन् ।
स्टान्डर्ड पुरुष टिम तर्फ स्वयंभु आर्चरी क्ल्ब काठमाण्डौ पहिलो, अन्नपूर्ण आर्चरी क्लब कास्की दोश्रो र कास्की जिल्ला आर्चरी संघ तेश्रो भए ।

















प्रतिक्रिया