घोराही, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं गायिका कोमल वलीले पाँच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर गएमा विद्यमान समस्या समाधान हुने बताएकी छन् ।
बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश संघीयतामा जाँदा पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनु नै उपयुक्त हुने निष्कर्ष निकालेकै भोलिपल्ट विहिबार गृह जिल्ला दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै गायिका वलीले हिमालदेखि पहाड र तराई जोड्नेगरी पाँच प्रदेश बनाउनुपर्ने बताएकी हुन् ।
वलीले राजाको पालामा भएका सबै काम गलत छन भन्ने चिन्तन नै गलत रहेको बताउँदै भनिन्– ‘पाँच विकास क्षेत्रमा मानिसहरु बानि परिसकेका थिए, सबै मिलेरै बसेको थिए, पाँच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर गएमा अहिलेको समस्या समाधान हुन्छ ।’
उनले हिमाल, पहाड र तराईका बीचमा भावनात्मक सम्बन्ध स्थापित हुन अत्यन्तै आवश्यक रहेको चर्चा गर्दै तराइलाई अलगै र पहाडलाई अलगै प्रदेश बनाउँदा भविष्यमा समस्या उत्पन्न हुनसक्ने दाबी गरिन । उनले त्यसरी निर्माण गरिएका प्रदेशहरु अबैज्ञानिक र अव्यवहारिक बन्ने जिकिर गरिन् ।
















प्रतिक्रिया