काठमाडौं । पछिल्लो समय नेपालबाट घरेलु परिकार निर्यातमा व्यवसायीहरू आकर्षित भएका छन् । व्यवसायी तथा सर्वसाधारण मह, छुर्पी, पुस्टकारी, खुर्सानी, मस्यौरा, तोरी, रायोको गुन्द्रुक, चिउरा जस्ता घरेलु परिकारको निर्यातमा आकर्षित भएका हुन् ।
नेपाली परिकारहरू खासगरी दक्षिण कोरिया, ताइवान, जापान, कतार, अमेरिका, जर्मनी र क्यानडामा निर्यात भइराखेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बिहीबार राजधानीमा आयोजित कृषिजन्य वस्तु आयात निर्यातमा एसपिएस प्रावधानसम्बन्धी कार्यक्रममा जानकारी दिइएको हो । ती पदार्थ निर्यातका लागि विभागको प्रयोगशालामा चालु आवको हालसम्म ८४ वटा नमुना परीक्षण गरिएको जनाइएको छ ।
खाद्य स्वच्छता तथा जनावर र बिरुवाको रक्षार्थ आवश्यक स्वच्छतासम्बन्धी ऐन, नियम, निर्देशिका र गुणस्तर मापदण्डको कार्यविधिजस्ता प्रक्रियालाई एसपिएस भन्ने गरिन्छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले विदेशमा मह, छुर्पी, पुष्टकारी, खुर्सानी, मस्यौरा, तोरी तथा रायोको गुन्द्रुक र चिउराको माग बढिरहेकाले यहाँ परीक्षण गराउन आउनेको सङ्ख्यामा वृद्धि भइराखेको जानकारी दिए ।
उहाँले तेल तथा पेय पदार्थ आयातका लागि चालु आवको हालसम्ममा छसयवटा अनुमति दिइएको जानकारी दिँदै यस्ता पदार्थ खासगरी बङ्गलादेश, क्यानडा, थाइल्यान्ड, भियतनाम, अरवका देशहरू, मलेसिया, सिङ्गापुर, इन्डोनेसियाका रहेको बताए ।
विभागका महानिर्देशक जीवनप्रभा लामाले आयातित पदार्थको खाद्य लेवलिङमा देखिएको समस्यालाई सम्बोधन गर्न खाद्य पदार्थ आयात निर्यात निरीक्षण एवम् गुणस्तरीय निर्देशिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।
कृषि विकास मन्त्रालयका सहसचिव विजयकुमार मल्लिकले कृषिजन्य वस्तु आयात निर्यातलाई व्यवस्थित बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, केन्द्रीय पशु क्वारेन्टाइन, राष्ट्रिय प्लान्ट क्वारेन्टाइनबीचमा समन्वयको आवश्यकता रहेको बताए ।
राष्ट्रिय प्लान्ट क्वारेन्टाइनका वरिष्ठ प्लान्ट क्वारेन्टाइन अधिकृत सबनम शिवाकोटीले बिरुवा आयात तथा निर्यातलाई कडाइका रूपमा कार्यान्वन गरिराखेको जानकारी दिँदै १८ वटा बिरुवाको शत्रुजीव सूची राजपत्रमा प्रकाशित गर्न लागिएको बताए ।
केन्द्रीय पशु क्वारेन्टाइनका वरिष्ठ पशु चिकित्सक डा माधव दाहालले क्वारेन्टाइन जाँच कार्यालयभित्र शङ्का लागेका पशु राख्ने ठाउँको अभावमा काम गर्न समस्या परिरहेको बताए । हाल देशका विभन्न २४ स्थानमा पशु क्वारेन्टाइन कार्यालय रहेका छन् ।
नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनमा आबद्ध भएपछि कृषिजन्य वस्तु आयात निर्यातमा एसपिएस प्रावधान लागू भएको थियो । यस प्रावधानभित्र उपभोक्ताको स्वास्थ्य रक्षा गर्ने, व्यापारमा अनावश्यक पाबन्दी नगर्नेजस्ता विषयहरू रहेका छन् ।













प्रतिक्रिया