४ मंसिर २०८३, शुक्रबार

मधेसी मोर्चाको औपचारिक निर्णयविपरित बोले राजेन्द्र महतो

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरूले मरेपनि नछोड्ने भन्दै अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर सहयोग गर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष महतोले भने, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, हामी कुनै हालतमापनि पछि हट्दैनौँ, पाण्डवले पाँच गाउँको लागि महाभारत गरे, अहिले पाएका उपलब्धिलाई संस्थागत गर्दै पछि हामी ५ जिल्लाको लागि महाभारत गर्छौं, अन्तिम लडाइँ लड्छौं ।’

यसअघि मधेसी मोर्चाले संधिवान संशोनको प्रस्तावलाई यथाअवस्थामा स्वीकार गर्न नसकिने र परिमार्जन हुनुपर्ने निर्णय गरेको थियो ।

महतोले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरिरहेकोप्रति टिप्पणी गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीजीले पहिला यही प्रस्तावमा हस्ताक्षर गर्दा राम्रो हुने अनि अहिले अरुले ल्याउँदा बेठिक कसरी हुन्छ ?’

उनले भने, ‘ओलीजीले आफूले हस्ताक्षर गर्दा राष्ट्रवादी हुने, अनि अहिले त्यही प्रस्ताव अघि सार्दा राष्ट्रघाती हुन्छ ?’ महतोले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहित सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई लिएर कांग्रेस र माओवादी केन्द्रकै केही नेताहरूले गरेको विरोधलाई नाटकको संज्ञा दिए ।

उनले भने, ‘यो नौटँकी हो, यसबारेमा हामीले शेरबहादुर देउवा र प्रचण्डलाई रोक्नुहोस् भनेर भनिसकेका छौं, नभए कारवाही गर्नुहोस् भनेका छौं, जवाफमा देउवा र प्रचण्ड दुवैले यो पार्टीको आधिकारिक प्रस्ताव हो भन्नुभएको थियो, उहाँहरूले रोक्छौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

महतोले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा जानबाट अवरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेले गम्भिर गल्ती गरिरहेको आरोप लगाउँदै भने, ‘संशोधन प्रस्तावलाई संसदमा छिर्नै नदिने कुरा संसदीय मूल्य र मान्यताको खिलाफमा हो ।’

महतोले जनतालाई अधिकार दिनको लागि ल्याइएको संविधान संशोधन प्रस्तावमा सहयोग नगरे एमालेका मधेसका नेता तथा कार्यकर्ताहरूले नै एमालेमुक्त मधेश बनाउने दाबी गरे । उनले एमालेले अहिले राष्ट्रघाती काम गरिरहेको समेत आरोप लगाए ।