
भैरहवा, २७ मंसिर । पाँच नम्बर प्रदेश टुक्राउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै चर्किएको पहिलो चरणको आन्दोलन स्थगित भएको केही दिनपछि पुनः एमाले रुपन्देहीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटीको निर्देशनमा रुपन्देही सदरमुकाम भैरहवामा बसेको रुपन्देही क्षेत्र नं २ को विस्तारित बैठकले आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेको छ ।
बैठकले संविधान सशोधन प्रस्तावको विरुद्धमा भैरहेको आन्दोलनको व्यापक समीक्षा गर्दै मंसिर २८ गते युवा विद्यार्थीको अगुवाईमा दिउँसो ११ बजेदेखि २ बजेसम्म भैरहवामा चक्काजाम गर्ने, २९ गते अनेमसंघको अगुवाईमा चक्काजाम, ३० गते साँझ ५ बजेदेखि सिट्ठी जुलुस गर्ने र पुस १, २ र ३ आम हड्ताल गर्ने गरी क्षेत्रले व्यापक तयारी थाल्ने निर्णय गरेको छ । बैठकले पार्टीद्वारा आयोजित आन्दोलनका कार्यक्रममा सक्रिय रुपमा सहभागिता जनाउन पार्टीका सम्पूर्ण जनवर्गीय संगठनका सदस्य, पार्टीको सम्पूर्ण कमिटीका सदस्य, पार्टीका संगठित सदस्य र साधारण सदस्य सबैलाई निर्देशन दिएको छ ।

एमाले जिल्ला कमिटी सदस्य हरिप्रसाद अधिकारीको अध्यक्षता, क्षेत्रीय कमिटी सचिव श्याम बस्यालको संचालन तथा एमाले ५ नं प्रदेश कमिटी सदस्य पुष्पाञ्जली उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा एमाले नेताहरु हितराज पन्थी, भरत कुमार पोखरेल, पम्फावती खनाल, प्रेम कुमार सेन्चुरी, उमा काफ्ले, लाल मोहम्मद पठान, इन्द्रजित यादव, इन्द्र प्रसाद गुरुङ्ग लगायतले बोल्दै वर्तमान परिवेशमा राष्ट्र र राष्ट्रियताको खातिर पार्टीले लिएको नीति र निर्देशन देशभक्त आमसमुदायको लागि सबैभन्दा राम्रो भएकोले सबै काम थाँती राखेर आन्दोलनमा होमिन पार्टी कार्यकर्तालाई निर्देशन दिए ।
नेताहरुले भारतीय निर्देशनमा प्रचण्ड सरकारले ५ नं प्रदेश टुक्राउन खोजेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन दबाब दिएको, अंगीकृतलाई संवैधानिक पद दिलाउँदै देशलाई टुक्रा टुक्रा पारेर अन्ततः प्रचण्डलाई लेण्डुप दोर्जे जस्तै बनाई नेपालको तराईलाई भारतमा गाभ्न दुष्प्रयास गरेकोले सबै नेपाली एकजुट भएर प्रचण्ड सरकार र भारतीय विस्तारवादका विरुद्ध अन्तिम पटक संघर्ष गर्नुपरेको बताए ।
उनीहरुले बन्द र हड्तालका कारण उद्योग, व्यवसायमा नोक्सान पुगेतापनि बाध्यताले राष्ट्रियताको खातिर आन्दोलन घोषणा गर्नुपरेको समेत जनाए । एमाले नेताहरुले उक्त आन्दोलन एमालेको मात्र नभई सम्पूर्ण नेपाल र नेपालीको भएको हुँदा सम्पूर्ण देशप्रेमीहरुको यसमा सहभागिता रहने विश्वास समेत व्यक्त गरे ।












प्रतिक्रिया