काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता रघुवीर महासेठले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गर्नुभएको छ ।
रिपोर्टर्स क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा एमाले नेता महासेठले भने, ‘भित्री रुपमा कांग्रेस र माओवादी केन्द्र स्वयमले पनि यो प्रस्ताव पास गर्न चाहेको छैन् ।’ उनले तत्काललाई संशोधन प्रस्तावलाई स्थगित गरेर दलहरूवीचको व्यापक सहमतिका माध्यमबाट संसदमा रहेका अन्य विषयहरू महाअभियोगको प्रस्ताव, निर्वाचनसम्बन्धीका ऐन तथा कानूनहरू पारित गर्ने लगायतमा केन्द्रित भएर अघि बढे संसद भोलिदेखि नै सुचारु हुने बताए ।
उनले संविधान कार्यान्वयन हुन नदिनको लागि षड्यन्त्र गरेर संविधान संशोधनरुपी प्रस्ताव ल्याईएको आरोप लगाए । एमाले नेता महासेठले भने, ‘यो संशोधन प्रस्ताव कुनै हालतमा जनताको हितमा छैन, प्रस्ताव ठीक छैन ।’
उनले अहिलेको संशोधन प्रस्ताव अनुसार नागिरकताको प्रावधान रहे मधेशका रैथानेहरु विस्थापित हुने समेत चिन्ता व्यक्त गरे । उनले भने, ‘जन्मसिद्ध नागरिकता लिनेका छोराछोरीहरुलाई नागरिकता लिनको लागि अहिलेपनि समस्या छ, त्यतातिर कसैको ध्यान नजाने, अनि अंगिकृतमा किन बढि मोह ?’
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गरिरहनु आवश्यक नभएको टिप्पणी गरे । उनले अघि भने, ‘हिजो एमालेका अध्यक्षले नै संसद अवरुद्ध गर्न जरुरी छैन भन्नुभएको थियो, आज उहाँहरुले किन गर्नुभैरहेको छ म सोध्न चाहन्छु ।’ उनले संसद र सडक अवरुद्ध गर्न अहिले जरुरी नभएको बताएका छन् ।
मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अहिलेको सांशेधन प्रस्ताव परिमार्जन सहित आयो भने यसलाई पारित गर्न आफूहरु तयार रहेको बताए । उनले जनतालाई अधिकार दिने कुरामा एमालेले विरोध गर्नु गलत भएको आरोप लगाए ।
उनले संशोधन प्रस्तावको विरोधमा एमालेले आन्दोलन गर्नु प्रतिगामी कदम भएको टिप्पणी गरे । उनले भने, ‘संशोधन प्रस्ताव दर्ता भए लगत्तै आन्दोलन गर्नु गलत हो, प्रस्ताव टेबल नै भएको छैन, अनि संसद अवरुद्ध गर्नु यो त लोकतान्त्रिक चरित्र र मूल्य र मान्यता विरोधी हो ।’











प्रतिक्रिया