काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सीमाकंनमा दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सरकारले संविधान संशोधनमार्फत पहाड र तराई अलग्याउनेगरी पाँच नम्बर टुक्राउने तयारी गरिरहेका बेला पण्डितले पहिलेकै ७ प्रदेशको सीमाकंनमा पहाडबाट अलग्याइएको दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्नुपर्ने बताएका हुन् ।
‘नेपालको राष्ट्रियता, सद्भाव, विकास र समृद्धिका लागि पहाड र तराई जोडिएका प्रदेश सबैभन्दा उपयुक्त हुन्छ,’ नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पण्डितले भने– ‘दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुरका सके पुरै नभए पनि केही भाग पहाडसँग जोड्नुपर्छ । यसले भौगलिक रुपमा राष्ट्रिय एकता बलियो बनाउँछ ।’
तराई–मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्नेहरु अतिवादी हुन् भन्दै उनले धान मात्र उब्जाएर कुनै प्रदेश समृद्ध नहुने टिप्पणी गरे ।
नेता पण्डितले सरकारले अहिले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव एमालेले कुनै हालतमा नमान्ने बताए । यो प्रस्ताव संविधान असफल पार्ने षडयन्त्रका साथ आएको भन्दै उनले एमालेले यसलाई असफल पारेरै छाड्ने बताए ।












प्रतिक्रिया