काठमाडौं, २४ मंसिर । चौथो नेपाल एपीएफ उच्च माध्यमिक विद्यालय प्राथमिक तह आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि एम्ब्रोसिया आईडिय सेकेण्डरी स्कुल सतुङ्गलले जितेको छ ।
नेपाल एपीएफ उच्च माध्यमिक विद्यालय कीर्तिपुरको आयोजनामा संचालित प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा ब्राईट होराइजन चिल्ड्रेन्स होम स्कूल मातातिर्थलाई ट्राईबेकरमा ४–२ ले हराउँदै एम्ब्रोसियाले उपाधि उचालेको हो ।

प्रतियोगिताको समापन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनालले विजयी टिमलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यसअवसरमा यस किसिमको प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुर्याउने उल्लेख गर्नुहुँदै विद्यालयस्तरीय खेलकुदले विद्यालय तथा विद्यार्थीहरुको वीचमा आपसी समन्वय तथा सामूहिक भावनाको विकास गर्ने बताउनुभयो ।

सो प्रतियोगितामा फेयर प्लेको उपाधि सिद्धार्थ बनस्थली स्कूल बालाजुले हात पारेको छ । उक्त प्रतियोगितामा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरका दिवश विष्ट सर्वाधिक गोलकर्ता तथा ब्राईट होराइजन चिल्ड्रेन्स होम स्कूलका रिजन पधेरा उत्कृष्ट खेलाडी र मनिष मल्ल उत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।
लिग कम नकआउटको आधारमा मंसिर १२ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका कूल १४ टिमको सहभागिता रहेको डीएसपी अजय छतकुलीले जानकारी दिए ।
















प्रतिक्रिया