४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री दाहालले धनगढी पुगेर खोले मनभित्रको ‘भक्कानो’, एमालेको सम्झना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-maoधनगढी, २३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने बताउनु भएको छ ।

संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बनाएको बताउँदै उहाँले अहिले विरोधमा रहेको नेकपा एमाले लगायतका सबै दल पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

बिहीबार सात नम्बर प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणापछि देश अनिर्णयको बन्दीबाट मुक्त हुने बताउनु भयो । ‘म काठमाडौं फर्किएको केही दिनभित्र निर्वाचन कार्यक्रम र मिति घोषणा हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि देश निर्वाचनको दिशामा अघि जान्छ । सिंगो राष्ट नयाँ गतिमा अघि बढ्छ । माओवादी पार्टी र सरकार दुवैले देशलाई नयाँ गति दिनेछ ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन प्रस्तावको रणनीतिक महत्व छ । यो एक प्रकारको राजनीतिक एक्सन हो । हिमाल, पहाड तराईलाई एकताबद्ध गरेर राष्ट्रिय एकता कायम गर्ने एक्सन,’ उहाँले भन्नुभयो, ‘यो एक्सनबाट आउने रियक्सनले मुलुकलाई नयाँ दिशामा लैजान्छ । तिनै पार्टी मिलेर निर्वाचनमा आउनुपर्छ । नआई सुख्खै छैन ।’

दुई नम्बर प्रदेशसहित रोल्पाको थवाङ, बझाङको काँडा, नुवाकोट र झापाको केही गाविसबाट विशेष प्रस्ताव आएकाले पुनर्संरचनाको आयोगको प्रतिवेदन आउन ढिला भएको जानकारी दिँदै विवाद समाधान नहुने स्थितिमा स्थानीय निकायको पुरानै संरचनाअनुसार पनि चुनाव हुनसक्ने बताउनु भयो ।

‘गाविसलाई गाउँपालिका भनेर नामाकरण गरौं भन्ने धेरै पार्टीको मत देखिएको छ । म भने अझै केही दिन आयोगको प्रतिवेदन अनुसार नै गर्नुपर्छ भन्ने जोडमा छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यदि त्यसो हुनै नसक्ने परिस्थिति भए हामी त्यसलाई पनि मान्न तयार छौं । तर के कुरा सत्य हो भने अब गाविसको चुनाव भने हुनेछैन ।’

को राष्ट्रघाती, को राष्ट्रवादी ?

प्रधानमन्त्री दाहालले अहिले संविधान संशोधन प्रस्तावको विषयलाई लिएर नेकपा एमालेले सरकारले राष्ट्रघात गरेको भनेर आरोप लगाउने गरेकोमा आपत्ति जनाउनु भयो । आफूले कांग्रेस–एमालेले ल्याएको विगतको प्रस्ताव अनुुसार नै पहाड र तराईलाई छुट्याएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

‘पाँच नम्बर प्रदेशमा पहाडी जिल्ला पहाडमै राख्ने र तराईको जिल्ला तराईमै राख्ने प्रस्ताव कांग्रेस एमालेकै थियो । ६–७ पानाको त्यस प्रस्तावमा केपी ओलीजीले हस्ताक्षर गर्नुभएको छ । सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’ ‘प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यही प्रस्तावलाई हल्का संशोधन गर्दा राष्ट्रघाती हुने तर उहाँहरु चाहीँ राष्ट्रवादी हुने ? बडो बिचित्रको स्थिति देखिरहेको छु मैले ।’