काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले आफ्नै दलको प्रस्तावमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव नेपालस्थित भारतीय राजदूतावासबाट आएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भण्डारीले लैनचौरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए ।
‘इलाम कहाँ रहने भन्ने कुराको फैसला त्यहाँका जनताले गर्ने हो नि, अरुले गर्ने ?,’ उनले प्रश्न गरे, ‘लैनचौर (भारतीय दूतावास)ले गर्ने हो र ?’
नेता भण्डारीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र मैले ल्याएको भन्ने पार्टीहरु अहिले कार्यान्वयन गर्ने कुरामा अभिभावकको भूमिकाबाट भागिरहेको आरोप लगाए । उनले सीमांकनको विवाद समाधान गर्ने नाममा अहिले आएको संशोधन प्रस्ताव जनताको हितमा नभएको भन्दै यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरे ।
नेता भण्डारीले भने- ‘विवाद नै नभएको प्रदेशमा किन विभाजन ल्याउन खोजिँदैछ ? तराई र पहाडका जनता मिलेर बस्छु भनिरहेका छन्, त्यहाँको जनताको अभिमत लिनुपर्दैन ? कसलाई सोधेर यस्तो काम गर्नुभयो ?’ उनले यतिवेला पार्टीभन्दापनि देश र जनता ठूलो भएको भन्दै आफू ५ नम्बर प्रदेश विभाजन गर्ने संशोधन प्रस्तावको विरुद्धमा निरन्तर संघर्ष गरिरहने बताए ।
यसअघि नेता भण्डारीले संशोधन प्रस्ताव पारित भए पार्टी र सांसद पद त्याग्ने घोषणा गरेका थिए । उनले जनताभन्दा ठूलो पार्टी नहुने बताउँदै आएका छन् ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया