काठमाडौं, २२ मंसिर । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा व्यवस्थापिका संसदको बैठक फेरि अवरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेसहित माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाले बुधबारको बैठकमा संविधान संशोधनको कुरा उठाउँदै सरकारले प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नसक्ने भन्दै अवरोध गरे ।
बैठक सुरु हुनुअगावै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याइएको र यस्तो राष्ट्रघाती प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने बताए ।
केसीले आफ्नो भनाइ राखिसकेपछि विपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध गरे । त्यसपछि सभामुख घर्तीले संसद बैठक मंसिर २४ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिन् ।
संविधान संशोधनको विरोधमा यसअघि तीन पटक संसद अवरुद्ध भइसकेको छ ।
चित्रबहादुर केसीले के के भने ?
जनमोर्चा अध्यक्ष केसीले नेपालको तराई क्षेत्रलाई नेपालबाट अलग्याएर सिक्किम बनाउने षड्यन्त्र भइरहेको दाबी गरे । काकरभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग पहाडबाट अलग गरेर कालान्तरमा सिक्किम बनाउने षडयन्त्र भइरहेको उनको चिन्ता छ ।
‘संघीयताका नाममा पहिल २ नम्बर प्रदेशबाट पहाड अलग गरियो,’ अध्यक्ष केसीले भने, ‘अहिले ५ नम्बर प्रदेशलाई पहाडबाट अलग बनाइदैछ । कालान्तरमा काकरभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग पहाडबाट अलग गर्ने र सिक्किम बनाउने षडयन्त्र भइरहेको छ ।’ छिमेकीले खेलेको खेल संघीयताको नाममा संवैधानिक तरिकाले नेपाल कब्जा गर्ने षडयन्त्र भएको उनले दाबी गरे ।
ग्रान्डडिजाईन अन्तर्गत सरकारले संविधान संशोधनको विधेयक ल्याइएको र यो ‘राष्ट्रघाती’ भएको आरोप लगाउँदै भने- ‘संविधान संशोधन गर्नु अगाडि ड्राफ्ट लैनचौर जानु पर्ने, लैनचौरबाट सिफारिस भएपछि अगाडि बढनु पर्ने ?’
भिडियोः
https://www.youtube.com/watch?v=Um16FzyXsAw













प्रतिक्रिया