– नरेश केसी
भैरहवा, २१ मंसिर । सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेपछि एक हप्तादेखि आन्दोलनरत प्रदेशवासीले आज रुपन्देहीको भैरहवामा विहाल जनप्रदर्शन गर्ने भएका छन् ।
आन्दोलनरत नेकपा एमाले र एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियु, युवा संघ नेपाल, अनेम संघ लगायतका भातृ संगठन, राजमो, नेमकिपा, नेकपा माले, नेविसंघ र सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा प्रदेशवासी भैरहवाको प्रदर्शनमा सहभागी हुन लागेका हुन् ।
यो पनि पढ्नुस्ः सरकारविरुद्ध भैरहवामा हजारौं जनता सडकमा (फोटो फिचर)
सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा हुने प्रदर्शनको तयारीलाई सबै संघसंस्था र आम नागरिकले साथ दिने एमाले जिल्ला सदस्य इन्द्रजीत यादवले बताए । उनले भने– ‘बुलवलको जनसभाकै हाराहारीमा भैरहवामा आज प्रदर्शन हुन्छ । सरकारले प्रदेश टुक्राउने प्रस्ताव अविलम्ब फिर्ता लिनुपर्छ ।’
विशाल जनप्रदर्शनका लागि एमाले युवा नेता धुब्र अधिकारी, पुस्पान्जली उपाध्याय, हरि अधिकारी, राजेन्द्र प्रसाद पन्थि, घनेन्द्र विक्रम पाण्डे, हितराज पन्थि, जिवलाल अर्याल, भरत कुमार पोखरेल, थानेश्वर पौडेल, उमा काफ्ले, सुर्वणा कुवंर, अरुण पन्थि, चक्र बहादुर थापा लगायतका नेताहरु विहानै देखी भैरहवाको बुद्धचोंकमा खटिएका छन् ।
आन्दोलनकारीहरुले अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दुधका गाडी, फलफुल तरकारीका गाडी, शब बाहन लगायतलाई भने छुट दिएका छन् ।
आन्दोलनविरुद्ध मधेसी मोर्चा पनि सडकमा
यता, भैरहवादेखी ८ किलोमिटर पूर्व धकधईमा संविधान संशोधनको पक्षमा आजै मधेसी मोर्चाले आमसभा आयोजना गरेको छ । सो सभालाई नयां शक्ति नेपालका मातृका यादव तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठी लगायतले सम्बोधन गर्ने भएका छन् ।
यसअघि आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी मधेसी मोर्चाले पाँच नम्बर प्रदेशको आन्दोलन नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको थियो । सोही अनुरुप मोर्चा आमसभामार्फत प्रतिकारमा उत्रिएको छ ।
सुरक्षा चुनौति बढ्यो, भीडन्तको खतरा
एकातिर संविधान संशोधको पक्षमा आमसभा र अर्कोतर्फ विपक्षमा प्रदर्शन हुँदा भैरहवामा सुरक्षा संवेदनशिलता बढेर गएको छ । दुई पक्षबीच भीडन्त समेत हुनसक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता बढाएको छ । विहानैदेखी भैरहवा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।














प्रतिक्रिया