काठमाडौं, १७ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतमा १२ बुँदे सहमति गर्नु गम्भीर गल्ती भएको बताउनु भएको छ ।
माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडले प्रकाशनमा ल्याएको नेपाल भारत सम्बन्धः विगत, बर्तमान र भविश्य तथा पूर्वीय भौतिकबाद नामक पुस्तकहरु सार्वजनिक गर्दे भट्टराईले त्यसबेला बाह्र बुँदे सहमतिको खाका रोल्पामा तयार गरिएको बताउनुभयो ।
हाम्रो योजना मुताविक राजालाई पाल्पा लैजान सकेको भए भारतीय प्रभाव यस तरहको कहिलै हुने थिएन, जुन आज पनि हामी सबैले भोग्नुपरेको छ । – विपी कोइराला
उहाँले भन्नुभयो– ‘नेकपा एमालेका नेता बामदेव गौतम सहितको टोली र युद्धरत तत्कालिन माओवादीबीच २०६० साल बैशाखको ७ गते रोल्पामा उक्त सम्झौताको ड्राफ्ट तयार भएको थियो । सम्झौतमा हस्ताक्षर गर्न त्यतिबेलाका संसदवादी दलहरुलाई हामीले रोल्पामा बोलाएका थियौ तर तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले रोल्पा आउन नसक्ने भनेपछि सम्झौता दिल्लीमा भयो । त्यो सम्झौता ऐतिहासिक भएपनि त्यसलाई नेपाली जनताले स्वामित्वमा लिन नसक्नुको मुख्य कारण दिल्लीमा हुनुनै भयो ।’
उक्त पुस्तकको पृष्ठ ८ नेपाल भारत सम्वन्धका बारेमा विश्वेश्वर प्रसाद कोइरालाले लेख्नु भएको ‘हामी राणा विरोधी लगाई लड्दै थियौ । लडाई जित्दै थियौ । यता श्री ५ भगाईए वा भागे । आखिर जे नहुनु थियो त्यहि भयो । राजा दिल्ली गए । हामीले राजालाई पाल्पा लैजाने सोच गरेका थियौ । दिल्ली गएपछि राजा र हामीमाथी अरुनै हाभी भए । हामीले भने अनुसार किन हुन्थ्यो ? हाम्रो योजना मुतावीक राजालाई पाल्पा लैजान सकेको भए भारतीय प्रभाव यस तरहको कहिलै हुने थिएन , जुन आज पनि हामी सवैले भोग्नुपरेको छ’ भन्ने लेखलाई उद्धृत गर्दे भट्टराईले भन्नुभयो– ‘विश्वेश्वरप्रसाद कोईरालाको पालामा भएको गल्ती पुनः हुन गयो । पाठ गल्तीबाट सिक्ने हो भन्दै भट्टराईले अगाडि भन्नुभयो– ‘नेपाल भारत सम्बन्धलाई राष्ट्रिय सहमतिका साथ नयाँ ढंगले पुनःभाषित गर्नुपर्छ । उहाँको भनाई थियो भारतसंगको सम्बन्धलाई ठिक ढंगले परिभाषित नगरी हाम्रो सार्वभौमिकता, स्वतन्त्रताको परिभाषा गर्न सकिदैन ।’
नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएपनि आर्थिक रुपमा परनिर्भर रहेको तर्क गर्दे उक्त पुस्तकमा प्रकाशित आफ्नै लेखलाई उद्धृत गर्दे भट्टराईले भन्नुभयो– ‘राष्ट्रिय स्वाधिनता जोगाउन परनिर्भरता घटाउनुको विकल्प छैन् ।’
आजै प्रकाशित नेपाल भारत सम्वन्धः बिगत, बर्तमान र भविश्य पुस्तकको पृष्ठ ३७ मा कीर्तिनिधि विष्ट लेख्नुहुन्छ, मधेशी मोर्चाका नाममा भारतिय स्वार्थ अनुकुल काम गर्न चाहनेहरुले समग्र तराईलाई सके एक प्रदेश नसके दुई प्रदेश बनाउन माग राखेका छन् । तथाकथित मधेसी मोर्चाको यहि मागमा नेपाललाई घुँडा टेकाउननै संविधान जारी हुने वित्तिकै भारतका तर्फबाट अघोषीत तर घोषीतभन्दा कडा नाकाबन्दी लागइएको हो । नयाँ पुस्ताका मानिसहरु वा हिजोआज सरकारमा वस्नेहरुलाई लाग्दो हो कडा राष्ट्रिय अडान लिँदा भारतले घाँटीनै अँठ्याएर मार्छ कि । त्यसो होइन, कुनै राष्ट्र बाँच्ने भनेकै उसको अडानका कारणले हो । सहि अडान भयो भने केही समय दुःख हुन सक्छ, तर राष्ट्र जोगिन्छ ।
तीन पटक नेपालको प्रधानमन्त्री तथा बहुदलीय व्यवस्थामा राजाको प्रत्यक्ष शासनका वेला एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भईसकेका कीर्तिनिधि विष्टकोे भनाईलाई उदृत गर्दे पुस्तकका समिक्षक नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो– ‘राष्ट्रवादी अडानकै कारण क्युवाका फिडेल क्यास्ट्रो विश्व रंगमंचमा छाउन सफल भए ।’ सचिव भट्टराईले सिक्किम, भुटान, क्रिमिया र सिरियाको उदाहरण दिदै भन्नुभयो– ‘साना या ठुला कुनैपनि राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रता सानो ठूलो हुँदैन ।’ उहाँले थप्नुभयो– ‘भारतीय सत्तापक्षसंग नेपालसंगको सम्बन्धमा अन्तरविरोध छ । उहाँले दिल्लीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह समेत गर्नुभयो ।
लोकार्पण समारोहमा नेकपा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले नेपाल भारत सम्वन्ध हामीले सोचे अनुरुप अघि बढ्न नसकेको बताउनुभयो । नेता पोखरेलले भारतसंगको सम्वन्धका बारेमा नेपाल एक्लैले लड्ने भन्दापनि अन्य छिमेकी मुलुकसंग सहकार्य गरी पुनःपरिभाषित गर्ने बेला आएको बताउनुभयो । उहाँले भारतका राष्ट्रपति प्रणव मुखर्जीले हालै नेपाल भ्रमणका वेला बताउनु भएको नेपाल भारत सम्वन्ध अन्य मुलुकसंग तुलना हुनै सक्दैन भन्ने भनाईप्रति टिप्पणी गर्दै भन्नुभयो– ‘कतै नेपाली जनताले यो सम्वन्धलाई पीडाको रुपमा अनुभुत गरेका त छैनन् भन्ने तर्फ विचार गर्नुपर्छ ।’
पूर्वमन्त्री लालबाबु पण्डितले राष्ट्रभन्दा पनि निजी स्वार्थ प्रमुख ठान्ने र सत्तामा टिकिरहन खोज्ने नेताहरुकै कारण समस्या उत्पन्न भएको बताउनुभयो ।
आज सार्वजनिक गरिएको नेपाल भारत सम्वन्धः विगत, वर्तमान र भविश्य नामक पुस्तकका समावेश गरीएको छ । नेपाल भारत सम्वन्धका बिषयमा देशका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भुतपुर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, डा. बाबुराम भट्राई, लोकेन्द्र वहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनालको समेत लेख उक्त पुस्तकमा समावेश गरिएको छ ।
पाँच खण्डमा विभाजीत उक्त पुस्तकको पहिलो खण्डमा पहिलो पुस्ताका नेताहरु विश्शेश्वर प्रसाद कोइराला, पुष्पलालका साथै मोहनविक्रम सिंह र मोदनाथ प्रश्रीतका लेखहरु संग्रहीत छन् । त्यस्तै दोश्रो खण्डमा हाल सत्ता संचालनमा संलग्न नेताहरु हालका प्रधानमन्त्री प्रचण्डदेखि भुतपुर्व प्रधानमन्त्रीहरु र नेकपा एमालेका नेता बामदेव गौतम र कृष्णप्रसाद सिटौलाका लेखहरु संग्रह गरिएको छ । पुस्तकको तेश्रो खण्डमा युवा राजनीतिज्ञका नजरमा नेपाल भारत सम्वन्धलाई उल्लेख गरिएको छ भने चौथो खण्डमा नेपालमा विज्ञ भारतिय पत्रकार आनन्दस्वरुप बर्माको लेख समावेश गरिएको छ । पुस्तकको पाँचौ तथा अन्तिम खण्डमा विभिन्न क्षेत्रका विज्ञहरुको लेख संग्रह गरिएको छ ।
माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडले बजारमा ल्याएको उक्त पुस्तकको सम्पादन उक्त संस्थाका अध्यक्ष डा. विजयकुमार पौडेलले गर्नु भएको हो । आजै सार्वजनिक गरिएको उक्त पुस्तक नेपाल भारत सम्वन्धमा अध्ययन र जानकारी लिन चाहनेहरुका लागि नीति पुस्तक हुने अध्यक्ष पौडेलले बताउनु भयो ।
पुस्तकमा भारतीय पत्रकार आनन्दस्वरुप बर्माले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेको शव्द सापटी लिदै लेखेका छन्, बहादुरी नेपालीको जीनमै छ । बर्मा भन्छन्, हो बहादुरी नेपाली जनताको नसा नसामा छ । नेपालको सरकार र यहाँका नेताहरुको आफ्नो अडान कायम राख्दा भारतीय सत्ता पक्ष आफै पछाडि हट्न बाध्य हुन्छ ।
पुस्तकमा जलश्रोत विद् एवं नेपाल भारत प्रवुद्ध समुहका सदस्य सुर्यनाथ उपाध्ययले नेपाल भारत जलश्रोतका सम्वन्धमा चिरफार गरेका छन् भने बैजथान चौधरीले मधेश आन्दोलनः भ्रम र यर्थात भन्दै कस्को स्वार्थमा आन्दोलन भन्ने प्रश्न खडा गरेका छन् । भारतमै विद्यावारीधि गरेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईले आर्थिक परनिर्भरता गराई राख्ने भारतको नियतीनै नेपाल भारत सम्वन्धको मुख्य समस्या भएको उल्लेख गरेका छन् । प्राध्यापक डा. सुरेन्द्र केसी, डा. रमेश पौडेल, डा. गोविन्दबहादुर थापा, बुद्धिनारायण श्रेष्ठ, डा. युवराज संग्रौला, डा. विजयकुमार पौडेल, धु्रवकुमार गौतम, हिरण्यलाल श्रेष्ठ टिकाराम भट्टराईको लेख पुस्तकमा समावेश गरिएको छ ।
सोही समारोहमा लोकार्पण गरिएको विद्वान लेखक गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘पूर्वीय भौतिकवाद’ ले पूर्वीय धर्मशास्त्र र चिन्तन परंपरामा रहेका भौतिकवादी तथा विज्ञानसम्मत पक्षहरुलाई गहनरुपमा उजागर गरेको छ । हिमाली उपमहाद्विपमा प्रचलित धर्मशास्त्रहरु कर्मकाण्ड र विविध जडपरंपराका बाहक मात्रै होइनन्, तिनीहरुभित्र आफ्नो समयका वैज्ञानिक चिन्तन पनि समेटिएका छन् भन्ने तथ्यलाई विद्वान लेखकले आधिकारिक रुपमा प्रस्तुत गर्नुभएको छ ।
उक्त पुस्तकका बारेमा टिप्पणी गर्दे सहीत्यकार मोदनाथ प्रश्रीतले भन्नुभयो, यस ग्रन्थले हिमाल–पहाड–तराईका समस्त नेपालीहरुलाई पूर्वीय धर्मग्रन्थहरुबारे वैज्ञानिक अध्ययन गर्न तथा आफ्ना सानदार परंपराबारे गौरवबोध गर्न प्रेरित गर्ने छ भन्ने हाम्रो विश्वास छ । यस पुस्तकले युवा पुस्तालाई सही मार्गदर्शन गर्ने छ प्रश्रीतले भन्नु भयो ।
नेपाल भारत सम्वन्धः विगत, वर्तमान र भविश्य नामक पुस्तकको लोकार्पण लेखकहरु स्वयंले गर्नु भएको थियो भने पूर्वीय भौतिकवादको लोकार्पण कार्यक्रमका प्रमुख डा. बाबुराम भट्टराईले गर्नु भएको थियो । पुस्तकमा भारतले नेपालमाथी गरेको नाकावन्दी, सन् १९५० को सन्धी, भारतले नेपाललाई परनिर्भर बनाउन गरेका कार्यहरुको बारेमा विस्तृतमा उल्लेख गरिएको छ ।
नेपाल भारत सम्वन्धमा समस्याको बारेमा विस्तृतमा चर्चा गरिएको सोहि पुस्तकमा सम्पादक डा. विजयकुमार पौडेलले सुगौलि सन्धीबाट नेपालको गुमेको भुमिदेखि सन् १९५० को असमान सन्धी, नेपाल भारतविचमा विभिन्न समयमा भएका अन्य सन्धी सम्झौताले अविश्वास श्रृजना गरेको चर्चा गर्नु भएको छ । सोही लेखमा नेपाल भारत सम्वन्धलाई समस्या रहीत बनाउन गर्नु पर्ने ८ वटा विषय समेत उल्लेख गरिएको छ ।
पुस्तकका सम्पादक समेत रहेका पौडेलले उल्लेख गरेका ८ वुँदामा, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप, सन् १९५० को सन्धि, नेपाल भारतविच हालसम्म भएका जलश्रोत सम्वन्धी सन्धि सम्झौता, सुस्ता, महेशपुर, मानेभन्ज्यांग लगाएतका नेपालका विभिन्न भुभागमा भएको भारतिय अतिक्रमण, भारतिय बाँधका कारण नेपालका विभिन्न भागमा हुने गरेको डुवान, खुला सिमा नियन्त्रण, नेपालले विनाशर्त पाउनु पर्ने पारवहान सुविधा र भारतसंग भएको अनियन्त्रीत व्यापार घाटा र कृषि उत्पादन भारत निर्यातमा लगार्यने गरेको अघोषित नियन्त्रण जस्ता समस्या समाधान हुनु पर्ने उल्लेख गर्नु भएको छ ।
आज प्रकाशित यी पुस्तकहरु माईलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडको शो रुम बागबजार तथा अन्य पुस्तक पसलबाट प्राप्त गर्न सकिने छ । नेपाल भारत सम्वन्धः विगत, वर्तमान र भविश्य नामक पुस्तक ३८६ पृष्ठको रहेको र पुस्तकको मुल्य ५२५ रुपैया तोकिएको छ भने पूर्वीय भौतिकवाद नामक पुस्तक ४२० पृष्ठको रहेको र उक्त पुस्तकको मुल्य ५५५ रुपैया तोकिएको छ ।















प्रतिक्रिया