काठमाडौं, १५ मंसिर । प्रधानमन्त्रीले बोलाएको प्रमुख चार दलको बैठकमा चर्काचर्की परेको छ ।
बुधबार अपराह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावका विषयमा चर्काचर्की परेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले निर्वाचनको प्रस्ताव गर्न बैठक बोलाएका थिए । बैठकमा प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा जाऔं भनेपछि एमाले नेताहरुले संविधान संशोधनको कुरा उठाए ।
एमाले नेताहरुले ‘तपाईहरुको प्रस्तावमै खोट छ । यदि निर्वाचन गर्ने थियौं भने संविधान संशोधन प्रस्ताव ल्याउने नै थियनौं । संविधान संशोधनको प्रस्ताव ल्याउने बीचमा बखेडा झिक्ने अनि निर्वाचन गरौं भन्ने ?’ भन्दै प्रश्न तेर्स्याएका थिए ।
एमाले नेताहरुले ‘सरकारको निर्वाचन गर्न मनसाय भएको भए स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन समयमा आउथ्यो । कानून निर्माण भइसक्थे । हामीले कसरी विश्वास कसरी गर्ने ? चुनाव हुने अवस्था देखिन्न् । तर, एमाले चुनावबाट भाग्दैन् । सरकारको भित्री चाहना हुनुपर्यो’ भनेपछि प्रचण्डले ‘नरिसाउनुस् चुनाव गराउन हामी इमान्दार छौं । तपाईहरु सहमतिमा आउनुस्’ भनेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले चैतमा अथवा वैशाखमा निर्वाचन गरौ भनिसकेपछि एमाले नेताहरुले प्रचण्डको सातो खाएका थिए । बैठकमा संविधान संशोधन प्रस्तावबारे भने खासै छलफल भएन् ।
बैठकमा वामदेव गौतमको नेतृत्वमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, भीम रावल लगायतका नेताहरु सहभागी थिए ।
















प्रतिक्रिया