काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका अधिकांश नेताले संविधान संशोधन प्रस्तावको विरोध गरेका छन् ।
सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सरकारले प्रारम्भिक रुपमा तयार पारेको संविधान संशोधन प्रस्तावमा चर्काचर्की नै परेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र सभापति शेरबहादुर देउवामाथि नेताहरुले विवाद नै नभएको पाँच नम्बर प्रदेश किन टुक्राउन खोजेको ? अंगीकृतलाई उच्च पद किन खोजेको ? कांग्रेसले राष्ट्रिय हित भुलेको हो ? भनेर प्रश्न गरेका थिए ।
खासगरी पाँच नम्बर प्रदेशसँग जोडिएका नेताहरुले पाँच नम्बर प्रदेश टुक्राए ठूलो आन्दोलन हुने र त्यसबेला पार्टी भनेर आफूहरु चुप बस्न नसक्ने चेतावनी दिएका थिए ।
बैठकमा गृहमन्त्री निधिले संशोधन प्रस्तावबारे जानकारी गराउँदा पाँच नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरु आक्रोशित नै भएका थिए ।
कांग्रेस नेता रामशरण महतले बैठकमा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने विषयमा चर्काे विरोध भएको जानकारी दिए । ‘सरकारी पक्षको संशोधन प्रस्तावमा चर्काे विरोध सुनियो । अधिकांश सदस्यहरुले विमति देखाए,’ बैठकपछि महतले सञ्चारकर्मीसँग भने– ‘अहिले जस्तो प्रस्ताव आएको त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं ।’
उनका अनुसार बैठकमा संविधान संशोधनमा सरकारले तयार पारेको अहिलेको प्रस्तावको जोडदार विरोध भएको थियो ।
यसैगरी नेता देवेन्द्रराज कँडेलले पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव कुनै हालतमा नमान्ने कुरा आफूहरुले राखेको बताए । ‘प्रदेश टुक्राउने प्रस्ताव मान्दैनौं भन्यौं,’ उनले भने– ‘सभापति ज्यूले विचार गर्छाै, सहमति गरेर अगाडि बढ्ने आश्वासन दिए ।’
बैठक प्रदशेको सीमांकनसँगै विवाहित महिलाको सन्दर्भमा पूरानो नागरिक त्यागेपछि पाउने, भाषा विवादमा आयोग बनाउने, विवादित जिल्लाका विषयमा अधिकारसम्पन्न आयोग बनाएर जाने विषयमा केन्द्रीत थियो ।
















प्रतिक्रिया