काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अहिले प्रदेशको सीमांकनबारे संविधान संशोधन हुनै नसक्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले अहिले प्रदेशको सीमांकनबारे संशोधन गरिए त्यो संविधान विपरित हुने समेत जिकिर गरे । ‘संविधानविरुद्ध जान यदि सरकार रोकिएन भने हामी अदालत जान्छौं ।’ उनले प्रदेशको सीमांकन संशोधन गर्ने हो भने पहिला प्रदेशको निर्वाचन गर्नुपर्ने जिकिर गरे ।
अधिकारीले आफ्नो पार्टीलाई संविधान संशोधनको विरोधी हो भनेर जबरजस्ती प्रचार गरिएकोमा असन्तुष्टि पोख्दै भने, ‘एमाले संविधान संशोधनको विरोधी होईन, तर संशोधनको औचित्य पुष्टि हुनुपर्यो भन्ने हाम्रो कुरा हो, अहिले सरकारले संशोधन प्रस्ताव ल्याउने हल्ला चलिरहेको छ, एमालेले औचित्यको आधारमा समर्थन वा विरोध गर्छ ।’ यद्यपी उनले संविधान संशोधनको नाममा मुलुकलाई अल्झाउन नहुने जिकिर गरे ।
उनले संविधान विपरित संशोधन प्रस्ताव आए आफ्नो पार्टी अदालतमा जाने समेत चेतावनी दिए । अधिकारीले थपे, ‘हामी प्रतिवाद गर्छौं ।’ उनले हिजो संविधान ९० प्रतिशतले जारी गर्दा गाहृय नहुने आज एमालेलाई बाहिर राखेर संशोधन गर्दा कसरी गाहृय हुन्छ भन्दै प्रश्न समेत गरे ।
उनले परिवर्तनको एजेण्डाहरुलाई कार्यान्वयन गर्नको लागि पनि निर्वाचनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । अधिकारीले थपे, ‘मुलुकलाई जबरजस्त विखण्डनतर्फ डोर्याउने प्रवृत्ति हावी भएको छ, यसमा सजग हुनुपर्छ ।’












प्रतिक्रिया