काठमाडौं, ९ मंसिर । हिन्दू राष्ट्र र राजसंस्थाको नाराबाट दोस्रो संविधान सभामा २४ सिट ल्याएरका तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्नो उद्देश्यमा सफल भएका छन् । थापा यसकारण सफल भएकी कुनै बेला आफैले छाडेर गएको राप्रपासँग पार्टी एकीकरणको नाटक रचेर दुबै पार्टी कब्जा गर्न सफल भएका हुन् ।
विरोधीहरूलाई पनि पार्टी एकीकरणको नाममा आफ्नो बहसमा राखेका छन् । पार्टी फुटको संघारमा पुग्न थालेपछि कमल थापाले एकताको नाटक रचेको आरोप पनि छ ।
पूर्व राप्रपा नेपालका एक नेताका अनुसार कमल थापाले अब पार्टीभित्र ‘शेर’ भएर एकछत्र राज गर्ने छन् । निरंकुश प्रवृत्तिका कमल थापाको कार्यशैलीमा चित्त बुझाउन नसक्दा पद्मसुन्दर लावती जस्ता पार्टीप्रति इमान्दार नेता अपमानित हुनु परेको थियो । केशरबहादुर विष्ट त झन् कमल थापासँग बस्नै सकेनन् ।
पशुपति शम्शेर राणासँग असन्तुष्ट राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र महामन्त्री बुद्धिमान तामाङ, भुवन पाठकलाई कुटिल रुपमा प्रयोग गरेर कमल थापाले आफ्नो उद्देश्य पूरा गरेको स्रोतको दाबी छ । यो कुरा बुझेका राप्रपा र पूर्व राप्रपा नेपालका केही नेताहरू चुपचाप छन् । बोल्नेवित्तिकै कमल थापाको कारबाहीमा पर्ने डरले ती नेताहरू मौन रहेको स्रोतको भनाइ छ ।
‘कमल थापाले आफ्नो पार्टी राप्रपा नेपाललाई राप्रपामा बिलय गराए, चुनाव चिन्ह हलो नै माने । सबै कुरामा लचिलो भएको देखाए । झण्डा पनि स्वीकार गरे । हिन्दू राष्ट्रको कुरा राप्रपाले पहिलादेखि नै मानेको थियो’, पूर्व राप्रपा नेपालका एक नेताले भने, ‘कमल थापा कुन अवस्थामा तल परेका छन् र ? हरेक कुराले माथि छन् । आफू कार्यकारी अध्यक्ष बनेर ‘वरिष्ठ र मै हुँ’ भन्ने पशुपति शम्शेर राणा, लोकेन्द्रबहादुर चन्द, डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूमाथि राज गरेका छन् ।’ ‘राणालाई अधिकार नभएको नाम मात्रको अध्यक्ष बनाएर राप्रपा कब्जा गरेकै त हो नि’, ती नेताले भने ।
कमल थापाको यो राज त्यति बेला खुल्यो जब बुधबारको केन्द्रीय कार्यसमिति बैठक भाटभटेनीको अम्रपालीमा बस्यो । बैठकको अध्यक्षता राष्ट्रिय अध्यक्षले गर्नै पाएनन् । कुटिल र माहिर खेलाडी कमल थापाले बैठकको अध्यक्षता आफूले गरेर ‘पार्टी मैले कब्जा गरे’ भन्ने सन्देश सबैलाई दिए । निरिह बनेर पशुपति शम्शेर, लोकेन्द्रबहादुर र डा.प्रकाशचन्द्र लोहानीहरू बसिरहे ।
राप्रपा र राप्रपा नेपाल कुन उद्देश्यले एकीकरण भएका हुन् भित्री रहस्य बाहिर आएको छैन । तर कमल थापाको उद्देश्य भने पूरा भएको छ । उनलाई राजनीतिमा कसैले भेटाउन सक्दैन भन्छन् निजिकका नेताहरू ।
















प्रतिक्रिया