गोरखा बजार, २० भदौ । पर्व सुधार गर्नुपर्ने भन्दै गोरखाको छोप्राक गाविसका स्थानीय बासिन्दाले करिब एक महिना पहिल्यै दसैँको टीका लगाएका छन् ।
पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिप्रसाद मल्लको सुझावअनुसार छोप्राकका नेवार, ब्राह्मण समुदायका स्थानीय बासिन्दा र चार विद्यालयमा पर्वहरु अघि सरेको जानकारी दिन साङ्केतिक रुपमा दसैँ मनाइएको हो ।
सूर्य उत्तरायण र दक्षिणायण हुने समय पहिलेभन्दा परिवर्तन भएको तर्कसहित स्थानीयले दसैँको टीका लगाएका हुन् । प्रत्येक २१५० वर्षमा ऋतु करिब एक महिनाअघि सर्ने भएकाले दसैँ मनाउन थालेको मल्लले बताउनुभयो ।
छोप्राकका स्थानीयले विगत तीन वर्षदेखि भदौमा दसैँ मनाउँदै आएको जनाएका छन् । साथै छोप्राकको वडा नं ९ मा रहेको धर्मावति माध्यमिक विद्यालय, वडा नं ७ मा रहेको सर्वोदय निम्न माध्यमिक विद्यालय, वडा नं ६ मा रहेको मण्डली उच्च माध्यमिक विद्यालयलगायतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पनि विद्यालय प्राङ्गणमै दसैँको टीका लगाएको सर्वोदय प्राविका प्रधानाध्यापक कालिकाप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यही भदौ ११ गते विद्यालय र स्थानीय बासिन्दाले आ–आफना घर र विद्यालयमा जमरा राखेका थिए । “दसैँको टीका आगामी असोज १७ गते छ । तर, हामीले भदौ १९ र २० मा टीका लगायौं” उहाँले भन्नुभयो, “स्वेच्छिक ढङ्गले दसैँ मनाएका छौँ । कसैको दबाब, परिपञ्च र लहैलहैमा परेका होइनौँ ।” रासस
















प्रतिक्रिया