काठमाडौं, ७ मंसिर । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७३’ शुभारम्भ भएको छ ।
रक्षामन्त्री बालकृष्ण खाँड तथा रक्षा मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा जङ्गी अड्डामा प्रधान सेनापति, पि.एस.ओज रथीबृन्द तथा पृतनापतिहरु सम्मिलित नियमित रुपमा संचालन हुँदै आएको बैठक दुई दिनसम्म चल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त कार्यक्रममा रक्षामन्त्री खाँडले नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्याउँदै आएको योगदानको उच्च कदर गर्नुको साथै राष्ट्रिय विकास निर्माणमा पुर्याएको योगदानको समेत उच्च मुल्यांकन गरे ।
मन्तव्यकै क्रममा उनले विश्व शान्तिको लागि पुर्याएको योगदान अतुलनिय रहेको र यस कार्यको विश्व समुदायबाट समेत प्रशंसा हुँदै आएको बताए । रक्षामन्त्री खाँडले नेपाली सेनाको आधुनिकरण र सुदृढिकरणमा सरकार प्रतिवद्ध रहेको बताउँदै ‘पृतनापति समन्वयात्मक बैठक २०७३’ को सफलताको शुभकामना दिए ।

उक्त अवसरमा रक्षामन्त्रीले निर्माणाधिन जंगी अड्डा भवनको समेत निरीक्षण गरेका थिए ।












प्रतिक्रिया